जनकपुरधाम- आफ्नै साथीलाई गोली हानी हत्या गरेको आरोपमा धनुषा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
धनुषाको हँसपुर नगरपालिका-७ स्थित गहुँ खेतमा विजय रामको विभत्स तरिकाले हत्या गरिएको अवस्थामा बुधवार शव फेला परेको थियो ।
उक्त हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले २४ घण्टा भित्र नै सोही ठाउँ बस्ने २० वर्षीय मनोज महरालाई पक्राउ गरेको छ ।
धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले हत्यामा संलग्न अन्य दुईजना फरार रहेको जानकारी दिए । विजय रामको शव फेला परेको घटना बारे प्रहरीलाई जानकारी भए लगतैै अनुसन्धान सुरु गरिएको थियो । सो घटनामा महरा सहित तीनजनाको संलग्नता रहेको खुलेको डीएसपी बस्नेतले बताए ।
प्रहरी निरीक्षक बिक्रम साहको नेतृत्वमा खटेको अनुसन्धान टोलीले घटनाबारे सुक्ष्म अनुसन्धान र विभिन्न व्यक्तिहरुसँग सोधपुछ गर्दा विजय राम मंगलवार राति ८ बजे ३ जना साथीहरुसँग घर बाहिर घुम्न गएको खुलेको थियो ।
शंकाको आधारमा महरालाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा १९ वर्षीय पंकज मण्डल, २२ वर्षीय जितु मण्डल मिलेर विजयलाई गोली हानी हत्या गरेको खुलेको डीएसपी बस्नेतले बताए ।
उनीहरुले पुरानो रिसिबीको बदला लिने उद्देश्यले विजयको हत्या गरेको खुलेको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए ।
पक्राउ परेका मनोजमाथि ज्यानसम्बन्धी कसूर (कर्तव्य ज्यान) मुद्दामा म्याद थप गरि अनुसन्धान गरिरहेको र फरार रहेकाहरुको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।