जनकपुरधाम : पत्रकारिताको नाममा सर्वसाधारणलाई ठग्दै हिँड्ने नक्कली पत्रकार बाराको जीतपुरबाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा प्रकाश तिवारी भनिने पप्पु तिवारी रहेका छन् । वीरगंज महानगरपालिका वडा नं. १७ अलौं सिर्सिया घर भई वीरगन्ज बस्दै आएका तिवारीले विभिन्न काम गराई दिने प्रलोभन देखाई सर्वसाधारणलाई ठगी गरेको आरोपमा इलाका प्रहरी कार्यालय सिमराले पक्राउ गरेको जनाएको छ ।
विगत लामो समयदेखि पत्रकारिताको आडमा तस्करी, ठगी गर्दै आएका तिवारी विरुद्ध जितपुर सिमरा उप महानगरपालिकामा पर्ने डुमरवाना स्थितकै एक स्थानीयले आफू ठगिएको उजुरी दिएपछि प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले जानकारी दिनुभयो ।
उनी विरुद्ध बैंकिङ्ग कसुर सम्बन्धी मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक कुँवरले बताउनुभयो । डुमरवानाका एक नागरिकले आफूले तिवारीसँग लिनुपर्ने पैसा नदिएको र बाउन्स चेक दिएको भन्दै उजुरी दिएपछि आवश्यक अनुसन्धानको लागि प्रहरीले हिरासतमा लिएको हो ।
उजुरीकर्ताले रु.१० लाख रकम ठगेको दाबी गरेको छ । इलाका प्रहरी कार्यालय, सिमराले बारा जिल्ला अदालतबाट पाँच दिनको म्याद अनुमति लिई अनुसन्धान अगाडि बढाएको छ ।
तिवारी कुनै पनि सञ्चार प्रतिष्ठानमा आबद्ध नरहेको र पत्रकारको नाममा ठगी गर्दै आएको बताइएको छ ।