महोत्तरी प्रदेश २ का ८ जिल्लाहरूमध्ये एक हो । यस जिल्लाले नेपालको कूल भूभागको ०.६८५ प्रतिशत क्षेत्रफल ओगटेको छ भने कूल जनसङ्ख्याको लगभग २.३९५ प्रतिशत ओगटेको छ ।
महोत्तरीको सदरमुकाम जलेश्वर हो । यस जिल्लामा बसोवास गर्नेहरूको मुख्य पेसा कृषि हो । महोत्तरी जिल्लाको पूर्वमा धनुषा, पश्चिममा सर्लाही र भारतको बिहार, उत्तरमा सिन्धुली र भारतको बिहार प्रदेशको सिमानाले छोएको छ ।



महोत्तरी जिल्लाको नाम महोदरी शक्तिबाट नामकरण गरिएको छ । सत्ययुगमा क्षतविक्षत भएको सतीको बायाँ पाखुरा यस स्थानमा खसेकाले महोदरी भनिएको थियो । पछि त्यही अपभ्रंस भएर महोत्तरी हुन पुगेको हो ।
सत्ययुगमा महोदरी क्षेत्रको पूर्वमा कामाख्या, पश्चिममा गण्डकी, उत्तरमा पर्वत शृङ्खला तथा दक्षिणमा गङ्गासम्म रहेको पाइन्छ । दुर्गा सप्तसतीमा उल्लेख भएअनुसार १०८ नाममध्ये भगवतीको ८५औँ नाम महोदरी रहेको छ ।
महोदरी शक्तिको पूजाका लागि प्राचीन समयमा भृगु, शाण्डिलय, विश्वामित्र, माण्डव, सुखदेव, याज्ञवल्क्यसहितका ऋषिमुनि आएको बताइन्छ ।
यस जिल्लाको सबभन्दा अग्लो स्थान ८०८ मिटर रहेको छ भने सबभन्दा होचो स्थान ६१ मिटर रहेको छ ।
जलेश्वरनाथ महादेवको मन्दिर
प्रदेश २ का पर्यटकीय स्थलहरूमा महोत्तरी सदरमुकाम जलेश्वरमा रहेको जलेश्वरनाथ महादेव मन्दिरको विशिष्ट महत्त्व रहेको छ । कसैले निर्माण गरेको नभई आफैँ महादेवको लिङ्ग प्रकट भएको मान्यताका कारण पनि जलेश्वरनाथ महादेव मन्दिर पुग्ने दर्शनार्थीहरूको घुइँचो लाग्ने गर्छ ।
महादेवको लिङ्ग जलभित्रै रहेकाले पनि जलेश्वरनाथ महादेव नामकरण गरिएको हो । धार्मिक ग्रन्थमा लेखिएको छ– छुजलेश्वरो महालिङ्ग रुद्रेण स्थापितः स्वयम्भू ।
मन्दिरको मध्य भागमा रहेको पानीले भरिएको गुफाको १६ सिँढी तल एउटा चतुष्कोण आकारको जलकुण्डमा शिवलिङ्ग रहेको छ । जलकुण्डमा रहेका यिनै शिजवीलाई जलेश्वरनाथ भनिएको हो ।
प्रदेश २ मा रहेको यस मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउनका लागि समय समयमा मागसमेत उठ्दै आएको छ । नगरको पश्चिम भागमा रहेको उक्त मन्दिरमा पूजा अर्चनाका लागि नेपाल र भारतका विभिन्न स्थानबाट दैनिक सयौँ दर्शनार्थीहरू पुग्ने गर्छन् ।
शिवरात्रिका दिन यस मन्दिरमा पूजा गर्नका लागि लाखौँको सड्ख्यामा भीड लाग्ने गर्छ । वर्षभर जलमै रहने सो शिवलिङ्गलाई स्पर्श गर्ने अवसर शिवरात्रिकै दिन मात्र पाउने भएकाले पनि उक्त दिन लाखौँको सङ्ख्यामा भीड लाग्ने गर्छ ।
