महोत्तरी। जलेश्वर कारागारमा पुर्पक्षमा रहेका एक कैदीबन्दीको उपचारको क्रममा मृत्यु भएको छ ।यसरी मृत्यु हुनेमा गौशाला नगरपालिका–५ घर भई हाल बर्दिबास नगरपालिका–१४ शुभम बस्ती टोलमा डेरा गरी बस्ने वर्ष ६० को राजकिशोर साह रहेको जिल्ला कारागार महोत्तरीका प्रमुख अशोककुमार क्षेत्रीले जानकारी दिनुभयो ।
शनिबार राति अचानक बेहोस भएका साहलाई तत्कालै उपचारका लागि प्रादेशिक अस्पताल जलेश्वर पुर्याइएको जानकारी दिनुहुँदै कारागार प्रमुख क्षेत्रीले उपचारकै क्रममा उहाँको मृत्यु भएको जानकारी दिनुभयो । उहाँको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जलेश्वरमा राखिएको छ ।



२०७७ मंसिर ७ गते बर्दिबास–१४ की ६ वर्षीया बालिका गुलाबसा खातुनलाई अपहरण, बलात्कार र हत्या घटनामा संलग्न साहलाई ५ वर्षपछि ०८२ असार १५ गते प्रहरीले पक्राउ गरेको थियो । बालिकालाई जबरजस्ती करणी गरी हत्या गरेको आरोपमा पक्राउ साहका छोरा २६ वर्षीय अरुणकुमार करागारमै छन् ।
हत्यापछि बालिकाको शव लुकाउन बुवा साहले छाेरालाई सहयोग गरेका थिए । साह लामो समयदेखि भारतमा लुकेर बसेका थिए । सोही घटनामा संलग्न र साहसँगै पक्राउ परेकी ५१ वर्षीया श्रीमती सुशीलादेवी साह सिन्धुली जिल्ला कारागारमा छिन् ।




