सर्लाही जिल्ला अदालतले छ जनाविरुद्ध ज्यान मार्ने उद्योग र एक जनाविरुद्ध अभद्र व्यवहारमा अनुसन्धान गर्न बरहथवा प्रहरीलाई पाँच दिनको म्याद प्रदान गरेको हो । झडपमा संलग्न बरहथवा नगरपालिका ४ का पूर्व वडाध्यक्ष ४० वर्षीय लखेन्द्र महतो, ४२ वर्षीया रीता कटुवाल, बलरा नगरपालिका–८, बस्ने ३१ वर्षीय रञ्जित महतो, २२ वर्षीय सन्तोषकुमार कुशवाहा, २५ वर्षीय अभिषेक महतो र २५ वर्षीय अरविन्दकुमार साहविरुद्ध ज्यान मार्ने उद्योगमा पाँच दिन म्याद थप भएको छ ।
यस्तै प्रहरीलाई ढुङ्गामुढा गर्ने स्थानीय २४ वर्षीय शिशिर कार्कीविरुद्ध भने अभद्र व्यवहारमा सात दिन म्याद लिएर अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख एवं प्रहरी नायब उपरीषक (डिएसपी) निरन्जन भट्टराईले जानकारी दिए । म्याद थप भएका सातै जना बरहथवा प्रहरीको हिरासतमा रहेका छन् ।
बाटो विस्तारको विषयलाई लिएर खैरा टोलमा हिजो दुई पक्षबिच झडप भएको थियो । झडपमा दुई प्रहरीसहित दुवै पक्षका गरी आठ जना घाइते भएका थिए ।
घाइते सबै उपचारपछि डिस्चार्ज भइसकेका छन् । थप उपचारका लागि काठमाडौं गएका ५० वर्षका टीकाबहादुर कार्की र ५२ वर्षका कुलबहादुर कार्की समेत राष्ट्रिय ट्रमा सेन्टरमा उपचारपछि आज डिस्चार्ज भइसकेका इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।
झडप रोक्न प्रहरीले एक राउण्ड हवाई फायर समेत गरेको थियो । खैरा टोलमा १११ मिटर सडक निर्माण गर्न वडा कार्यालयले यो वर्ष सात लाख रुपियाँ बजेट विनियोजन गरेको थियो ।
हिजो भएको झडपको घटनापछि बाटो विस्तारको काम स्थगित भएको छ । खैरा टोलका एक परिवारले बाटो विस्तार गर्दा आफूहरुको मात्रै जग्गा मिचिएको भन्दै विरोध जनाउँदै आएको छ ।
उच्च अदालत जनकपुरले उजुरीकर्ताको जग्गा भएर बाटो विस्तार गर्नुपर्दा अनमति बेगर काम अघि नबढाउन आदेश दिएको छ ।




