जनकपुरधाम- निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव एकै चरणमा मंसिर २ गते गर्ने तयारी गरेको छ ।
आयोगले प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनको मिति बुधवार सरकार समक्ष प्रस्ताव गर्ने बताइएको छ ।आयोगका प्रमुख आयुक्त दिनेश थपलिया लगायतका टोलीले प्रधानमन्त्री शेरबहादुर देउवासित भेटेर निर्वाचनको मिति प्रस्ताव गर्नेछ ।
आयुक्तहरुबीच मंगलवार सम्भावित मितिबारे छलफल भएको एकजना आयुक्तले बताए । कात्र्तिक ३० गते र मंसिर २ को मिति छलफलको क्रममा आए पनि मंसिर २ गते शुक्रवारका दिन एकै चरणमा चुनाव गराउने उपयुक्त हुने ठहर छलफलमा भएको छ।
मंसिर २२ गते प्रतिनिधि र प्रदेश सभाको म्याद सकिने छ ।संविधान अनुसार त्यस अगावै चुनाव गर्नुपर्ने भएकाले मंसिर २ गते चुनावको मिति घोषणा गर्न आयोगले सरकार समक्ष सिफारिस गर्न लागेको बताइएको छ ।
मंसिर २ गते चुनाव घोषणा भए दशैं तिहारको बीचमा मनोनयन दर्ता गर्ने लगायतको कार्यक्रम हुनेछ ।तर आयोगले कात्र्तिक ३० गते पनि चुनावका लागि प्रस्ताव गर्न सकिने संभावना छ ।




