वर्दिवास - नेकपा माओवादीको ‘लालकिल्ला’ भनेर चिनिने महोत्तरीको बर्दिवास नगरपालिकामा यस पटक स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरुले किल्ला भत्काउँदै गएको अवस्था सृजना भएको छ।
बर्दिबास नगरपालिकाको १,२,३,७,८,१२,१३ र १४ गरी जम्मा ८ वटा वडाको मतणना सम्पन्न हुँदा ४ वटामा स्वतन्त्र उम्मेदवार वडाध्यक्षमा निर्वाचित भएका छन् भने अहिले सबै वडा मेयरका जेब्रा घोडा छापका स्वतन्त्र उम्मेदवार प्रहलाद क्षेत्रीले अग्रता बनाउँदै लगभग दोब्बर मतले अघि बढिरहेको छ ।
बर्दिबासमा ४४ हजार ४६० मतदाता रहेका छन जस्मध्ये ३१ हजार ६१७ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ। कुल मतबाट बर्दिबासमा ७१.११ प्रतिशत मत खसेको निर्वाचन अधिकृत भूपेन्द्र सापकोटाले जानकारी दिए।
अहिले सम्मको मतगणना अनुसार मेयरका उम्मेदवार प्रह्लाद क्षेत्री(स्वतन्त्र) उम्मेदवारले ७८३०, राजु खडका (माओवादी) ४०९५, टेकबहादुर बलम्पाकी (एमाले) २४८४ र उपमेयरका उम्मेदवार तारादेवी (स्वतन्त्र) ५२५२, कृष्णमाया गौतम(माओवादी) ३९१४ र दुर्गा दाहाल(एमाले) ३४८५ मत प्राप्त गरेका छन् ।
यसरी माओवादीको लालकिल्ला भत्काउने कामको नेतृत्व गरिरहेका मेयर पदका स्वतन्त्र उम्मेदवार क्षेत्री नेपाली कांग्रेसले टिकट नदिएपछि बागी उम्मेदवारी दिएका हुन्। निर्वाचित सबै स्वतन्त्र वडाध्यक्ष क्षेत्री कै समूहका हुन्।
यस अघिको स्थानीय तहको चुनावमा समेत काँग्रेसबाट उम्मेदवारी दिएका क्षेत्रीले त्यतिबेला माओवादीको उम्मेदवार बिदुर कार्की संग थोरै मतले पराजित भएका थिए ।
नेपाली कांग्रेसले मेयर पदको टिकट क्षेत्रीलाई नदिएपछि पार्टी छाडेर उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
कांग्रेसबाट मेयरको टिकट ल्याएर उम्मेदवारीको तयारी गरिरहेको बेला काँग्रेसबाट नै चिरञ्जीवी हमालले पनि मेयरको टिकट ल्याएपछि वर्दिवासको काँग्रेस पार्टी भित्र विवाद सृजना भएको थियो । पछि काँग्रेसले आधिकारीक उम्मेदवार हमाललाई नै बनाए पछि क्षेत्री सहित उनका समर्थकहरुले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए । क्षेत्रलाई समर्थन गर्न काँग्रेसका वर्दिवास नगरसमितिका अधिकांशले पार्टी परित्यागको घोषणा गरेका थिए । अहिले जारी मतगणना परिणाममा काँग्रेसका आधिकारीक उम्मेदवार हमाल चौथो नम्बरमा छन्। उनको जमानत जफत हुने सम्भावना बढेको छ।
यो पालिकामा यसअघि नेकपा माओवादी केन्द्रले प्रमुख, उपप्रमुख र अधिकांश वडा जितेको थियो। यो पालिका नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलको गृहनगर तथा क्षेत्र हो।
पछिल्ला तीन निर्वाचनमा माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेल बर्दिवास समेटिएको निर्वाचन क्षेत्रबाट लगातार जीत हात पार्दै आएका छन् ।
यसरी माओवादीको गढ मानिएको वर्दिवासमा माओवादीको बलियो संगठन र जनाधार, विगतको प्रतिबद्धता पूरा गरेको दाबि, नेपाली कांग्रेसका तर्फबाट बागी उम्मेदवार रहेको तथा विगतमा तेस्रो स्थानमा रहेको एमाले विभाजन भएकाले पनि आफूहरूले सहज चुनाव जित्न सक्ने आंकलन गरेका माओवादी यसपटक पनि सजिलै चुनाव जित्ने सोच गलत साबित हुँदैछ ।