दर्शनार्थीहरूलाई शिवलिङ्ग दर्शन गर्न सहज होस् भनेर शिवरात्रिका दिन गुफाको पानी बाहिर निकाल्ने गरिन्छ । भनिन्छ, दमकल लगाएर सो मन्दिरभित्रको पानी निकाल्न सकिँदैन किनभने मन्दिर प्रशासनले दमकल लगाएर पानी निकाल्ने कयौँ पटक प्रयास गरिसकेको छ ।
प्रत्येक पटक दमकल प्रयोग गर्दा बिग्रिएको त्यहाँका पुजारी बताउँछन । दमकलको सहायताबाट पानी निकाल्ने प्रयास असफल भएपछि प्रत्येक वर्ष नेपाली सेनाको सहायतामा बाल्टीले गुफाभित्रको पानी निकाल्ने गरिन्छ ।
अति प्राचीन जलेश्वरनाथ महादेवको व्यवस्थित रूपमा पूजा अर्चनाका लागि वि.सं. १८६९ मा श्री ५ गिर्वाणयुद्धविक्रम शाहको शासनकालमा नित्य साविकका गाविसका मौजेहरू बहेडा जब्दी, बजराही, कञ्चनपुर, जलेश्वर, डाम्ही महेशपुर र महादेवपट्टीको २७५ बिघा जग्गा तत्कालीन महन्थलाई लालमोहर ताम्रपत्र दिइएको थियो ।
मन्दिरको पूजा अराधना तथा प्रसाद अन्नलगायतका अन्य सामग्रीका लागि गुठी संस्थानले वार्षिक ५८ हजार ६ सय रुपैयाँ सहयोग गर्दै आएको छ । यद्यपि, गुठी संस्थान महोत्तरी जलेश्वरका अनुसार अहिले मन्दिरको नाउँमा मन्दिरबाहेकको कुनै सम्पति मन्दिरसँग छैन । ताम्रपत्र भने अहिले पनि सुरक्षित नै छ ।
मन्दिर वरिपरि चारवटा ऐतिहासिक पोखरीहरूसमेत रहेको छ । बरुण सर, पुरन्द सर, पूर्णी सर र महन्थ पोखरी । बरुण सर महादेव पूजाका लागि सहस्र कमलको पुष्प भएको पोखरी, पुरन्द सर महादेव दर्शनपूर्व हात–खट्टा धुने गोरधोई पोखरीको नामले प्रचलित र पूर्णी सर महादेवलाई भोगराजका लागि मखानको पोखरी र महन्थ पोखरी पुजारी महन्थको वासस्थानमा प्रयोग हुने पोखरी रहेको छ । तर, सोको भोगचलन भने जलेश्वर नगरपालिकाले गर्दै आएको छ ।
जलेश्वरलाई धार्मिक पर्यटकीय स्थलका रूपमा विकास गर्न बहुवर्षीय योजनाका साथ काम भइरहेको छ ।
मटिहानी स्थान
महोत्तरी जिल्लाको मटिहानी नगरपालिकामा रहेको मटिहानी स्थान ऐतिहासिक स्थलहरूमध्ये एक हो । पर्यटकीय स्थलको सम्भावना बोकेको मटिहानी स्थान संरक्षणको पर्खाइमा रहेको छ । कुनै बेला हात्ती–घोडाहरूको चहलपहलले लक्ष्मीनारायण मठ सजिसजाउ हुन्थ्यो । संस्कृत शिक्षा आर्जन गर्नेहरू पनि प्रशस्त भोजन र सुविधामा यहाँ पढ्न पाउँथे तर अहिले अवस्था भने भिन्न भएको छ ।
नेपाल अधिराज्यकै महन्थहरूका पनि महन्थ अर्थात् महोतरी जिल्लाको मटिहानी नगरपालिकामा रहेको लक्ष्मीनारायण मठका मानमहन्थ जगन्नाथ दास मठको अवस्था देखेर चिन्तित छन् ।
