जनकपुरधाम। मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले ‘बेटी पढाऊ, बेटी बचाऊ अभियान’ अन्तर्गत प्रदेशका ८ वटै जिल्लाका छोरीहरुलाई ल्यापटप वितरण गरिने बताएका छन् । उनले प्रत्येक जिल्लाका १ हजार छोरीहरुलाई इन्टरनेटको माध्यमबाट संसार जोड्न ल्यापटप बितरण गरिने बताए ।आमसञ्चार प्राधिकरण मधेस प्रदेशले जनकपुरधाममा आयोजना गरेको पत्रकारहरुको दुई दिने अभिमुखिकरण कार्यक्रमको सोमबार समापन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले मधेस प्रदेश भरिका सामुदायिक विद्यालयको कक्षा ११ र १२ मा पढ्ने ८ हजार छोरीहरुलाई ल्यापटप वितरण गरिने तयारी गरिएको बताए ।
उनले मधेसमा छोरीहरुलाई आत्मविश्वास बढाउन, उनिहरुको सशक्तिकरणको लागि मधेस सरकारले सुरु गरेको ‘बेटी पढाऊ, बेटी बचाऊ अभियान’ अन्तर्गत प्रदेशमा लामो समयदेखि रोकिएको छोरी बीमा कार्यक्रम पनि छिटै सुरु हुने बताए ।
मुख्यमन्त्री राउतले प्रदेशमा जन्मिने छोरीको बिमा कार्यक्रम आफूहरुले ल्याए पनि कर्मचारीको असहयोगका कारण निरन्तरता दिन नसकिएको बताए । प्रदेशमा अढाई बर्षदेखि बिमा बन्द रहेको छ ।
मुख्यमन्त्री राउतले कर्मचारीको असहयोगका वावजुद शुरुमा साढे ८ हजार छोरीको बिमा गर्न सफल भएको भन्दै उनले अढाई वर्षदेखि हुन नसकेको बिमा कार्यक्रम केही दिनभित्रै पुनःसञ्चालनमा ल्याइने बताए ।
मुख्यमन्त्री राउतले भने, ‘छोरी बीमालाई निरन्तरता दिन आवश्यक तयारी भइरहेकोले चाँडै बीमा कार्य सुरु गरिने छ। छोरी बीमा सम्बन्धी आवश्यक कानूनी प्रक्रिया पूरा गरी एक दुई दिनभित्रै पुनः बीमा कार्य प्रारम्भ हुन्छ । रोकिएको समय यता जन्मिएका सम्पूर्ण छोरीको बीमा हुन्छ ।’
मुख्यमन्त्री राउतले मधेस प्रदेश सरकारले ल्याएको महिला शसक्तीकरण तथा महिलाको लागि ५० प्रतिशत आरक्षणले आउँदो १०–१५ वर्षभित्र प्रहरी प्रशासन सहित प्रत्येक कार्यालयको उच्च पदमा आधा संख्यामा महिला कर्मचारी हुने दाबी गरे ।
मुख्यमन्त्री राउतले भने, सिद्धान्त मात्र हैन, मधेस सरकारको स्पष्ट रोड म्याप छ, छोरीलाई जन्मिने बितिक्कै बिमा देखि लिएर प्रत्येक जिल्लामा लोकसेवा तयारी कक्षा प्रत्येक वर्ष संचालन गरिने जसबाट छोरीहरुले संघ, प्रदेश, स्थानीय कुनै पनि तहको लोकसेवा प्रतियोगिताको सामना गर्न सक्षम हुनेछ र अबको १०–१५ वर्ष भित्र मधेस प्रदेशको सबै कार्यालय र क्षेत्रमा ५० प्रतिशत मधेसका छोरीहरुले स्थान ओगेटेको देखिनेछ ।’
उनले समाज सुधार र परिवर्तनका लागि पत्रकारहरु निष्पक्ष, निडर भएर कलम चलाउनु पर्नेमा जोड दिंदै मुख्यमन्त्री राउतले संचारकर्मीहरुले निश्पक्ष कलम नचलाए सम्म आम जनमानसले न्याय पाउन नसक्ने बताए।
मुख्यमन्त्री राउतले संचारकर्मीहरुलाई मधेस प्रदेश सरकारले गरेका कामको उजागर गरी सर्वसाधारणलाई सुसुचित गर्न र कमिकमजोरी औल्याइ दिन पनि आग्रह गरे ।
उनले भने, ‘सरकारको कमिकमजोरी औल्याई सही मार्ग निर्देशन गर्ने जिम्मा संचारकर्मीहरुको हो र सरकारले गरेका राम्रा र जनपक्षीय कार्यहरु जनतामा पु¥याउने जिम्मेवारी समेत संचारकर्मीहरुकै रहेको हो ।’
समाज परिवर्तनको जिम्मा जनप्रतिनिधिहरुको मात्र नरहेको जिकिर गर्दै उनलेसमाजिक रुपान्तरणका लागि सबै पक्ष एक जुट हुनु पर्ने धारणा व्यक्त गरे ।
प्रदेश सरकारले समाजिक रुपान्तरणका लागि गरेको जनपक्षीय कार्यहरुलाई वाईपास गर्दै नकारात्मक प्रचार प्रसार मात्र गर्नाले प्रदेशको प्रतिष्ठा गुम्ने तर्फ गुनासो गर्दै मुख्यमन्त्री राउतले त्यस तर्फ समेत सचेत हुन आग्रह गरे ।
कार्यक्रममा आन्तरिक मामिला तथा संचारमन्त्री भरत प्रसाद साहले शासक वर्गमा अझै केन्द्रिकृत मानसिकता कायमै रहेकोले मधेश सरकारलाई काम गर्न समस्या भई रहेको दावी गरे ।मन्त्री साहले मधेस प्रदेश सरकारको कामको काठमाडौंमा राम्रो चर्चा हुनेगरेको बताउँदै आफ्नै प्रदेशका नागरिकमा यसको चर्चा नहुनुमा दुःख व्यक्त गरे । उनले सबै प्रदेशहरु मध्ये पहिचान सहित प्रदेशको नामाकरण मधेस प्रदेशले मात्र गरेको दाबी गरे ।
मन्त्री साहले दुई तिहाई बहुमत नहुँदा हुँदै पनि पहिचान सहितको प्रदेशको नामाकरण यस प्रदेशले मात्र गरेको बताए । उनले पहिचान र संघीयताको मुद्दाको जननी नै यहि प्रदेश भएकोले संघीयतालाई बलियो बनाउन यस प्रदेशले खेलेको भुमिका अहम रहेको बताए।
मधेश सरकारले समाजिक रुपान्तरणका लागि गरेको कामहरुको प्रचार प्रसार मधेश भन्दा बढी अन्य प्रदेशमा भई रहेको उल्लेख गर्दै मन्त्री साहले प्रदेश सरकारको कामकाजको स्वामित्व सरकारले मात्र नभई प्रदेशको सबै नागरिकलाई लिन आग्रह समेत गरे ।
उनले संचारकर्मीहरुलाई सरकार र संघीयतालाई बचाउने तर्फ कलम चलाउन आग्रह गरे ।