जनकपुरधाम ।स्थानीय तह निर्वाचनका कार्यक्रम नजिकिँदै गर्दा राजनीतिक दल परित्याग गर्ने र अर्को दलमा प्रवेश गर्नेहरूको लर्को लागेको छ ।महोत्तरीको बलवा नगरपालिकाका जनता समाजवादी पार्टी(जसपा) नेपालका नगर अध्यक्ष रवीन्द्र यादवसहित नौजना नेकपा एमालेमा प्रवेश गरेका छन् ।
जनकपुरधामको होटल राजदरबारमा आइतबार आयोजित कार्यक्रममा रवीन्द्रसहित जसपाका अन्य स्थानीय नेतालाई नेकपा एमालेका सचिव रघुवीर महासेठले सदस्यता दिए । पार्टीका केन्द्रीय सदस्य सरोज यादवको अगुवाइमा जिल्लाका विभिन्न स्थानीय तहबाट अन्य दलका नेताकार्यकर्ताहरूलाई एमाले प्रवेश गराउने लहर चलेका बेला जसपासँग आबद्ध उनीहरू पुरानो पार्टी परित्याग गरी नयाँ पार्टीको सदस्यता ग्रहण गरेका हुन् ।



एमाले प्रवेश गर्ने अन्य नेताकार्यकर्तामा जसपाका जिल्ला कार्यसमिति सदस्यहरू सुरेशकुमार यादव र रामजनम महतो, जसपा बलवा नगर किसान संघका उपाध्यक्ष बजरंगी महतो, किसान संघकै नगर सदस्य विश्वनाथ यादव, रामहृदय यादव, लोहारपट्टी नगरपालिका वडा नम्बर १ मा जसपाका तर्फबाट अघिल्लो निर्वाचनमा वडाध्यक्ष प्रत्याशी र बलवा नगरपालिकाको युवा संघ सदस्य श्याम महतो छन् ।
एमाले केन्द्रीय सदस्य यादवले महोत्तरीमा पार्टी संगठन सुदृढ रहेको र अहिले थपिँदै गरेका सदस्यहरूले थप बलियो भई स्थानीय तह निर्वाचनमा अधिकांश ठाउँमा विजय प्राप्त हुने विश्वास व्यक्त गरे ।-प्रशोधक





