महोत्तरी - महोत्तरीको सोनमा गाउँपालिकाका स्थानीयहरुले आज दिनभर गाउँपालिकाकाे कार्यालय घेराउ गर्दा तनावग्रस्त भयो ।
ग्याँस चुल्हो वितरणमा विभेद गरिएको भन्दै स्थानियहरुले गाँउपालिका कार्यालय दिनभरि नै घेराउ गरे ।
स्थानियहरुले दिनभर नारावाजी गर्दै कार्यालय घेराउ गरेको कारण काम गराउन आएका सेवाग्राहीहरु रितै हात फर्किएका थिए ।
कार्यालय घेराउ गर्नका पुगेका वृद्धवृद्धा, महिला, युवाहरुले वितरण गरिएको सामग्रीको विवरण पारदर्शी रुपमा सार्वजानिक गर्नुपर्ने माग राखेका थिए ।
गाँउपालिकाका अध्यक्ष राजकुमार यादवले ग्याँस चुल्हा,चापाकल, घाँस काट्ने मेसिन कार्यकर्तामुखी रुपले वितरण गरेको स्थानिय शैलेन्द्रकुमार यादवले आरोप लगाए ।
चुनाव नजिकमा आएको समयमा अध्यक्ष यादवले मनपर्दी रुपमा सो सामग्रीहरु वितरण गरेकोे यादवको आरोप रहेकाे छ । उनले भने, ‘गाँउपालिका कार्यालयले पारदर्शीरुपमा सो सम्बन्धमा स्पष्ट धारणा वाहिर ल्याुनपर्छ । तत्काल माग सम्बोधन नभए गाँउपालिकाको विरोधमा आन्दोलनको कार्यक्रम निरन्तर रुपमा अगाडि बढ्नेछ ।’
यसअघि अध्यक्ष यादवले वारम्बार पालिकाको तर्फबाट सम्बोधन गर्ने प्रयास गर्दा स्थानियहरु हुटिङ्ग गर्दा परिस्थिती अझ विग्रिएको प्रहरी चौकी रघुनाथपुरका असई दिपेन्द्र जयसवालले बताए ।
विवाद साम्य गर्ने क्रममा केही समय स्थिती तनावग्रस्त बनेको असई जयसवालले जानकारी दिए ।
चालु आर्थिक बर्षको ३० लाख बजेट मार्फत पालिकाभरिका लोपोन्मुख, दलित समुदायलाई ग्याँस चुल्हो वितरण गरिएको गाँउपालिकाका अध्यक्ष राजकुमार यादवले बताए ।
अध्यक्ष यादवले भने, ‘पालिकाबाट वितरण भएको सामग्रीमा कुनै किसिमको भेदभाव गरिएको छैन् । वडा वडाबाट संकलित तथ्यांकको आधारमा नै सामग्री घरघरमा गई वितरण भएको हो ।’ प्रति घरपरिवारलाई १ थानका दरले ३ सय ४० वटा ग्याँस चुल्हो वितरण गरिएको प्रमुख यादवले जानकारी दिएका छन् ।