
दिवेश कुमार महतो/ ढल्केबर
धनुषाको मिथिला नगरपालिकाले यौनिक अल्पसंख्यकहरुलाई सम्मान गरेको छ ।
नगरपालिकाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले ढल्केवरमा एक कार्यक्रमको आयोजना गरि यौनिक अल्पसंख्यकहरुलाई सम्मान गरेको महिला विकास निरिक्षक भगवति गजुरेलले बताईन् ।

यसरी सम्मान पाउने यौनिक अल्पसंख्यकहरूमा निल हिरा समाज जनकपुरधाम का मुस्कान शर्मा, जुनु चौधरी, मालती महासेठ, जसोधा राई ,ममता याख, शान्ति यादव, छोटु साह (सत्यनारायण) र प्रदिप यादव रहेका छन् ।
यौनिक अल्पसंख्यकहरुको लागि पहिलो पटक मिथिला नगरपालिकाले आयोजना गरेको कार्यक्रममा नगर उपप्रमुख सुनिता सिंह बुढाथोकीले आफूपनि यस्तो किसिमको कार्यक्रममा पहिलो पटक सहभागी भएको बताईन् ।
उपप्रमुख बुढाथोकीले समाजमा पुरुष र महिला बाहेक तेस्रो लिङ्गी पनि रहेको हुँदा उनिहरुको पनि जिवन सहज बनाउनको लागि यस्ता किसिमको कार्यक्रमहरुको आयोजना हुनु पर्ने बताईन् । उनले तेश्रो लिंगीहरुलाई सामान्य जिवन यापनको लागि नगरपालिकाको तर्फबाट विभिन्न शिप मुलुक र रोजगार मुलक कार्यक्रमहरु ल्याउने बताईन् ।

कार्यक्रममा निल हिरा समाज जनकपुरधामका संयोजक प्रदिप यादवले यौनिक अल्पसंख्यक समाजमा अपहेलित भएर बस्नु परेकोले उनिहरुको मानव अधिकार रक्षाको लागि राज्यले विशेष पहल गर्नुपर्ने बताए। उनले यौनिक अल्पसंख्यकहरुलाई राज्यले उनिहरुले रोजेको लिंग अनुसारलाई आफ्नो पहिचान सहितको नागरीकता प्रदान गर्नु पर्ने बताए ।