काठमाडौं- प्रेस काउन्सिल नेपालले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने सञ्चार माध्यमलाई स्पष्टीकरण सोध्दै पुनः त्यस्तो गल्ती नगर्न सचेत गराएको छ ।
बैशाख ३० मा हुने निर्वाचन नजिकीएसंगै मिडियाहरुले आचारसंहिता उल्लङ्घन गर्ने क्रम बढेको काउन्सिलले जानाएको छ । गत शनिबार जनकपुरमा आयोजित मिडिया अभिमुखीकरण कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राखेको धारणालाई तोडमोड गरी समाचार सम्प्रेषण गरेकोभन्दै काउन्सिलले इ–जनकपुर टुडे डट कमलाई आइतबार स्पष्टीकरण सोधेको छ ।
‘प्रमुख निर्वाचन आयुक्त नै चुनाव विरोधी अभियानमा’ शीर्षक राखी समाचार सम्प्रेषण गरेको थियो । प्रमुख आयुक्तले राख्नुभएको धारणालाई गलत अर्थ लाग्नेगरी समाचार बनाएकोमा २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न भनिएको काउन्सिल नेपालका उपप्रशाकीय अधिकृत रामशरण बोहराले बताए ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले ‘निर्धारित मितिमै निर्वाचन हुन्छ, निर्वाचन धकेलियो भने मुलुक दुर्घटनामा फस्न सक्छ’ भन्ने धारणा राखेका थिए । सो मिडियाले पेश गरेको स्पष्टीकरण चित्तबुझ्दो नभएमा कानूनअनुसार कारबाही गरिने काउन्सिल नेपालले जनाएको छ ।
त्यस्तै, काउन्सिलले दैनिकी डट कमलाई शुक्रबार एक पत्र लेखी आचारसंहिता उल्लङ्घन नगर्न निर्देश गरेको छ । काउन्सिल नेपालका अनुगमन अधिकृत सुरेन्द्र मल्लले सो मिडियालाई पत्र लेखी आचारसंहिता कार्यान्वयनप्रति सचेत गराएको हो ।‘लाज पचेकाहरुले गठबन्धन गर्ने भन्दै जनतालाई भेँडा नबन्न पशुपति शर्माको आग्रह’ शीर्षकको समाचार सो मिडियाले सम्प्रेषण गरेको थियो । त्यसैगरी प्रेस काउन्सिल नेपालले गत शुक्रबार हिमालय टेलिभिजनलाई पनि आचारसंहिता उल्लङ्घन नगर्न भन्दै सजग गराएको छ ।
अनुगमन अधिकृत मल्लका अनुसार सो मिडियालाई आचारसंहिता कार्यान्वयनमा सजग गराएको हो । सो टेलिभिजनले ‘ प्रधानमन्त्री देउवाका ज्योतिषीको भविष्यवाणी स्थानीय तह निर्वाचन सर्छ, देउवा झन् शक्तिशाली’ शीर्षकमा समाचार सम्प्रेषण गरेको थियो । पुनः त्यस्तो त्रुटी नगर्न नगराउन काउन्सिलले सचेत गराएको हो ।
त्यस्तै, सोही दिन शुक्रबार काउन्सिलले प्राइम टाइम्स टेलिभिजनलाई पनि आचारसंहिता उल्लङ्घन भएकोप्रति सचेत गराएको छ। सो टेलिभिजनले ‘स्थानीय तहको चुनाव नहुने, देउवाले लोकतन्त्र समाप्त पार्ने, ओली संकटमा पर्ने’ शीर्षकको समाचार सम्प्रेषण गरेको थियो । काउन्सिलका अनुगमन अधिकृत मल्लले सो टेलिभिजनलाई पत्र लेख्नुहुँदै आगामी दिनमा आचारसंहिता कार्यान्वयनमा सजग रहन निर्देशन दिए ।
सोहीअनुसार शुक्रबार नै काउन्सिल नेपालले सूत्र न्यूज डट कमलाई एक पत्र लेख्दै आचारसंहिता उल्लङ्घन नगर्न सचेत गराएको छ । सो मिडियाले ‘वैशाख ३० मा स्थानीय चुनाव हुँदैन, समय लाग्छः माधव नेपाल’ शीर्षकको समाचार सम्प्रेषण गरेको थियो । सो समाचारले काउन्सिलको ध्यानाकर्षण भएको र पुनः त्यस्तो त्रुटी नगर्न नगराउन सो मिडियालाई निर्देश गरिएको अनुगमन अधिकृत मल्ले जानकारी दिए ।
काउन्सिलले निर्वाचन आचारसंहिता कार्यान्वयनमा मिडिया सचेत हुनुपर्ने र निर्वाचनलाई सफल पार्न मिडियाले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ भन्ने सन्देश दिन आफूहरु निरन्तर अनगुमन गरिरहेको उपप्रशासकीय अधिकृत बोहराले बताए । उनका अनुसार प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता र निर्वाचन आचारसंहिता उल्लङ्घन गरे नगरेकोबारे नियमित मिडियाको अनुगमन गरिरहेको छ ।




