
गौशाला । स्थानीय तह निर्वाचन आउन अबमात्र एकदिन बाँकी छ । मतदाताहरु भोली(शुक्रवार) बिहान सात बजेदेखि अपराह्न ५ बजेसम्म मतदान गर्न पाउने छन् ।
मंगलबार राति १२ बजेबाट मौन अवधि सुरु भइसकेको छ । उमेदवारहरुले चुनावी प्रचार बन्द गरिसकेका छन् । तर पनि मौन अवधीको बेला गाउँदेखि शहर बजारसम्म मतदाता रिझाउन उमेदवारहरु बिच मतदाता रिझाउन भोजभतेर र भोंटको खरिद बिक्री गर्न तछाडमछाड भइरहेको छ ।
उम्मेदवारले मतदाताहरुलाई प्रभावित पार्न जिल्लाभरी भोजभतेर गरिरहेका छन् । पार्टीको उमेदवार मात्र नभइ स्वतन्त्र उमेदवारहरु पनि यतिबेला उक्त कार्यमा लागेका छन् । आम जनताहरु पनि दिनैपिच्छे सित्तैमा मासुभात र दारु खान पाएकोले मख्ख परेका छन् । कतिपय उमेदवारहरुले त घरघरमै गएर भोजखान पैसा र एकदुई किलोको दरले माछा, मासु र दारु बाँडिरहेको श्रोतले जानकारी दिएको छ ।
मौन अवधि सुरु हुनु अगाडीदेखि नै उमेदवारहरु भोजभतेरका कार्यक्रम गर्दै आएका छन् । एउटा दलको उमेदवारले भोज गरेको भोलिपल्टै अर्को दलको उमेदवारले भोज गरेर मतदातालाई आफ्नो पक्षमा ल्याउन कोसिस गरिरहेका छन् ।
‘एउटा दलका उमेदवारले कुखुराको मासु खुवाउँदा अर्को दलका उम्मेदवार उनलाई उछिन्दै खसीको मासु खुवाउँछन्, गौशाला नगरपालिकाका एक स्थानीय बुद्धिजीवीले भने, ‘गाउँगाउँमा दैनिकजसो मासुभात र दारुको भोज चलिरहेको छ । भोजमा बच्चादेखि वृद्धवृद्धासम्म सहभागी हुने गरेको उनले बताए ।
स्थानीय प्रशासनले चुनाव सम्पन्न नहुन्जेल सम्म दारुको बिक्रीवितरणमा कडाइका साथ रोक लगाएको भएपनि सोको बेवास्ता गर्दै महोत्तरीका गाउँ–गाउँमा मात्र नभइ गौशाला, बर्दिबास, औरही, रामगोपाल पुर,जलेश्वर लगायतका शहरी क्षेत्रमा खुलेआम रक्सीको बिक्रीवितरण भइरहेको पाइएको छ ।
शहरी क्षेत्रदेखि गाउँ देहातसम्मका जनताहरुमा भोज खाएर तथा पैसा लिएर भोंट दिने प्रवृत्तिका कारण नै असल तथा विकासशिल जनप्रतिनिधि चुन्न नसकेको गौशाला नगरपालिकाकै अर्का एक बुद्धिजीवीले बताए ।
अहिलेका मतदाताहरु पनि खर्च गर्न नसक्नेका पछि लाग्दैनन् त्यसैले मतदाताहरुलाई नै फकाउन भोज गर्ने र पैसा बाँड्ने काम अहिले जिल्लाभर चलिरहेको छ ।