
काठमाण्डाै - काठमाण्डौको कोटेश्वरमा बिहानै जाम भएको छ । काेटेश्वर र जडीबुटी क्षेत्रमा गाडी र यात्रुको भिड छ। आउँदो शुक्रवार हुने पालिका चुनावको मतदानका लागि गाउँ घर जानेको सङ्ख्या बढेसँगै कोटेश्वरमा चाप बढेको हो।
सार्वजनिक गाडीमा यात्रुलाई सिट पाउनै मुस्किल छ । केही आफ्नै निजी गाडीमा जाँदै छन् भने केही गाडी रिजर्भ लिएर जाँदै छन् । यस्तै, केही मतदातालाई सम्बन्धित दल र उम्मेदवारले गाडी पठाएका छन् । कोटेश्वर–जडीबुटीबाट काभ्रे, सिन्धुपाल्चोक, दोलखा, सिन्धुली, रामेछाप लगायतका जिल्लाका गाडी छुट्छन् ।
मतदानको दिन नजिकिएसँगै मतदाताहरु घर फर्किने क्रम बढेसँगै बस छुट्ने ठाउँमा भिड बढेको हो । कोटेश्वरसँगै नयाँ बसपार्क, कलङ्की लगायत क्षेत्रमा पनि चाप बढेको छ ।
गएको २४ घण्टामा आठ हजार ७ सय ८९ गाडीमार्फत ५० हजार ९ सय ३० जना काठमाण्डौबाट बाहिरिएका छन् । यो अवधिमा ४१ हजार ४ सय ९ जना यात्रु काठमाण्डौ प्रवेश गरेका महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। - उज्यालो