जनकपुरधाम- मौन अवधिमा स्थानीय चुनाव प्रभावित गर्नका लागि पैसा बाँडेको आरोपमा मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी पक्राउ परेका छन्।




अन्सारीले स्थानीय चुनावलाई लक्षित गरेर मुस्लिम समुदायका मानिसहरुलाई पैसा बाँडिरहेको सूचनाका आधारमा उनलाई रकम सहित नियन्त्रण लिएको स्थानीयले बताएका छन् ।
जनकपुरधामस्थित सीताशरण होटेलमा बसेर अन्सारीले पैसा बाँडिरहेको हल्लाखल्ला भएपछि जिल्ला प्रहरी कार्यलयका डीएसपी प्रदीपबहादुर क्षेत्रीको टोलीले होटेलबाट नियन्त्रण लिएका हुन् ।
अन्सारीलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय लैजाने बताए पनि उनलाइ प्रहरीले जनकपुर विमानस्थल लगेका छन् ।
उनलाई बिहीबार बिहान जनकपुरधामका उपमहानगरपालिका-७ स्थित सीतासरण होटलको कोठा नम्बर ३०५ बाट नियन्त्रणमा लिइएको हो ।

यस सन्दर्भमा धनुषाका प्रहरी प्रमुख एसपी बसन्त रजौरेले अन्सारीको साथबाट पैसा बरामद नभएको जानकारी दिए । उनले भने, ’पैसाको कुनै ब्याग भेटेको छैन। यो यो हल्ला गलत हो । त्यस्तो केही भेटिएको छैन।’
एसपी रजौरेले प्रहरीलाई कुनै संवैधानिक निकायका पदाधिकारीलाई चेकजाँच गर्ने अधिकार नरहेकोले उनलाई सुरक्षित साथ एयरपोर्ट पुर्याइएको जानकारी दिए ।

एसपी रजौरेको अनुसार अन्सारी भ्रमणको क्रममा होटल सीताशरणमा बसेको र बिना कारण एमालेका नेता कार्यकर्ताहरूले घेरेपछि प्रहरीले उनलाई सकुशल एयरपोर्टसम्म छोड्नका लागि सुरक्षा दिएको हो ।




