महेन्द्रनगर – नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत मधेस प्रदेश (प्रदेश २) का जिल्ला अधिवेशनहरु निर्वाचनको लागि उम्मेदवारहरुले गतिविधि बढाउँदा निर्वाचनको चहल पहल बढेको छ ।
प्रदेशका ८ वटै जिल्लामा सभापतिका उम्मेदवारहरुले धमाधम उम्मेदवारी घोषणा गर्नुभएको छ । १५ गते हुन गइ रहेको जिल्ला निर्वाचनका लागि प्रत्येक जिल्लामा कम्तिमा तीन जनाले सभापतिका लागि उम्मेदवारी घोषणा गरिसकेका छन् ।
मधेस प्रदेशका सबै जिल्ला अधिवेशनमा संस्थापन पक्ष शेरबहादुर देउवा तथा संस्थापन इतर समूह डा. शेखर कोइराला र विमलेन्द्र निधि पक्षको त्रिपक्षीय प्रतिष्पर्धा हुने स्थिती देखिएको छ।
प्रायजसो जिल्लामा उम्मेदवारी घोषणा गरेर नेताहरु व्यक्तिगत रुपमा र प्यानल सहित नै सार्वजनिक कार्यक्रम गरि आफ्नो पक्षमा मत माग्न प्रचार प्रसारमा खटिसकेका छन् । सभापतिका उम्मेदवारहले प्यानल नै बनाएर मतदाताको घरदैलोमा समेत पुगेर मत माग्न थालेको देखिएको छ।
प्रदेशका ८ वटै जिल्लाका गरी करिब २४ जना सभापतिका आकांक्षीहरु रहेको काँग्रेस प्रदेश समितिले जनाएको छ । आकांक्षीहरु मध्ये धेरैजसोले उम्मेदवारी घोषणा गरिसकेका छन् भने केही आकांक्षीहरु अहिले दोधार मै रहेको समेत बताइएको छ।
अहिले सम्मको स्थितीमा धनुषामा तीन जनाले जिल्ला सभापतिमा उम्मेदवारी घोषणा गरिसकेका छन् । धनुषा सभापतिमा योगेन्द्र पजियार, सन्तोष यादव र दिनेश प्रसैला यादवले उम्मेदवारी घोषणा गरि प्रचारप्रसारमा लागि सकेका छन् । यस जिल्लामा तीन हजार २८३ मतदाता रहेको छ ।
त्यसैगरी महोत्तरी सभापतिमा पनि तीन जना बजरंग नेपाली, सुशिलकुमार यादव, र नागेश्वरप्रसाद यादवले उम्मेदवारी घोषणा गरेर प्रचार प्रसार तथा मत माग्न थालिसकेका छन् । महोत्तरीमा दुई हजार ३५० मतदाता रहेको छ।
त्यस्तै, सर्लाहीमा २ जना लक्ष्मण राय र सुरेन्द्रप्रसाद सिंह र रौतहटमा पनि २ जना हृदयनारायण यादव र सुनिल यादव जिल्ला सभापतिमा उम्मेदवार बन्ने नेपाली काँग्रेस मधेस प्रदेश सभापति कृष्णप्रसाद यादवले जानकारी दिए । प्रदेश सभापति यादवका अनुसार रौतहटमा जितेन्द्र यादव पनि सभापतिको आकांक्षी हुन्। रौतहटमा दुई हजार ६५० मतदाता रहेको प्रदेश सभापति यादवले जानकारी दिए।
त्यस्तै, बारामा पनि तीन जना राजेशराय यादव, रमानन्द यादव र शम्भु बुढाथोकीले सभापतिमा उम्मेदवारी घोषणा गरि प्रचार प्रसार सहित मत माग्न थालेका छन् । यहाँँ दुई हजार ४८० मतदाता रहेका छन् ।
त्यस्तै पर्सामा पनि दुई जना जनार्दनसिंह क्षेत्री र रामनारायण कुर्मीले उम्मेदवारी घोषणा गरी मत माग्न शुरु गरिसकेका छन् ।
त्यसैगरी आज मंगलवार काँग्रेसको सप्तरी सभापतिमा शुत्रघनप्रसाद यादवले उम्मेदवारी घोषणा गरेका छन्। करिब दुई हजार पाँचसय मतदाता रहेको यस जिल्लाको सभापतिमा यादवले आज पत्रकार सम्मेलन गरी उम्मेदवारी घोषणा गरेका हुन् ।
काँग्रेस सप्तरीका निवर्तमान सभापति तथा केन्द्रीय सदस्य दिनेशकुमार यादवका अनुसार सम्भावित अन्यले औपचारिक रुपमा घोषणा नगरेको भए पनि सप्तरीमा रामदेव साह पनि उम्मेदवार बन्ने चर्चा छ ।
केस यादवले सभापति मै भगवतीप्रसाद यादव, रामप्रसाद मण्डल, नन्दकिशोर यादव लगायतको नाम पनि चर्चामा रहेको जनाए ।
यस्तै, सिरहा काँग्रेस सभापतिमा रामसुन्दर चौधरी र रामचन्द्र यादवले उम्मेदवारी दिने घोषणा गरी प्यानल बनाएर प्रचार प्रसारलाई तीव्रता दिएका छन् । यहाँ दुई हजार ६५० मतदाता रहेका छन् ।