मठको आफ्नै सम्पतिको राम्रो सदुपयोग नहुँदा यसको जीर्णोद्धारका साथै दैनिक कार्य सञ्चालन अनि विद्यार्थीहरूको सुखसुविधामा पनि प्रतिकूल असर परिरहेको छ, मानमहन्थ दास वैष्णव बताउँछन् ।
मटिहानी स्थानमा लक्ष्मीनारायणको विशाल मन्दिर र दरबारसमेत रहेको छ । जनकपुरधामको जानकी मन्दिर निर्माण हुनुभन्दा झन्डै २ वर्ष पुरानो लक्ष्मीनारायण दरबार १५ बिघा क्षेत्रफलमा फैलिएको छ ।
तत्कालीन मकवानपुरका राजा हेमकर्ण सेनले लक्ष्मीनारायणको दरबारलाई १ हजार ३ सय बिघा जग्गा दान गरेका थिए । तीमध्ये झन्डै ४ सय बिघा जग्गा गुठी संस्थानले बिक्री गरिसकेको र ३ सय ८४ बिघा अझै बाँकी रहेको र अन्य जग्गा अतिक्रमणमा परेको त्यहाँका पुजारीहरू बताउँछन् ।
जनकपुरको जानकी मन्दिर, राम मन्दिर, रत्नसागर मठलगायतका धार्मिक मठहरूमा महन्थको पदवी दिने अधिकार मटिहानी मठकै महन्थसँग रहने गरेको मानिन्छ । त्यसैले त्यहाँको महन्थलाई मान महन्थ भनिएको हो ।
मान महन्थले आफ्नै हातबाट पगरी लगाइदिएपछि मात्र धनुषा र महोत्तरीका अन्य मठ मन्दिरका महन्थले वैधता पाउने विधान छ ।
मटिहानी मन्दिरको नाउँमा धनुषाको फुलगामामा १ सय ३२ बिघा, कजरारमौलमा ३४ बिघा, सपहीमा ४३ बिघा उमाप्रेमपुरमा १९ बिघा महोत्तरीको मझौरा विसनपुरमा ८ बिघा, धिरापुरमा ५५ बिघा, मटिहानीमा ६० बिघा र जाउखमा २७ बिघा जग्गा रहेका छन् । तीमध्ये १ सय ७५ बिघा जग्गा अतिक्रमण भइसकेको छ ।
यस स्थानमा नेपालकै पुरानो संस्कृत क्याम्पस रहेको छ । अहिले पनि त्यहाँ संस्कृत अध्ययन गर्नेहरू पुग्ने गर्छन् ।
नेपाल संस्कृत विश्वविद्यालय मातहत पुगेको याज्ञवल्क्य लक्ष्मीनारायण संस्कृत क्याम्पसमा १ सय ८ जना विद्यार्थीलाई निःशुल्क भोजनको व्यावस्थापन गरिँदै आएको छ ।
राम र सीताको विवाह हुँदा सीताले माटो खनेको ठाउँ भएकाले उक्त स्थानको नाउँ मृतखनी रहन गएको मानिन्छ । पछि त्यही अपभ्रंस भएर मटिहानी हुन गएको बताइन्छ ।
करिब साढे ३ सय वर्षपूर्व तस्मैया बाबा नामक तपस्वीले बनाएको स्थान अहिले नेपालकै महत्त्वपूर्ण धार्मिक स्थलको पहिचान बनाएको छ । मटिहानी स्थानको संरक्षण सम्बद्र्धन गर्न सके यस स्थललाई धार्मिक पर्यटन स्थलको रूपमा विकास गर्न सकिन्छ ।
कारिक स्थान पडौल
महोत्तरीको बलवा नगरपालिकास्थित पडौलमा रहेको कारिक स्थानमा चिताएको काम पूरा हुने मान्यताका साथ श्रद्धालुहरू पूजा आराधनाका लागि त्यहाँ पूजा गर्नका लागि पुग्ने गर्छन् ।
कारिक स्थानको मन्दिर सदरमुकाम जलेश्वरबाट ११ किलोमिटर उत्तरमा पर्छ । पडौल स्थानमा लोक देवता कारिक महाराजको पूजा गर्ने गरिन्छ । यहाँ भाकल गर्नका लागि आउनेहरूको समेत घुइँचो लाग्ने गर्छ ।
