जनकपुरधाम - नेपाली कांग्रेस सप्तरीको नयाँ नेतृत्व चयनका लागि आज सुरु भएको मतदान रोकिएको छ ।
रूपनी गाउँपालिका ५ स्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा विहान ११ बजदेखि मतदान सुरु भएको थियो ।
निर्वाचनमा विवाद बढ्दै गएर हात हालाहालकै स्थिति आएपछि मतदान स्थगित गरिएको हो ।
करिब ६ सय मत खसेपछि विवाद भएको थियो ।
संस्थापन पक्षका कार्यकर्ताले नक्कली मतदाता मार्फत मत खसाल्न लगाएको भन्दै संस्थापन इतर समूहले मतदान गर्न नदिएपछि विवाद भएको हो । विवादका क्रममा केही मतपत्र च्यातिएको थियो ।
मतपत्र च्यातिएपछि दुवै पक्षबीच बिवाद बढेपछि साँझ ५ बजे मतदान प्रक्रिया रोकिएको निर्वाचन अधिकृत रुद्र शर्माले जानकारी दिए ।
नेतृत्वका लागि उम्मेदवार रहेका संस्थापन र संस्थापन इतर प्यानल बीच विवाद भई मतपत्र च्याताच्यात भएपछि मतदान स्थगित गरिएको निर्वाचन अधिकृत शर्माले जनाए।
विवाद कै क्रममा दुई सय मतपत्र समेत लुटिएको निर्वाचन समितिले जनाएको छ । प्रतिनिधि सभा सदस्य समेत रहेका संस्थापन इतरका नेता तेजुलाल चौधरीले संस्थापन पक्षले नक्कली मतदाताबाट मतदान गर्न लगाएर धाँधली गर्न खोजेको आरोप लगाए ।
चुनावमा मतदान गर्ने कुल मतदाता संख्या २ हजार ५ सय १० रहेको छ।