कांग्रेसबाट विद्रोह गरी वर्दिवास मेयरमा स्वतन्त्र उठेका प्रहलाद क्षेत्रीले बटुलिरहेको मतले सबैको ध्यान खिचेको छ।
हालसम्मको गणनामा क्षेत्री सबै वडामा फराकिलो मतान्तरले सुरूदेखि नै अग्रता कायम राखेका छन्।
उनले गणना सम्पन्न भएका वडामा माओवादी र एमालेको संगठन भएर त्यति मत आएको बताउँदै अब बाँकी रहेका वडाहरुबाट अझ आफूलाई बढि मत आउने अनुमान क्षेत्रीले गरेका छन् ।
क्षेत्रीले भनेझैं अन्य वडामा पनि उनैले अग्रता बनाइराख्ने अनुमान यहाँका बुद्धिजिवीहरुको छ । गत निर्वाचनमा हार व्यहोरेपछि क्षेत्रीले त्यहि बेला देखि नै आफूले तयारीमा लागेको बताए । उनले पाँच वर्षअघिदेखि नै टोल टोल गएर जनता समक्ष पुगेको बताए । आफूले त्यही बेलादेखि काम गरेरै आफ्ना लागि भोट मागि रहेको उनी बताउँछन्। टोल टोलमा गएर जनताको बाटो घाटो , खानेपानी, विजुली लगायतको समस्या व्यक्ति तबर बाट पनि समाधान गर्दै आएको बताउँछन्।
त्यसैले होला क्षेत्रीको स्वच्छ छवि र स्पष्ट कुरा राख्ने शैली मतदाताले मन पराएका छन्। महोत्तरीका वरिष्ठ पत्रकार वर्दिवासका स्थानीय गोपाल बरालले यस पटक क्षेत्रीको घोडा(जेब्रा छाप)को दौडले जित सुनिश्चित गरेको छ। उनले भने, ‘क्षेत्रीले हाल सम्मको मतगणनामा अन्य उम्मेदवारको तुलनामा आफ्नो अग्रता प्रत्येक वडामा कायम राखेका छन् । यसरी मुल्यांकन गर्दा मतगणना हुन बाँकी रहेको स्थानहरुमा पनि क्षेत्री कै अग्रता रहेको स्पष्ट हुन्छ।’
एक मतदाताका अनुसार बिगतका दिनमा हामीले कामगर्न जिताएका राजनितिक दलका नेताहरुले मिठा मिठा सपना देखाएर जनतालाई झुक्याए ,त्यसैले अब कामगर्ने मान्छे चाहिएकोले जेब्रा घोडा छापका स्वतन्त्र उम्मेदवार क्षेत्रीलाई रोजेको हौ ।
क्षेत्रीले भने, ‘अरु उम्मेदवारले चुनाव ताका भोट माग्ने गर्छन् भने मैले त विगत ५ वर्ष देखि भोट मागिरहेको छु । जनताको सेवा गरिरहेको छु। मेरो कुरा जनताको रुझानले पनि साबित गरिरहेको छ। यहाँ मेरो कोही प्रतिद्वन्द्वी छैन।’
केही दिनअघिसम्म क्षेत्रीले चुनाव जित्ला भन्ने धेरैले आकलन नै गरेका थिएनन्। तर अन्तिम समयमा उनको पक्षमा माहोल देखेपछि वर्दिवासमा माओवादीको विकल्प खोजि रहेका जनताहरु चाहे त्यो जुन पार्टीको भएपनि वा स्वतन्त्र व्यक्तिहरूले पनि उनैलाई भोट दिने पक्षमा लागेको देखिन्छ।
क्षेत्रीले आफूले चुनाव जितेपछि आउने आर्थिक वर्षको बजेट बनाउने पहिलो काम गर्ने बताए ।
उनले भने, ‘विशेषज्ञ र स्थानीय जानकारहरू संग छलफल गरेर कस्तो बजेट र योजना ल्याउने खाका तयार गर्छु । मेरो भिजन अनुसार डिपिआर तयार गर्छु। त्यसैअनुसार बजेट बनाउँछु। धेरै महत्वाकांक्षी योजना र पुरा गर्नै नसकिने किसिमको बजेट पहिलो वर्षमा नबनाएर वर्षभरिमा सम्पन्न गर्न सकिने मात्र योजना बनाउँछु, त्यसैगरी वर्षभरि काम गर्छु।’
उनले फोहोर व्यवस्थापन गर्न स्यानिटरी ल्यान्डफिल साइट, कृषि, शिक्षा र स्वास्थ्य सम्बन्धी कानुन बनाउने, धार्मिक र पर्यटन नगरीका रूपमा विकास गर्ने कामलाई प्राथमिकतामा राखेर काम गर्ने बताए ।