जनकपुरधाम- पत्रकार एवम् सुशासनका लागि भ्रष्टाचार विरुद्ध अभियानकर्मी सप्तकोशी नगरपालिका–११ भगनीका २६ वर्षीय कैलाश माझीलाई ‘मधेसी भाइरस किलर समूह’ले मार्ने धम्की दिएको भन्दै पीडितले फागुन २ गते शान्ति सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालय सप्तरीमा उजुरी दिएका छन् ।
मार्ने धम्की दिएपछि शान्ति सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमलाई भेटी उजुरी दिएको पीडित माझीले बताए।
माझीका अनुसार जिल्ला प्रशासन कार्यालयले आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय सप्तरीमा र जिल्ला प्रहरी कार्यालयले शान्ति सुरक्षाका लागि इलाका प्रहरी कार्यालय कञ्चनरुपमा फागुन २ गते पत्राचार गरेको छ ।
सुशासनका लागि भ्रष्टाचार विरुद्ध अभियानमा सक्रिय माझी सूचनाको हकका लागि राष्ट्रिय महासङ्घका सदस्य र जागौँ नेपाल मधेस प्रदेशका सदस्य सचिवका साथै पिपुल्स न्युज र अन द स्पोट न्युजका सप्तरी सम्वाद्दाताका रूपमा कार्यरत छन् ।
फागुन १ गते राति सुतेको बेला ढोका अगाडि छाडिएको मधेसी भाइरस किलर (कुनौली) का सहइन्चार्ज प्रकाश यादव (प्रभास) को हस्ताक्षरित पत्रमा माझीलाई हत्या गर्ने धम्की दिइएको छ ।
उक्त पत्रमा स्थानीय तहसँग सूचना माग गरेको, सूचना र पैसा नदिने स्थानीय तहको बदनाम गरेको कारण देखाउँदै माझीको घरमा आगो लगाइ दिने, घरमै आएर गोली हानी मार्ने र जहाँ भेट्यो त्यहीँ गोली हानी मार्ने लगायतको धम्की दिइएको छ ।
प्रकाश यादव (प्रभास) को हस्ताक्षर सहित पठाइएको पत्रमा सप्तकोशी नगरपालिका–१० कमलपुरमा रहेका उनको समूहको व्यक्तिले माझीको मोबाइल र आइडी ट्याक गरी निगरानी गरिरहेको, माझीको अपहरण गर्न घर वरिपरी चक्कर लगाए पनि सफल हुन नसकेको र पुनः पूर्ववत काम गरेमा घरमै आएर गोली हानी मार्ने धम्की दिइएको छ ।
उक्त पत्रलाई मिडियाबाजी गरे, प्रहरीमा खबर गरे वा कसैलाई भनेमा सो को परिणाम मृत्युबाट चुकाउनु पर्ने पत्रमा उल्लेख गरिएको छ ।
बाँच्न चाहने हो भने चुप लागेर बस्न तथा सफाइ दिन चाहेमा सम्पर्क गर्न भन्दै पत्रमा भारतीय नम्बर ००९१८९६३२०७५१० दिइएको छ ।
यसैबीच माझीलाई ज्यान मार्ने धम्की आएको भन्दै सूचनाको हकका लागि राष्ट्रिय महासंघले उक्त कार्य निन्दनीय र घोर आपत्ति भन्दै विज्ञप्ती नै निकालेको छ । सार्वजनिक निकायसँग उनको कामकाजको विषयमा सूचना माग्न पाउने आम नागरिकको अधिकारलाई राज्यले नै सुनिश्चित गरेको भन्दै स्थानीय प्रहरी र प्रशासनलाई छानबिन गर्न तथा माझीको ज्यानको सुरक्षा गरिदिन माग गरेको छ ।