भदौ, पुस र चैत महिनाबाहेक सबै महिनामा त्यहाँ बलि दिइन्छ । साताको सोमबार र शुक्रबार ३ सय देखि ४ सय बोकाको बलि दिइने स्थानीय बताउँछन् गर्छ । मन्दिरमा यादव जातकै पुजारीले पूजा गर्ने गर्छन् । बलिको बोका काट्नेहरू भने स्थानीयवासी नै हुन्छन् ।
जतिसुकै ठूलो बोका भए पनि पडौलभित्र खाइसक्नुपर्ने मान्यता रहेको छ । कारिक महाराजलाई चढाइएको बलिको प्रसाद पडौल सीमाभित्रै खाने चलन रहेको छ । एक किम्वदन्तीका अनुसार धेरै समय पहिले एक जना व्यक्तिले कारिक महाराजलाई चढाएको बलिको प्रसाद घर लान खोज्दा टायर गाडामा आगो लागी ध्वस्त भएको थियो ।
पारिवारिक सङ्कट आउनासाथ कारिक महाराजलाई बोका बलि चढाउन भाकल गर्ने मिथिला क्षेत्रको संस्कृतिको अहिले अङ्ग नै बनिसकेको छ । कारिक स्थान बालकको अन्नप्राशन, चूडाकर्म र आरोग्यताका लागि प्रार्थना गर्ने धार्मिक आस्थाको थलो बनेकाले मिथिलाको जीवन पद्धतिसँग जोडिएको हो ।
यहाँ बालबालिकाहरूको मुण्डन गराउनेहरूको समेत भीड लागेको हुन्छ ।
पडौल स्थानमा रामस्वरूप रामसागर धर्म संस्थानले २ कोठे मन्दिर, मन्दिरको आम्दानीबाट २ वटा कोठा र गोनरपुराका कामेश्वर साहले ३ कोठे धर्मशाला बनाएका छन् । मन्दिरको आम्दानी बलि प्रदानबाट आउने नगद र भेटीमा चढ्ने चामल नै रहेको छ ।
टुटेश्वरनाथ महादेव
महोत्तरीको प्रसिद्ध धार्मिक एवम् ऐतिहासिक स्थलको रूपमा परिचित टुटेश्वरनाथ मन्दिर पछिल्लो समयमा आएर आकर्षणको केन्द्रविन्दु बन्दै गएको छ ।
पूर्व–पश्चिम महेन्द्र राजमार्गभन्दा ७ किमी उत्तरतर्फ बर्दिवास नगरपालिका– ११ मा पर्ने पौराणिक एवम् धार्मिक आस्था बोकेको टुटेश्वरनाथ महादेव मन्दिर पर्यटकहरूका लागि आकर्षणको केन्द्र बनेको छ ।
साउन महिनाको प्रत्येक सोमबारका दिन हजारौँ दर्शनार्थीहरू यस मन्दिरमा जल चढाउनका लागि पुग्ने गर्छन् ।
जिल्लाको प्रसिद्ध धार्मिकस्थलको रूपमा परिचित टुटेश्वरनाथ महादेव मन्दिरमा मनोकामना पूरा भएपछि श्रद्धालु काँवर लिएर आउनु, लड्डु चढाउनु, सुन–चाँदी दान गर्नु, भौतिक संरचना बनाइदिनेजस्ता भाकल गर्नेको सङ्ख्या दिनानुदिन बढ्दै गएको छ ।
टुटेश्वरनाथ महादेव जस्ता धार्मिक स्थलले टुटेका मन जोड्ने सामाजिक सद्भावको भावनाको केन्द्रको रूपमा रहेकाले यसलाई पर्यटन केन्द्रको रूपमा समेत विकसित हुँदै गइरहेको त्यहाँका स्थानीयवासीहरू बताउँछन् ।
