काठमाडाैं। एमसीसीविरुद्ध सत्तासिन दलकै जनवर्गीय संगठन आन्दाेलनमा उत्रिएपछि स्थानीय प्रशासनले नयाँबानेश्वरस्थित संसद भवन र त्यसआसपासका क्षेत्रमा सुरक्षा व्यवस्था कडाइ गरेकाे छ।
सत्तासिन दलका जनवर्गीय संगठन, नेपाल बन्द आह्वान गरेका ६ दल र दुई माेर्चा तथा अन्य समूहले संसद भवन अगाडि प्रदर्शन गर्ने कार्यक्रम तय गरेपछि प्रशासनले संसद भवन केन्द्रित सुरक्षा व्यवस्था अपनाएकाे हाे। उपत्यकाका सडकमा बिहानैदेखि सुरक्षाकर्मीकाे बाक्लाे उपस्थित रहेकाे छ।
महानगरीय प्रहरी कार्यालयका प्रवक्ता सन्तोष सिंह राठौरले सुरक्षा व्यवस्था कडाइ पारिएकाे बताए। बन्द गराउँदै हिँडेकालाई नियन्त्रणमा लिइएको उनले उल्लेख गरे।
संसद भवन क्षेत्रमा पनि सुरक्षाकर्मीकाे बाक्लाे उपस्थिति छ । संसद भवन प्रवेशमा पनि कडाइ गर्ने नीति लिइएकाे एक प्रहरी अधिकारीले बताए। संसद भवन प्रवेश गर्नेलाई कडाइका साथ चेकजाँच गरिनेछ।
सभामुख अग्नि सापकोटाले आज बिहान ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्। त्यसपछि दिउँसाे १ बजे संसद बैठक बस्नेछ।