जनकपुरधाम - मधेश प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री मन्त्री भरतप्रसाद साहले अध्यादेश मार्फत् भएपनि प्रदेश प्रहरी भर्ना गर्ने बताएका छन् ।
मन्त्री साहले आज जनकपुरधाममा संचारकर्मीहरु संग कुराकानी गर्दै ३० वैशाखसम्म संघीय प्रहरी ऐन ल्याएर प्रहरी समायोजन गर्न संघीय सरकारलाई अल्टिमेटम दिएकाे बताए । उनले संघीय सरकारले ३० वैशाखसम्म प्रहरी समायोजन नगरे प्रदेश सरकारले अध्यादेश ल्याएर प्रहरी भर्ना प्रक्रिया अगाडि बढाउने जनाए ।
मन्त्री साहले भने, 'मधेश सरकारले तीनै तहको सरकारको सम्बन्ध सुमधुर होस्, संविधानले दिएको अधिकार सुनिश्चित होस् भन्ने अपेक्षा राखेको छ । संघीय सरकारले अबिलम्ब समायोजनको प्रक्रिया अगाडि बढाउने विश्वास रहे पनि अहिलेसम्म संघीय सरकार अनिच्छुक देखिएको छ।’ उनले भने, ‘संघ सरकारले ३० वैशाखसम्म समायोजन नगरे अध्यादेश ल्याएर भर्ना प्रक्रिया अगाडि बढाउँछौं ।’
यसअघि २९ चैतको प्रदेश सभाको बैठकमा बोल्दै मन्त्री साहले भनेका थिए, ‘धेरै होइन २-३ सय जति प्रहरी जवान भर्नाका लागि प्रस्ताव लग्छौं । देश द्वन्द्वमा जान्छ भने जाओस् प्रहरी भर्नाको सूचना निकाल्छौं ।’