मरहा नदी र खहरे खोलाको शिखरमा रहेको हिन्दूहरूको पवित्र धार्मिक स्थल टुटेश्वरनाथ मन्दिरमा साउनको प्रत्येक सोमबारबाहेक हरितालिका तीज, एकादशी, शिवरात्रिका दिन मेला भर्नका लागि आसपासका जिल्लालगायत सीमावर्ती भारतीय शहरबाट बर्सेनि हजारौँ श्रद्धालु भक्तजन आउने गर्छन् ।
रौजा मजार

प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामबाट १५ किलो मिटर पश्चिम महोत्तरीको धमौरामा पर्ने रौजा मजार सरिफको पर्यटकहरूका लागि आकर्षणको केन्द्र रहेको छ ।
इस्लाम धर्माबलम्बीहरूका लागि रौजा मजार सरिफ आस्थाको केन्द्र रहेको छ । यो मजारको आफ्नो छुट्टै ऐतिहासिक पहिचान र धार्मिक महत्त्व रहेको छ ।
रौजा मजार सरिफको इतिहास सयौँ वर्ष पुरानो रहेको छ । महोत्तरी निर्वाचन क्षेत्र नम्बर– २ मा पर्ने विग्ही नदीको पश्चिम किनारमा रहेको उक्त मजारको इतिहास ३ सय वर्ष पुरानो रहेको स्थानीयवासीहरू बताउँछन् ।
नेपाल बाइसी तथा चौबीसी राज्यमा विभाजित भएको समयमा भारतको राजस्थानमा पर्ने अजमेरबाट ३ जना वली अर्थात् अल्लाहका भक्तहरू बाबा गदाअली शाह, बाबा रहम अली शाह र बाबा वहार अली शाह फकिरको रूपमा त्यहाँ आएको बताइन्छ ।
मिथिला क्षेत्रमा बसोवास गर्ने मुस्लिम सुमदायलाई धार्मिक शिक्षा तथा धर्मसम्बन्धी जानकारी दिने उद्देश्यले भारतको राजस्थानस्थित बाबा खाजा अजमेरीले उहाँहरूलाई पठाएको हुन सक्ने इस्लाम धर्माबलम्बीहरूको भनाइ छ ।
तत्कालीन समयमा चौतर्फी जङ्गलले नै भरिएरको उक्त स्थानमा सानो झुपडी बनाएर ती वलीहरू त्यहाँ बसोवास गरेका थिए । अल्लाहको इवादत (तपस्या)मा तल्लीन रहने उनीहरूले लामो समयसम्म त्यहाँ खेतीपातीसमेत गर्ने गरेको इतिहास छ ।
बाबा गदा अली शाहको नाममा ४५ बिघा र बाबा रहम अली शाहको नाममा ५२ बिघा जग्गा रहेको थियो । बाबा गदा अली र बाबा रहम अलीको देहान्दत पश्चात त्यो सवै जग्गाको रेखदेख तथा भोगचलन गर्ने जिम्मेवारी बाबा रहम अलीले पाए ।
त्यसको केही दिनपछि तत्कालीन प्रशासनले मालपोतवापतको राजस्व असुलीका लागि रौजामा आफ्ना सिपाही खटाएका थिए । तर, बाबा वाहर अली शाहले आफूसँग पैसा नभएको, जोगी सन्तले कहाँबाट पैसा ल्याउँछ भनेर राजस्व छोडिदिन सिपाहीहरूसँग आग्रह गरे ।
तर, सिपाहीले राजस्व असुल गर्न महराजकै निर्देशन भएकाले छाड्न नमिल्ने अडान राखेपछि बाबा वाहर अली शाहले राजस्ववापत घरमा रहेका २ वटा गोरु लैजाऊ भनेर सिपाहीहरूसँग आग्रह गरे ।
गोरु खोज्न घरमा प्रवेश गरेका सिपाहीहरू बाघ देखेपछि भागेका थिए अर्थात् बाबाले बाघलाई गोरुको रूपमा प्रयोग गर्दै आएका थिए ।
