काठमाडौं- नेपाली कांग्रेसको बाँकी रहेका जिल्लाको जिल्ला अधिवेशन फेरि सरेकोे छ। केन्द्रीय निर्वाचन समितिले बाँकी रहेका १६ जिल्लामध्ये १० जिल्लाको अधिवेशन सार्ने निर्णय गरेको हो।
निर्वाचन समितिका सचिव केशव रिजालकाअनुसार १६ जिल्लामध्ये सप्तरी, सिरहा, धनुषा, सर्लाही, रौतहट, बारा, चितवन, नवलपुर, बाँके र अछामको जिल्ला अधिवेशन सारिएको छ।
फागुन १५ गते अधिवेशन गर्ने भनिएकोमा ती जिल्लाहरूमा फागुन २० गतेभित्र अधिवेशन गर्ने निर्णय निर्वाचन समितिले गरेको रिजालले बताए।
उनले बिहीबारदेखि प्रतिनिधिसभामा सुरू हुन लागेको एमसिसीउपरको छलफललाई लिएर संघीय सांसदहरूलाई अनिवार्य उपस्थितिका लागि संसदीय दलबाट ह्विप जारी भएकोले जिल्ला अधिवेशनको मिति सारिएको जानकारी दिए।
रिजालले प्रतिनिधिसभामा सदस्य रहेका १० जिल्लाको अधिवेशनको मिति अगाडि सारिएको बताएका छन्।
उनकाअनुसार अरू ६ जिल्लामा भने तोकिएकै मितिमा अधिवेशन हुनेछ।
सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, सिन्धुपाल्चोक, चितवन, मकवानपुर, नवलपुर, बाँके, अछाम र कैलालीमा कांग्रेसको जिल्ला अधिवेशन बाँकी छ।




