जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का अध्यक्ष महन्थ ठाकुरले मधेशी जनताको हक अधिकारको लागि लड्ने पार्टीलाई मतदान गर्न अपिल गरेका छन् ।
सोमबार लोसपाले जनकपुरधाममा आयोजना गरेको चुनावी सभामा अध्यक्ष ठाकुरले केही दलहरुको गठबन्धनलाई अपवित्र गठबन्धन बनाएर मधेशी जनतालाई भ्रममा राख्ने काम मात्र गरेकोले मधेशी जनताको हक अधिकारका लागि लड्ने पार्टीलाई पहिचान गरी मतदान गर्नुपर्ने बताए ।
मधेशी जनताको हक अधिकार अझै सुनिश्चित हुन नसकेको बताउँदै अध्यक्ष ठाकुरले स्थानीय तहमा विकासको लहर ल्याउने, शिक्षा, स्वास्थ्यको क्षेत्रमा इमन्दारीपूर्वक काम गर्ने व्यक्तिलाई जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा लोसपाले उम्मेदवार बनाएको दाबी गरे । कार्यक्रममा लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले विगतका मेयरलाई सुधार गर्न खोज्दा उनी पार्टी नै छोडेर अन्य पार्टीमा गएको बताए । यसै क्षेत्रको जनप्रतिनिधि रहेको हैसियतले यसको विकास निर्माणमा चासो राख्नु आफ्नो दायित्व रहेको बताउँदै वरिष्ठ नेता महतोले भने,‘ जनकपुरधामको विकासका लागि मैले धेरै काम गरेको छु ।
केही काम गर्न अझै बाँकी छ त्यसैले जो सुकै लडे पनि मलाई सम्झेर मतदान गर्नुहोला’ कार्यक्रममा लोसपाका अर्का वरिष्ठ नेता शरत सिंह भण्डारीले मधेशी जनताको हक अधिकारको लागि लोसपा मात्रै इमान्दार पार्टी रहेको बताए । कार्यक्रममा लोसपाका उम्मेदवार मनोज चौधरीले आफूले जनताको सेवा र जनकपुरधामको समुचित विकासका लागि उम्मेदवारी दिएको बताए ।
चुनावमा अहिले विभिन्न किसिममा हल्ला चलेका छन्,ठूला पुँजीपतिहरु उम्मेदवार भएका छन्, जनताको मत खरिद बिक्री गर्न उनीहरुका एजेण्टहरु गाउँगाउँ टोल घुमिरहेका छन्, तर उनीहरुबाट पैसा लिएर पनि मतदान तपाईको अधिकारको लागि लडने लोसपाको पक्षमा नै गर्नु होला ।’