आफूसँग भएको घटनाकारे सिपाहीहरूले नेपालका तत्कालीन राजा गिर्वाणयुद्ध वीरविक्रम शाहलाई सुनाएपछि उनी पनि आश्चर्यचकित भए । गोरुको रूपमा बाघ प्रयोग गर्ने कस्तो फकिर होला ? भनेर उनलाई विश्वासै गर्न कठिन भयो ।
तर, सिपाहीहरूले आफूले बाघ नै देखेको र फकिरले बाघ नै गोरुको रूपमा प्रयोग गर्दै आएको अरूबाट पनि जानकारी पाएको बताए ।
यस्तो कुरा सुनेर राजा गिर्वाणलाई त्यो फकिरसँग भेट्ने इच्छा जागेर आयो । उनले आफ्ना सिपाही पठाएर बाबालाई काठमाडौंमै बोलाउन निर्देशन दिए । तर, बाबाले काठमाडौं जानबाट अस्वीकार गरिरहे ।
पटक पटकको प्रयासपछि राजा गिर्वाणले बाबा वाहर अलीलाई काठमाडौंमै बोलाएर वास्तविक जानकारी लिएका थिए । अलीबाट प्रभावित राजा गिर्वाणले वि.सं. १८७५ मा चिरागवती दिनलाई तथा फकिर फुर्का (जोगी, सन्त) खानपानको व्यवस्था गर्ने उद्देश्यले तत्कालीन प्रधानमन्त्री भीमसेन थापालाई ससिम रौजा मौजे ढाढर दानबकसको रूपमा अलीलाई प्रदान गर्न आदेश दिएका थिए ।
थापाले दानबकसको रूपमा दिएको जग्गाको प्रमाण अहिले पनि मजार समितिसँग सुरक्षित रहेको मजार समितिका पूर्वअध्यक्ष समिरुल शेष बताउँछन् । राजा स्वयम् बाबाबाट प्रभावित भएपछि स्थानीय स्तरमा बाबाको महत्त्व झनै बढेर गयो । पछि बाबा वाहर अली शाहको देहान्त भयो । उनको देहान्तपछि इवादत गर्ने स्थानमै इस्लामिक परम्पराअनुसार उनको अन्तिम दाहसंस्कार गरियो ।
पछि स्थानीयवासीले कुनै समस्यामा पर्दा बाबालाई सम्झिँदा वा भाकल गर्दा सजिलै समाधान हुन थालेपछि एक गाउँबाट अर्को गाउँ हुँदै बाबाको महिमाबारे उक्त क्षेत्रमा चर्चा हुँदै गयो । बाबाप्रति श्रद्धा राख्ने भक्तजन नेपालमा मात्र नभई भारतका विभिन्न स्थानमा रहेका र बाबाको नाम अल्लाहको शक्तिशाली वलीको रूपमा लिने गरिएको छ ।
बाबाको दरबारमा आएर भाकल गरेबमोजिमको वर प्राप्त हुन थालेपछि स्थानीयले मजार लगाउने निर्णय गरे । समितिद्वारा अहिले पनि मजार सञ्चालनमा छ । नेपाल तथा भारतका विभिन्न स्थानबाट मजारमा दैनिक सयौँको सङ्ख्यामा श्रद्धालु भक्तजन आउने गरेका छन् ।
खासगरी सोमबार र बिहिबार बढी सङ्ख्यामा श्रद्धालु भक्तजन यहाँ आउने गरेका छन् । भाकल गरेबमोजिम श्रद्धालु भक्तजनहरूले कुखुरा, बोकासमेतको बलि दिने गर्छन् । कसैले बाबाको मजारमा चादरसमेत चढाउँछन् ।
प्रत्येक वर्ष चैत महिनामा बाबाको मजारमा उर्ष जलसा (धार्मिक प्रवचन) भव्य रूपमा गर्ने गरिन्छ । उक्त उर्षमा २ लाखभन्दा बढी भक्तजनहरूको सहभागिता हुने गरेको मजार समितिको भनाइ छ ।
