महोत्तरी- महोत्तरीको औरही नगरपालिका ६ वैरियामा चोरीको आरोपमा एक परिवारको आमा र छोरालाई स्थानीय केहि व्यक्तिहरुले चरम यातना दिएको घटना सार्वजनिक भएको छ।
ती आमा छोरालाई रस्सीले हात बाँधेर, घिसार्दै र कुटपिट गर्दै सोहि गाउँको आरोपी मध्येको एकको घरमा लगेर तिन घन्टा जति बन्धक नै बनाएर राखेको अवस्थामा प्रहरीले असार २४ गते उद्धार गरेका थिए।
इलाका प्रहरी कार्यालय रामगोपालपुरले घटना बारे जानकारी पाए लगतै घटना स्थल मै गएर आमा छोरालाई उद्धार गराएको इन्चार्ज सई आदित्य सिंह जानकारी दिनुभयो । तर पिडित पक्षबाट तत्कालै जाहेरी दिन नसक्दा तथा घटना स्थलको सत्यता प्रहरीसमक्ष पुग्न नसक्दा आरोपी तत्काल छुटेका छन् भने पिडित न्यायको लागि भौतारिदैछन् ।
यस्तो थियो घटना ः
गत साता औरही नगरपालिका ६ बैरियाका सिता शरण दास (तत्मा) को मोटरसाईकल घरबाटै चोरी भएकोमा उनले प्रहरीमा मोटरसाईकल चोरी भएको निवेदन दिएका थिए। सोहि अनुरूप प्रहरीले उनको मोटरसाईकल खोज्दै पनि थिए। तर असार २४ गते अचानक उनी एक हुल मानिस लिएर सोहि ठाउ निवासी राजेन्द्र मल्लिक (डोम) को घरमा आईपुगे । घरमा कोहि नभएको देखेपछि उनले खोज्न थाले र घर भन्दा करिव पचास मिटर अगाडी एक सार्वजनिक दलानमा बाँसको काम गर्दै गरेकि राजेन्द्रका श्रीमति ४० वर्षीया अनिता देवी, साईली बुहारी २० वर्षीया निर्मला देवी र कान्छो छोरा १७ वर्षीय शुशिल मल्लिकलाई भेटेपछि उक्त हुलले उनीहरुमाथि निर्घात कुटपिट गर्नुको साथै घिसार्दै र मोटो रस्सीले हात बाँध्दै सिता शरणको घरमा ल्याएर बन्धक बनाएर राखे ।
प्रत्यक्षदर्शीहरुका अनुसार उनि आफ्नो चोरी भएको मोटरसाईकल कहाँ राखेको भनेर बन्धक बनाइएका आमा छोरालाई यातना दिंदै सोधिखोजी गरेको हो ।
पीडित आमा छोराले आफुहरुलाई चोरी बारे केहि थाहा नभएको भन्दै स्थानियहरुलाई बचाईदिन गुहार मागे पनि कसैले सहयोग नगरेको बताए ।
पीडित परिवारका राजेन्द्र मल्लिकले आफू जातिको सभामा भाग लिन गएका बेला आफ्नो परिवारलाई सिता शरणले बन्धक बनाएर राखेको खवर पाएपछि सभाबाटै जातिका अगुवाहरु सहित इप्रका रामगोपालपुर पुगेर प्रहरीलाई साथै लगेर श्रीमति, छोरा, बुहारीलाई उद्धार गर्न सफल भएको बताए ।
यस सम्बन्धमा इप्रका रामगोपालपुरका इन्चार्ज सई आदित्य सिंहले मोटरसाईकल चोरी विषयमा शंका कै भरमा कुटपिट गरेको बुझ्नमा आए पछि तत्काल प्रहरी टोली गएर उद्धार गरि ल्याएको बताए ।
सई सिंहले पीडित पक्षबाट त्यस्तो किसिमको कुनै उजुरी नआएको हुँदा आवश्यक कानुनी कारवाहीमाको प्रक्रिया अगाडि बढाउन नसकेको यद्यपी दुबै पक्षलाई बोलाएर घटना बारे सोधपुछ गर्ने प्रयासमा रहेको बताए ।
उनले शंकाकै भरमा आफै कानुन हातमा लिएर कसैलाई कुटपिट गर्नु उचित नभएकाले जाहेरी आए त्यस्ता कुटपिट गरि यातना दिंदै मानवअधिकार उल्घंन गर्नेलाई कारबाही गरिने जनाए ।
छोरासंगै आरोपीको कुटाई खाई बन्धकमा परेकि आमा अनिताले भनिन्, ‘सिता शरणले आफुहरुमाथि ठुलो अन्याय गर्दै आफ्नो समाजमा रहेको मान प्रतिष्ठा समेत बरवाद गरे। हामीहरुले कसैको कुनै सामान चोरी नगरेको भएपनि आरोपीले मैले धामीलाई मोटरसाईकल चोरी वारे सोधेकोमा धामीले तिमीहरुको नाम बताएकोले तत्कालै मेरो मोटरसाइकल फिर्ता गर भन्दै कुटपिट गरे। बाँधेर जबरजस्ती चोरी स्वीकार गर्न दबाब दिए । हामी माथि ठूलो अन्याय भयो ।’
अनिताले कुटपिटबाट घाइते भएर गौशाला स्थित अस्पताल गएर उपचार गराएको बताईन् । उनले प्रश्न गरिन्, ‘के गरिव हुनु नै चोर हुनुको प्रमाण हो ?’ उनले न्यायको लागि गुहार मागेकि छिन् ।
यस घटना सम्बन्धमा मानव अधिकार रक्षक संजाल महोत्तरीका टिम असार २५ गते घटना स्थलमा पुगेर पीडित परिवार संग जानकारी लिएका छन् ।
संजालका सचिव तथा ओरेक महोत्तरी कि कार्यक्रम अधिकृत लिला दियालीले महिला र उनका छोरा , बुहारीसंग भएको घटना अमानविय भएको भन्दै दोषिलाई तत्काल कारबाहीको लागि माग गरेकी छिन् ।
उनले कुनै पनि बहानामा कुनै मानवसंग यस्तो हर्कत गर्नेलाई कडा भन्दा कडा सजाय हुनु पर्ने बताईन। उनले पिडितलाई न्यायको लागि चाहिने सहयोग गर्न संजाल र ओरेक महोत्तरी सदैव तयार रहेको बताउदै घटनामा भएको मानव अधिकार उल्लंघन क्षमा योग्य नभएको बताईन ।
घटनाकाे भिडियो हेर्नुहोस् ।




