महोत्तरी – नेकपा माओवादी केन्द्रसहित सत्तागठबन्धनले एमसीसी पास गराएपछि माओवादी केन्द्र महोत्तरीले तिव्र असन्तुष्टि जनाएको छ ।
एमसीसी पास गर्ने बहानामा व्याख्यात्मक विश्लेषणलाई अगाडि सारी अनुमोदन गर्नु राष्ट्र हितविपरीत भएको भन्दै माओवादी केन्द्रका नेता तथा कार्यकर्ताले पाटी परित्याग गर्नेदेखि विद्रोहसम्मको तयारी गरेका छन ।
माओवादी केन्द्र मधेश प्रदेश कमिटी सदस्य राजन ढुङ्गानाले फेसबुकबाट आफ्नो धारणा सार्वजनिक गर्दै नेतृत्व अमेरिकी साम्राज्यवादतर्फ घुँडा टेकेको आरोप लगाएका छन । राष्ट्रियता, जनतन्त्र र जनजिविकाको एजेण्डा बोकेर १० वर्षसम्म जनयुद्ध लडेको पाटी नै एमसीसीको पक्षमा घुँडा टेक्नु स्विकार्य नहुने बताउँदै उनले विद्रोह गर्ने बताएका छन । त्यसैगरी जिल्लास्थित नेता तथा कार्यकर्ताहरूले पनि बाक्लै असन्तुष्टि जनाएका छन । कतिपय कार्यकर्ताले माओवादी केन्द्रको औचित्य सकिएको भन्दै माओवादी नै त्याग्ने घोषणा समेत गरे । बर्दिबास स्थित स्थानिय नेता सौरभ खडका र निरज अधिकारीले पनि पाटी नेतृत्वले गठबन्धनको सुरक्षा गर्ने बहानामा नेता कार्यकर्ताको भावनामा ठेस पुर्याएको बताए । बर्दिबासमा त एमसीसीका विरुद्ध चरणबद्ध आन्दोलन समेत भएको थियो ।
गठबन्धनले व्याख्यात्मक विश्लेषणको नाममा एमसीसी अनुमोदन गर्ने दिशातर्फ उन्मुख भएपछि हिजोदेखि नै नगर सुनसान बनेको छ । पाटी नेतृत्वको यो निर्णयले जिल्लामा पाटीभित्रको सुदृढीकरण क्षीण भएको कतिपयको भनाइ छ । यसअघि प्रचण्डले एमसीसी कुनैपनि हालतमा पास गर्न नसकिने अडान लिदै आएका थिए । एमसीसी राष्ट्रघाती सम्झौता भएको ठहर गर्दै अध्यक्ष प्रचण्डले लिएको अडानप्रति जिल्लाका नेता तथा कार्यकर्ताले निक्कै गर्व गर्दै आएका थिए । कतिपय नेताहरूले त नेतृत्व कुनैपनि हालतमा एमसीसीको पक्षमा नउभिने र उभिएपनि पाटी नै छाडने चुनौती दिएका थिए । ५ दिन अगाडि एमसीसीको पक्षमा पाटी उभिए पाटी नै परित्याग गर्ने सार्वजनिक गरेका स्थानीय नेता निरज अधिकारीले फेसबुकबाट अबदेखि माओवादीमा नरहेको सार्वजनिक गरेका छन ।
सामाजिक सञ्जालमा माओवादीको कदमलाई लिएर निक्कै टिप्पणी भएका छन । विशेषगरी विपक्षी दलका नेता तथा कार्यकर्ताले आन्दोलनको बिषयलाइ लिएर खिल्ली उडाएका छन । नेपाली काङ्ग्रेसका कार्यकर्ता तथा व्यवसायी भवनाथ खतिवडा आफ्नो फेसबुकमा लेख्छन :`पार्टी छोड्छु भनेर गर्जिनेहरू के गर्लान् । मैले भनेको थिए एमसीसी पास गर्न देउवाले केही गर्नु पर्दैन बालकोट जान्छु भने मात्र पुग्छ ।´ नेतृत्वको यो निर्णयप्रति मधेश प्रदेश कमिटीको बैठक बसेको बुझिएको छ । माओवादीका एक नेताले भोलिसम्म माओवादी केन्द्र मधेश प्रदेशको धारणा बाहिर आउने बताए। नेतृत्वको निर्णयलाई लिएर सडक आन्दोलनसम्म गर्ने माओवादी केन्द्र मधेश प्रदेशको तयारी रहेको स्रोतको भनाइ छ। आजै जिल्लास्थित जिम्मेवार नेताहरू नेपाल बन्दको समर्थनमा उत्रने भएका छन ।
माओवादी केन्द्र महोत्तरीका संयोजक तुलसी ढुङ्गानाले पाटीको औचित्य सकिएको बताएका छन । तर उनले पार्टी छाेडने विषयमा प्रष्ट बनाएनन् । यता मधेश प्रदेश कमिटी सदस्य राजन ढुङ्गानाले भने पाटीमा बस्न नसकिने प्रष्ट बनाएका छन । माओवादी केन्द्र केन्द्र महोत्तरीका इन्चार्ज राजु खड्काले पनि एमसीसी अनुमोदनको विषयलाई लिएर आपत्ती जनाएका छन । २० फाल्गुनमा हुने केन्द्रिय समितिको बैठकपछि मात्र आफूहरू निर्णयमा पुग्ने इन्चार्ज खड्काको भनाइ छ ।