उक्त अवसरमा श्रद्धालु भक्तजनहरूले करिव १० हजार बोका, १५ हजारभन्दा बढी कुखुराको बलिसमेत दिन्छन् । त्यही मासु पकाएर आफ्ना इष्ट मित्रलाई समेत खुवाउने गर्छन् ।
सोनामाई मन्दिर
महोत्तरीमा रहेको सोनामाई मन्दिर पर्यटकहरूलाई तान्ने मन्दिरहरूमध्ये एक हो । ऐतिहासिकताका साथै धार्मिक र सांस्कृतिक पहिचान बोकेको देवीको मन्दिर हो । यो मन्दिर भूत मेलाका लागि खास प्रसिद्ध छ ।
सोनामाई शक्तिपिठमा षष्ठी तिथिदेखि भूत मेला सुरु भई नवमी तिथिसम्म चल्ने गर्छ । पहिलेदेखि नै प्रत्येक वर्ष विजया दशमीको अवसर पारेर आयोजना गरिने भूत मेलामा हजारौँको भीड लाग्ने गर्छ । तन्त्रसिद्धि तथा भूत, बोक्सीमा विश्वास गर्नेहरूको यहाँ ठूलै भीड लाग्ने गर्छ ।
तान्त्रिक मान्यताअनुसार, घटस्थापनादेखि महानवमीसम्मको अवधिलाई तन्त्रमन्त्रको साधना, अभ्यास र परीक्षण गर्ने महापर्वको रूपमा विश्वास गर्ने गरिन्छ । सोही मान्यताअनुसार तन्त्र साधनाका लागि त्यहाँ पुग्ने गर्छन् ।
सोनामाई स्थानको परिसरमा गलत शक्तिको कुनै असर हुँदैन भन्ने भक्तजनहरूको विश्वास रहेको छ । मन्दिरमा आफ्नो कष्ट लिएर पुग्नेहरूको कष्ट निवारण हुने भएकाले पनि त्यहाँ भक्तजनहरूको ओइरो लागेको हुन्छ । यहाँ दर्शन गर्नाले भूत, प्रेत, बोक्सी र दुष्ट आत्माबाट सताइएकाहरूको कष्ट निवारण सहजै हुने गर्छ भन्ने धारणा छ । यहाँ भगवतीको भव्य मन्दिरसमेत बनाइएको छ ।
यहाँ लाग्ने भूत मेलामा महोत्तरी, धनुषा, सर्लाही, बारा, पर्सालगायत नेपालका विभिन्न स्थानहरूका साथै भारतबाट समेत श्रद्धालुहरू पुग्ने गर्छन् ।
विद्यापति डिह बनौली

महोत्तरीको बनौली गाउँमा विद्यापतिको डिह रहेको मान्यता छ । यस स्थलको संरक्षण र सम्बद्र्धन गर्न सकिए यो पनि पर्यटकीय स्थलको रूपमा विकसित हुनेछ । मैथिली भाषाका आदिकविका रूपमा चिनिने विद्यापति यहीँ बसोवास गर्ने गरेको मान्यतासमेत पाइन्छ ।
विद्यापतिले कुन सालमा, कति वर्षको अवस्थामा कविता र निबन्धको रचना आरम्भ गरे, कुन वर्षमा के लेखे र कति वर्षसम्म जीवित रहे, यी कुराहरूबारे कुनै प्रमाण पाइँदैन ।
उनले रचेका साहित्य र ग्रन्थहरूमा राजा, रानी, मन्त्री र सुल्तानहरूको उल्लेख देखिन्छ । उनीहरूको काल निर्णयको आधारमा विद्यापतिको रचना र जीवनका धेरैजसो प्रधान घटनाहरूको समय निर्भर गर्छ ।
कति ठाउँमा तारिखयुक्त किताबहरू र शिलालेखबाट पनि काल निर्णयमा सहयोग प्राप्त हुन्छ । यसमा लक्ष्मन सम्वत्मा काल निर्दिष्ट भएको छ ।
