जनकपुरधाम- विहिवार देखि भएको लगातारको बेमौसमी वर्षातको कारण मधेस प्रदेशका इँटा उद्योगमा अर्बौंको क्षति भएको छ। तीन देखिको लगातारको वर्षाले धनुषा सहित मधेस प्रदेशका दर्जनौं इँटा उद्योगमा क्षति पुगेको छ ।
तयारी अवस्थामा रहेका लाखौं मूल्य बराबरको काँचो इँटा लगातारको वर्षाले नष्ट भएका छन्। अहिले इँटा तयार पार्ने सिजन भएकोले सबै इँटा उद्योगहरुमा काँचो इँटा नै तयारी भईरहेको बेला बेमौस वर्षातले अर्बौंको क्षति भएको उद्योग सञ्चालकहरूले बताएका छन्।
उद्योग सञ्चालकहरूकाअनुसार एउटा इँटा उद्योगमा कम्तिमा २५ देखि ३० लाख काँचो इँटा वर्षाका कारण नष्ट भएका छन्। इँटा उद्योग व्यवसायी संघ मधेस प्रदेसका अध्यक्ष विनय यादवले भन्नुभयो, वर्षाको कारण इँटा उद्योगहरुमा अहिले भएको क्षतिको कारण अहिले तत्काल उद्योग नै सञ्चालन गर्न नसक्ने अवस्था सृजना भएको छ ।’
प्रदेसका अध्यक्ष यादवले वर्षाले उद्योगीहरु उठ्नै नसक्ने गरी क्षति पुगेको बताउँदै उनले भने, ‘तत्काल उद्योग सञ्चालन गर्ने अवस्था रहेन। अर्बौंको क्षति भएको छ।’
अध्यक्ष यादवको अनुसार मधेस प्रदेसका सबै जिल्ला गरि ६ सय इँटा उद्योग सञ्चालनमा छन्। एउटा उद्योगले कम्तिमा ३० देखि ५० लाख काँचो इँटा तयार पारेका थिए । तयारी भएको इँटा भट्टामा पोल्ने तयारी गरिरहेको बेला एक्कासी भएको लगातारको वर्षाले कामै नलाग्ने सबै काँचो इँटा नष्ट भइसकेको छ।
एक- दुई महिना लगाएर तयार पारिको ईंटा पुस-माघमा भठ्ठीमा पोल्ने गरिन्छ। काँचो इँटा तयार पार्न उद्योगले सयौंको संख्यामा मजदुर राख्ने गरेका हुन्छन् भने माटो र कोइला समेत खरिद गरिएको हुन्छ।
वर्षाले गर्दा तयार पारिएका काँचो इँटाका साथै भारतबाट खरिद गरेर ल्याइएका कोइला पनि नष्ट भएको अध्यक्ष यादवले बताए। उद्योग सञ्चालनका लागि फेरि सुरूकै अवस्थामा फर्कनुपर्ने बताउँदै उनले सञ्चालकहरू ठूलो मारमा पर्नुको साथै अब दोहोरो खर्चमा पर्ने बताए।
महोत्तरीको औरही नगरपालिका संचालित न्यु मिथिला इँदा भट्टा उद्योगका संचालक रामबाबु चौधरीले इँंटा तयार पार्न फेरि सुरूदेखि काम गर्नु अवस्था आएको बताए। उनले भने, ‘अब सबै सुरु देखि गर्नु पर्ने भयो, माटो र कोइला खरिद गर्नुर्यो। मजदुरलाई पारिश्रमिक दिनुपर्नेभयो, त्यसका लागि फेरि कम्तिमा एक दुई महिना समय लाग्ने भयो । दोहोरो खर्चको मारमा पर्नेभए।’
मधेस प्रदेसको धनुषामा मात्रै ८० इँटा उद्योगहरू रहेका छन्। यस वर्षाले सबै उद्योगहरुमा क्षति पुगेर बन्द हुने अवस्थामा पुगेको छ ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका ६ सखुवाबजार नयाँटोल संचालित रामजानकी इँटा उद्योगका सञ्चालक अरुण साहले वर्षाका कारण भएको क्षतिपछि उद्योग बन्द हुने अवस्थामा पुगेको बताए। उनले तयारी गरेर पोल्नको लागि राखेको सबै काँचो इँटा नष्ट भई एउटा पनि काम नलाग्ने अवस्था रहेको बताए।
इँटा उद्योगका सञ्चालकहरूले कोइला भारतबाट आयात गर्ने गरेका छन्। अघिल्लो वर्षको तुलनामा कोइलामा भएको दोब्बर मूल्यवृद्धिका कारण उनीहरू थप मारमा परेका छन्।
इँटा उद्योग व्यवसायी संघ महोत्तरीका अध्यक्ष संजय चौधरीले भने,‘वर्षाका कारण स्टक गरेर राखिएको सबै कोइला पनि नष्ट भयो। फेरि दोहोरो खर्च गरेर भारतबाट मगाउनुपर्ने भयो।’
इँटा उद्योग व्यवसायी संघ महोत्तरीका अध्यक्ष चौधरीले महोत्तरीमा मात्रै २० करोड बराबरको इँटा उद्योगमा क्षति पुगेको बताए । उनले महोत्तरी जिल्ला भरि ५२ वटा इँटा उद्योग रहेकोमा औरही, रामगोपालपुर र गौशला नगरपालिका मै ३६ वटा रहेको र प्रत्येक इँटा उद्योगमा करिब २० देखि ३० लाख बराबरको क्षति भएको बताए ।
सरकारले अन्य उद्योगहरूका लागि बिमाको व्यवस्था गरे पनि इँटा उद्योगमा बिमाको व्यवस्था छैन । खुला आकाश मुनी निर्माण हुने इँटा उद्योगहरूलाई सरकारले बिमाको व्यवस्था नगरेको हो।
दैवीप्रकोप वा कुनै दुर्घटनाहुँदा बिमा गराएका अन्य उद्योगहरूले क्षतिपूर्ति पाए पनि इँटा उद्योगहरू त्यो सुविधाबाट बञ्चित छन्। उद्योग सञ्चालकहरूले बिमाको व्यवस्था गर्न पटक-पटक आग्रह गरे पनि सरकारले उनीहरूको माग सम्बोधन गरेको छैन।
इँटा उद्योग व्यवसायी संघ मधेस प्रदेस अध्यक्ष यादव सरकारले बिमाको व्यवस्था नगरेका कारण प्रकृतिक विपती आउँदा सम्पूणर् क्षति उद्योगले आफैं बेहोर्नु परिरहेको बताए । उनले अन्य उद्योगजस्तै इँटा उद्योगलाई पनि बिमाको व्यवस्था गर्न सरकार संग पुनः माग गरेका छन् ।
‘बिमाको व्यवस्था गर्न पछिल्लो ५/६ वर्षदेखि सरकारलाई भनिरहेका छौं तर सरकारले सुनुवाइ गरेको छैन ।’
यादवले बिमा नहुँदा पटक-पटक आइरह्ने प्रकृतिक विपतीले सम्पूणर् क्षति हामी आफैंले बेहोर्नु परेको छ। सरकारले ध्यान नदिए हामीले कसरी उद्योग सञ्चालन गर्ने? भनेर उनले प्रश्न गरे ।




