
औरही - महोत्तरीको बर्दिवास नगरपालिकामा स्वतन्त्रबाट निर्वाचित भएर पदभार ग्रहण गरेका प्रह्लाद क्षेत्रीले निवर्तमान प्रमुख चढ्ने सवारी साधन एम्बुलेन्सको रुपमा प्रयोग गर्ने , सुत्केरी भत्तामा नगरको तर्फबाट थप रकम दिइने र विपन्नका लागि निःशुल्क स्वास्थ्य वीमा गर्ने पहिलो निर्णय गरेका छन्।
बर्दिवास नगरपालिका प्रमुखमा निर्वाचित हुनु अगावै प्रमुख क्षेत्रीले जितेपछि नगरपालिकाबाट कुनै सवारी सुविधा नलिने घोषणा गरेका थिए र उनले उक्त घोषणालाई निरन्तरता दिने बताए । बर्दिवास नगरपालिकाभित्र बसोवास गर्ने आमा र बच्चा दुवैको स्वास्थ्यलाई मध्येनजर गरि अझै प्रभावकारी बनाउन नगरपालिकाबाट थप एक हजार रूपियाँ उपलब्ध गराउने निर्णय गरिएको नगर प्रमुख क्षेत्रीले जनाए ।
स्थानीय स्वास्थ्य संस्थामा प्रसुती गराउन नसकी थप उपचारका लागि अन्यत्र पठाउनुपर्ने भएमा रिफर गरिएको स्वास्थ्य संस्थासम्म जान निःशुल्क एम्बुलेन्स सेवा उपलब्घ गराउने र वडाबाट सिफारिस भएर आएको गरिव र विपन्न नगर क्षेत्रभित्रका नागरिकलाई निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था मिलाउने निर्णय गरिएको उनले बताए।
जनताको स्वास्थ्य सबभन्दा पहिलो आवश्यकता रहेकोले नगर प्रमुखको जिम्मेवारी लिए लगतै प्रमुख क्षेत्रीले स्वास्थ्य केन्द्रित लोकप्रिय निर्णय ल्याएकोमा बर्दिवास नगरवासी खुशी छन्। नगरप्रमुख क्षेत्रीले गरेको पहिलो निर्णय नै स्वागतयोग्य रहेको स्थानीयको भनाइ छ ।






