
जनकपुरधाम- धनुषा प्रहरीले मानव बेचबिखन तथा ओसारपसार र अपहरण मुद्दामा सजाए तोकिए पछि फरार श्रीमान् श्रीमतिलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर-१३ बस्ने ४२ वर्षीय रामजी पासमान र उनका ३२ वर्षीया श्रीमती विभा पासवान रहेका छन् ।
मानव बेचबिखन तथा ओसारपसार र अपहरण मुद्दामा जिल्ला अदालत धनुषाको २०७७ माघ २२ गतेको फैसलाले रामजीलाई २२ वर्ष कैद र २ लाख ५० हजार जरिवाना र विभालाई १७ वर्ष कैद तथा १ लाख ५० हजार जरिवानाको फैसला सुनाइएको थियो।
अदालतको फैसलापश्चात् दुबै जना फरार रहेका थिए । प्रहरीले दुवैजनालाई मंगलबार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर-१३ बाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।
पक्राउ परेका दुवैजनालाई जिल्ला अदालतमा उपस्थित गराई अदालतको आदेशानुसार कारागार कार्यालय सुनसरीको झुम्का पठाइने डीएसपी बस्नेतले जानकारी दिए ।