सर्लाही – गएको बुधबार राती सर्लाहीको दक्षिण–पश्चिम भेगस्थित बलरा नगरपालिका–१, छन्की टोलका सञ्जय पटेलको घरमा अचानक आगलागी भयो ।
आगलागी सुरु हुनासाथ स्थानीयले ३० किलोमिटर टाढा पर्ने सदरमुकाम मलंगवा नगरपालिकाको दमकल मगाउने प्रयास गरे । तर, दमकल बिग्रिएर थन्किएको थियो ।



दमकल नआउने भएपछि गाउँलेले बाल्टिनले पानी खन्याएर आगो निभाउने प्रयास गरेपनि असफल भए । घर पूर्णरुपमा जलेर नष्ट भयो । यो एउटा प्रतिनिधिमूलक घटना हो ।
सर्लाहीमा यसरी अधिकांश आगलागी भएका स्थानमा दमकल पुग्दैनन् । जिल्लाका २० पालिकामध्ये दक्षिणी भेगमा सदरमुकाम मलंगवा नगरपालिका र उत्तरी भेगमा हरिवन नगरपालिकासँग मात्रै दमकल छ ।
सदरमुकाम मलंगवा नगरपालिकाको दमकल अधिकांश समय बिग्रिएर थन्किएको हुन्छ । “जिल्लाभर दौडिनुपर्दा पुरानो दमकल बिग्रिहाल्छ, बनाउँदाको सास्ती छ,”, मलंगवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदीले भने“ जहाँ जाँदा बिग्रिएर पनि मर्मतको खर्च भने नगरपालिकाको मात्रै हुन्छ, कुनै पनि पालिकाले सहयोग गर्दैनन् ।”
दमकल सञ्चालन गर्न अत्यन्तै चूनौति रहेको सुवेदीले सुनाए । सदरमुकाम मलंगवा नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख नागेन्द्र यादवले केही साता बिग्रिएर थन्किएको दमकल सदरमुकाम मलंगवामै सामग्री मगाएर मर्मत गरी सञ्चालनमा ल्याइएको जानकारी गराएका छन् ।
मलङ्गवाको दुईवटा दमकलमध्ये एउटा दमकल वर्षौदेखि थन्काएर राखिएको छ । नगरप्रमुख यादवले दुवै दमकललाई सञ्चालनमा ल्याउने आफ्नो योजना रहेको बताए ।
हरिवन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानले अन्य पालिका र जिल्लाबाहिर समेत दमकल पठाउनुपर्ने भएपनि मर्मतको खर्च भने आफूहरुले मात्रै कर्मचारीको पारिश्रमिक, इन्धन खर्च र मर्मत सम्भार गर्नुपर्ने बाध्यता रहेकाले समस्या परिरहेको बताए । “अरु पालिकाहरुले सहयोग नगरे एउटा पालिकाले मात्रै दमकल सञ्चालनको खर्च धान्न सक्ने अवस्था छैन्, दमकल सञ्चालनबारे नीति नै बनाउन जरुरी छ,” प्रमुख प्रशासकीय अधिकृत प्रधानले भने ।
आफू रौतहटको गौर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत भएर बस्दा जुन पालिकामा आगलागी भएर दमकल गएको हुन्छ, सो पालिकासँग १० हजार रुपियाँ लिने गरेको सम्झना गर्छन । यहाँ पनि यस्तै प्रकारको नीति नबनाए सञ्चालनमा रहेका दमकल बन्द हुने अवस्था आउने बताए ।
सर्लाहीका प्रहरी उपरीक्षक प्रवीण पोखरेलले जिल्लाका अधिकांश ठाउँमा डोलले पानी हालेरै आगो निभाउनुपर्ने अवस्था रहेको बताए । “दमकलको समस्याले धेरै ठाउँमा डोलले पानी हालेर आगो निभाउनुपर्ने बाध्यता छ, त्यसले गर्दा क्षति पनि धेरै नै भइरहेको छ,” प्रहरी उपरीक्षक पोखरेलले भने ।
जिल्लाका स्थानीय पालिकाहरुले दमकल खरिदलाई प्राथमिकता नराखेको भन्दै स्थानीयले गुनासो गर्दै आइरहेका छन् ।




