जनकपुर - मधेश प्रदेश सरकारले स्थापना गरेको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आर्थिक वर्ष २०७९/८० मा दुईवटा छुट्टाछुट्टै शीर्षकबाट बजेट विनियोजन गरिएको छ । उच्चस्रोतहरुका अनुसार अर्थ मन्त्रालयले आगामी बजेटमा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको नाममा र प्रादेशिक अस्पताल जनकपुरधामको नाममा बजेट विनियोजन गरेको छ । प्रदेश सरकारले कानून बनाएर नै प्रादेशिक अस्पताल जनकपुरधामलाई मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई हस्तान्तरण गरिसकेको छ ।त्यहाँ सामान्य रोगीले कपास, गज लगायतका उपचार सामग्री स्वयंले खरिद गर्नुपर्ने बाध्यता छ ।
अस्पतालको प्रमुख प्रतिष्ठानका रजिष्टार डा.विनोद यादव रहेका छन् ।अर्थ मन्त्रालयले अस्पतालको नाममा र प्रतिष्ठानको नाममा छुट्टाछुट्टै बजेट विनियोजन गरेको छ ।मधेश प्रदेशको राजधानी जनकपुरधाममा अब प्रादेशिक अस्पताल अस्तित्वमा छैन् । प्रदेश भरिका जिल्ला अस्पतालहरुलाई सरकारले प्रादेशिक अस्पतालमा स्तरोन्नति गरिसकेको छ ।अर्थ मन्त्रालयले एउटै संस्थालाई फरक–फरक शीर्षकबाट बजेट विनियोजन गर्नु रहस्यमय रहेको छ ।
स्वास्थ्य विज्ञान प्रतिष्ठान भ्रष्टाचार गर्ने थलो भएको आरोप लागिरहेको बेला मन्त्रालयले हुँदै नभएको संस्थाको नाममा बजेट विनियोजन गर्नुलाई शंकास्पद मानिएको छ । असार १ गते बजेट भाषण भएदेखि स्थगन रहेको प्रदेश सभाको बैठक सोमवार बस्दैछ ।बैठकमा सभासदहरुलाई प्रदेशको बजेट पुस्तिका(रेडबुक) उपलब्ध गराइने बताइएको छ ।




