जनकपुरधाम- मंगलवार देखि अनिश्चित समयका लागि स्थगित गरिएको धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको मतगणना कार्य अझ सुचारु हुन सकेको छैन ।
दलका प्रतिनिधिहरुले मतगणनाको विषयमा विवाद सिर्जना गरेकोले सूचना जारी गर्दै मंगलवार दिउँसो देखि मतगणना कार्य स्थगित गरिएको निर्वाचन अधिकृत विकास बस्नेतले बताए ।



वैशाख ३० गते भएको स्थानीय तह निर्वाचन अन्तर्गत वडा नम्बर-५ को क्षिरेश्वर मावि (ङ) मतदान केन्द्रको मतगणना कार्य भईरहेको अवस्थामा दलका प्रतिनिधिहरुले सो विषयमा विवाद सिर्जना गरेकोले सहज ढंगले मतगणना कार्य अगाडि वढाउन सकिने अवस्था नभएको हुँदा अर्को सूचना प्रकाशन नभएसम्मका लागि मतगणना कार्य स्थगित गरिएको जनाएको छ।
निर्वाचन अधिकृत बस्नेतले अहिले धनुषाको प्रमुख जिल्ला अधिकारी र मुख्य निर्वाचन अधिकृत संग छलफलको लागि जनकपुरधाम रहेको तथा उहाँहरुको छलफल पश्चात आएको निष्कर्ष सहित क्षीरेश्वरनाथमा सर्वदलिय बैठक बसी मतगणना सुरु गर्ने वातावरण मिलाई रहेको बताए।
क्षीरेश्वनाथ नगरपालिकाको निर्वाचन अधिकृत विकास बस्नेतले दुबै पक्षलाई छलफलसँग छलफलको वातावरण बनाईरहेको बताएका छ्न । उनले दुबै पक्षलाई छलफलमा राखी सहमतिमा कानून अनुसार गरिने बताए ।
यस नगरपालिकामा कांग्रेसबाट निवर्तमान मेयर योगेन्द्र पजियार, एमालेबाट सुखदेब यादव र एकीकृत समाजवादीबाट शिवशंकर प्रसाद सिंह उम्मेदवार छन्।
निवर्तमान मेयर पजियार र सुकदेव यादव बीच कडा प्रतिस्पर्धा चलिरहेको छ। पछिल्लो समय यादवले अग्रता लिएका छन्। पजियार कांग्रेसका जिल्ला सभापति समेत हुन्।
यस्तो छ विवादको कारण
क्षीरेश्वरनाथ नगरपालिका ५ को क्षीरेश्वर जनता उच्च मा.वि. (ङ)मतदान केन्द्रको मतगणना पुनः गर्नुपर्ने माग गर्दै एमाले माग गर्दै आन्दोलित भएका छ्न । उनिहरुले अफ्नो उम्मेदवार १ मतले विजयी भएपनी निर्वाचन अधिकृतले पक्षपात गरेर काँग्रेसका उम्मेदवारलाई २ मतले जिताउन खोजेको आरोप लगाएका छन् । उनिहरुको अनुसार एमालेको उम्मेदवार १ मतले विजायी भएको घोषणा गरिनुपर्ने वा उक्त मतदान केन्द्रको मतगणना पुनः गरिनुपर्ने माग राखेका छन् ।
यता कांग्रेसले मतगणना निस्पक्ष भएको र हाम्रो उम्मेदवार विजयी घोषित हुनुपर्ने अडान राखेको छ । यसै दुईपक्षीय अडानको कारण मतगणनास्थल तनावग्रस्त बनेको छ ।
एमालेका नेता वडा नं.५ को उम्मेदवार राजनारायण प्रसाद गुप्ता(राजु) ले भने,-‘ठिक छ काँग्रेसले नै जितेपनी विवाद भएको ठाउँबाट पुनः मतगणना गरिनुपर्ने हाम्रो माग छ, हामीलाई चित्त बुझाउनु निर्वाचन आयोगको दायित्व पनि हो त्यसैले मतगणना एकपटक फेरि हुनुपर्छ ।’
त्यस्तै कांग्रेसका वडा नं.५ का उम्मेदवार जीवछ मण्डलले भने,-‘हामी कानुन बमोजिम निर्वाचन आयोगले भनेको मान्न तयार छौं हाम्रो कुनै अडान छैन नियमनुसार आयोगको निणर्यको प्रतीक्षामा छौं।’




