
सर्लाही - नेपाली कांग्रेस सर्लाहीको नेतृत्व चयनका लागि सोमबार तोकिएको मतदान सुरु हुन नपाउँदै स्थगित भएको छ । मतदानअघि दुई पक्षबीच आचार सहिंता बनाउने विषयमा विवाद भएपछि निर्वाचन समितिले स्थगित गरेको हो ।
निर्वाचन अधिकृत नागेश्वर प्रसाद सिंहले विशेष परिस्थितिका कारण निर्वाचन गराउन कठिन भएको भन्दै अर्को सूचना प्रकाशित नहुञ्जेलसम्मका लागि निर्वाचन स्थगित गरिएको भन्दै सूचना टाँसेका छन् । सोमबार बिहान ९ बजेदेखि सुरु हुने भनिएको मतदान १ बजेर १५ मिनेटमा मतदान स्थगितको सूचना टाँस गरी जानकारी गराइएको हो ।
निर्वाचन स्थगित भएपछि मतदान स्थल बाहिर अहिले कार्यकर्ताहरु नाराबाजी गरिरहेका छन् । उनीहरुले जसरी भए पनि सोमबार नै चुनाव हुनुपर्ने माग गरिरहेका छन् ।
मतदानअघि निर्वाचन समितिले आचार संहिता बनाउँदा संस्थापन र इतर पक्षबीच विवाद भएको थियो । दुई पक्षबीचमा इच्छाएको व्यक्ति, मतदान स्थलमा प्रतिनिधि राख्ने विषय, पहिलो मनोयन दर्ता गराएकाले पहिलो स्थान पाउनु पर्ने लगायतमा मत नमिल्दा विवाद बढेको थियो ।
कतिपय बुँदाहरुमा यसअघि नै सहमति भए पनि दुवै पक्षले विवाद झिकेपछि निर्वाचन स्थगित भएको हो । मतदानका लागि बिहानैदेखि जिल्लाभरबाट नेता तथा कार्यकर्ताहरु सदरमुकाम मलंगवा पुगेका थिए । घण्टौंसम्म लाइन बसेर मत हाल्न नपाएको भन्दै कार्यकर्ताहरु आक्रोसित बनेका छन् ।
जिल्ला सभापतिका लागि पूर्वजिल्ला सभापति लक्ष्मण राय र वर्तमान उपसभापति सुरेन्द्र सिंहबीच प्रतिस्पर्धा छ । राय शेखर कोइराला पक्षका हुन् भने सिंह संस्थापन पक्षबाट उम्मेदवार बनेका हुन् ।