जनकपुरधाम- नेपाली कांग्रेस नेता विमलेन्द्र निधिले एमसीसी सम्झौताका सम्बन्धमा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले दोयध चरित्र प्रदर्शन गरेको बताएका छन् ।
नेता निधिले आफू समेत सहभागी रहेको छलफलमा अध्यक्ष नेपालले एमसीसी सम्झौता संसद्बाट अनुमोदन गर्न सहमति जनाएको दाबी गरेको बताउँदै उनले भने, ‘पहिले ओली नेतृत्वको सरकार ढालौँ, अनि मिलेर एमसीसी अनुमोदन गरौं’ भनेका थिए।’



धनुषाको मुखियापट्टी मुसरनिया गाउँपालिका-२ को बेलहीमा निर्माण हुने भ्युटावर स्थलको निरीक्षणको लागि पुगेका नेता निधिले आम नेपालीलाई एमसीसीबारे जानकारी नभएको र अनावश्यक भ्रम फैलाइएको बताए ।
उनले एमसीसी ऋण नभई अनुदान भएकाले देशमाथि कुनै व्ययभार नपर्ने बताउँदै ‘गाउँ समाजका हुने खानेले नहुनेलाई सहयोग वा चन्दा दिएजस्तै अमेरिकाले हामीलाई दिएको अनुदान हो । यसबाट मुलुकलाई लाभ नै हुने हो,’ उनले भने ।
निधिले मुलुकमा यसअघि पनि धेरै मित्रराष्ट्रले अनेकौं पटक अनुदान र सहयोग उपलब्ध गराएको बताउँदै उनले केही राजनीतिक दलहरुले दोेयध चरित्र देखाएका कारण आम नेपालीमा भ्रम पर्न गएको बताए ।
उनले भने, ‘जति बेला एमसीसी समझौता भएको थियो । त्यतिबेला देशका सबै दलका नेता कार्यकर्ताहरुले दीपावली नै मनाएका थिए । अहिले संसद्बाट अनुमोदन गर्ने बेला केही दलले दोयध चरित्र देखाएका छन् । यो नेताहरुको यस्तो चरित्र बारे जनताले मुल्यांकन गरिसकेका छन् ।’