राज वनौलीको राजा पुरादित्यको गढको उत्खननबाट यस दिशामा धेरै प्रामाणिक आधारहरू भेटिने सम्भावना छ । अतः छिटोभन्दा छिटो यस गढको उत्खननका लागि प्रयास हुनु आवश्यक रहेको स्थानीयको भनाइ छ ।
शिव सिंहको मृत्युपश्चात् विद्यापति अखिमा देवी र अन्य परिवारका सदस्यहरूलाई लिएर २९९ ल.स. (१४१८ ई.सं.)को आसपास राजवनौलीमा राजा पुरादित्यको शरणमा आए ।
राजवनौली हाल आधुनिक नेपालको महोत्तरी जिल्लामा पर्छ । यो पुण्य स्थल जनकपुरधामबाट ६ किमी दक्षिणमा अवस्थित छ । त्यतिबेला यो गाउँ घना जङ्गलले सुशोभित थियो तर यहाँ जलाशयको अभाव थियो ।
गाउँलेहरूको आग्रहमा विद्यापतिले त्यहाँ ठूलो पुष्करिणी खुदावाए र त्यसको यज्ञ गराए । त्यतिबेला अर्जुन नामका एउटा बुद्ध मतका राजा, जो सप्तरीका राजा थिए, उनले आफ्नो मान्छेसहित मिलेर त्यो यज्ञमा विघ्न गर्न थाले ।
पहिले शास्त्रार्थ भयो, अन्त्यमा युद्ध पनि भयो । त्यो युद्धमा राज्या पुरादित्यको सहायताबाट बुद्धहरूलाई मारेर भगाइयो र राजा पनि युद्धमा मारिए ।
यसरी सप्तरी परगना पुरादित्यका राज्यमा मिलाइए । त्यो ठूलो जलाशय अहिले पनि भरघरको अवस्थामा छँदै छ । राजा पुरादित्यको दरबारको अगाडि त्यही जलाशयको डिलमा बसेर विद्यापतिले मैथिली भाषामा श्रीमद्भागवत लेखे । त्यही राजवनौलीमा अर्को पुस्तक लिखनावली पनि लेखे उनले ।
यस्तो जनउपयोगी पुस्तकको प्रभाव नेपालको ऐन–श्रेस्तामा पनि भेटिन्छ । यसरी विद्यापति १४१८ ई. देखि १४३० ई. सम्म वनौलीमा रहेका बताइन्छ ।
धेरै दिनपछि यस जलाशयको जीर्णोद्धार मटिहानीको मानमहन्थले गरे । त्यसै क्रममा उक्त जलाशयबाट एउटा लक्ष्मीनारायणको प्रतिमा प्राप्त भएको थियो । त्यो प्रतिमा मटिहानी लगियो र त्यहाँबाट पनि त्यो चरौत स्थानमा पुग्यो, जो अहिले पनि त्यहाँ छँदै छ । यो वनौलीका लागि एउटा अपूरणीय क्षति भएर गयो ।
यसरी यस गढका बारेमा धेरै जनश्रुतिहरू पनि सुनिन्छ । जस्तै : यस गढबाट साँझ–बिहान भजन कीर्तनका स्वर निस्कनु, भोजनको समयमा भोजनको सुगन्ध निस्कनु र कहिलेकाहीँ त्यस क्षेत्रमा रातीतिर पुण्य आत्माहरूको दिव्य दर्शन हुनु इत्यादि छन् ।
त्यस क्षेत्रमा अरू धेरै सामानहरू भेटिएका छन् । जस्तै : एउटा शिवलिङ्ग, माटोका वर्तनहरूका अवशेषहरू, सुन, चाँदीका सिक्काहरू, बृहत् आकारका इँटाका पर्खालहरू, दरबारका भग्नावशेषहरू, पोखरी इनारका अवशेषहरू इत्यादि छन् ।
त्यसैले उक्त डिहको राज्य पक्षद्वारा उत्खनन गर्नु र पुरातात्त्विक र ऐतिहासिक महत्त्वका सम्पदाको संरक्षण अनि सम्बर्द्धन गर्नु नितान्त आवश्यक भएको स्थानीयको भनाइ छ ।




