कास्की — गण्डकी प्रदेशका मुख्यमन्त्री, मन्त्री र नेताका बुबाआमाका स्मृतिमा स्थापित कोषलाई छुट्याइएको बजेट चौतर्फी आलोचनापछि फिर्ता हुने भएको छ । स्मृति कोष, पार्क लगायतमा छुट्याइएको बजेट ‘आम नागरिकको भावनालाई कदर गर्दै’ प्रदेशको प्राथमिकता क्षेत्रमा खर्च गर्ने व्यवस्था मिलाउन मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको जनाइएको छ ।
आर्थिक आर्थिक वर्षको बजेटमा मुख्यमन्त्री पोखरेलका बुबा गोवर्द्धन शर्माको स्मृतिमा तनहुँको व्यास नगरपालिका–१० मा स्थापित कोषलाई ५० लाख छुट्याइएको थियो । यस्तै शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठका बुबाआमाका नाममा खोलिएको पुननारायण–धनकुमारी श्रेष्ठ परोपकारी कोषमा ५० लाख रुपैयाँ छुट्याइएको थियो । मन्त्री श्रेष्ठले सोही कोषको भवन निर्माणका लागि भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयबाट कार्यान्वयन गर्ने गरी थप ५० लाख रुपैयाँ विनियोजन गरेका छन् ।
असार १ मा प्रस्तुत बजेटमा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम नसमेटिएपछि अर्थमन्त्री रामजीप्रसाद बराललाई शिक्षामन्त्री श्रेष्ठले धम्क्याएका थिए । निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम कटाएकामा अर्थमन्त्री बरालसँग मुख्यमन्त्री, अन्य मन्त्री, सत्तारूढ तथा प्रतिपक्ष दलका सांसद रुष्ट बनेका थिए । आफूले भनेका योजना नपारेको भन्दै मन्त्रीहरूको थप असन्तुष्टि थियो । विवाद चुलिएर गठबन्धनका शीर्ष नेतासम्म पुग्यो । बजेट पेस भएको २० दिनसम्म संसद् नचलेपछि प्रतिपक्षले पनि मुख्यमन्त्रीको राजीनामा माग्न थाल्यो । त्यसपछि दबाबमा परेका मुख्यमन्त्री र मन्त्रीहरूले २८ करोड ४ लाखका योजना थप्ने सहमति गरे । त्यही बेला मन्त्री र विभिन्न पार्टीका नेताका नाममा बजेट छुट्याइएको हो । गोवर्द्धन शर्मा स्मृति कोषका लागि भने पहिले नै बजेट विनियोजन गरिएको थियो ।
प्रदेश सरकारले कुश्मा नगरपालिकामा कांग्रेस नेता अर्जुन जोशीका पिता अमृत जोशीको स्मृति पार्कका लागि २० लाख रुपैयाँ छुट्याएको छ । कुश्मा नगरपालिकाकै पूर्वउपप्रमुख सीता काफ्ले लामिछानेका दिवंगत पति डिल्लीराम लामिछाने स्मृति प्रतिष्ठानको भवन निर्माणका लागि २० लाख रुपैयाँ विनियोजन गरिएको छ । सामाजिक विकास मन्त्रालयबाट कार्यान्वयन हुने गरी म्याग्दीको बेनी नगरपालिका–७ स्थित सहिद मदन केसी स्मृति भवन निर्माण गर्न १२ लाख रुपैयाँ छुट्याएको छ । सांसद विनोद केसीले सहोदर दाइका नाममा उक्त बजेट विनियोजन गराएका हुन् ।
बागलुङकी सांसद पियारी थापाले काठेखोला गाउँपालिका–४ मा रहेको जिमाक सांस्कृतिक संग्रहालयका लागि ६० लाख रुपैयाँ छुट्याएकी छन् । उक्त संग्रहालय गाउँमैत्री अक्षय कोषले बनाउँदै गरेको हो । कोष भने थापा र जनवादी कलाकार हेमराज पुनको विवाहका सन्दर्भमा ०६६ मा १० हजारबाट स्थापना गरिएको थियो । थापा कोषको संरक्षक र पुन अध्यक्ष छन् । कोषका लागि प्रदेश सरकारले चालु वर्षमा ५० लाख रुपैयाँ छुट्याएको छ । गत आर्थिक वर्षमा १० लाख बजेट थियो । संग्रहालयलाई अन्तर्राष्ट्रियस्तरको बनाउने काम भइरहेको सांसद थापाले बताइन् ।
प्रदेश सरकारले कांग्रेसका संस्थापक बीपी कोइरालाका नाममा गण्डकी प्रदेशका १२ ठाउँमा पार्क र भवन बनाउन १ करोड ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । कास्कीको सिकलेसमा शान्ति स्मारक पार्क बनाउन १ करोड, पोखरा–२८ मा थमन स्मृति पार्क बनाउन १० लाख, माछापुच्छ्रे गाउँपालिकामा हरिबहादुर स्मृति पार्क बनाउन १० लाख छुट्याइएको छ । अन्य स्थानमा पनि स्मृति पार्क बनाउन बजेट विनियोजन गरिएको छ । मुख्यमन्त्री पोखरेलका प्रेस संयोजक भरत कोइरालाले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आम नागरिकको भावनालाई उच्च कदर गर्दै यी (स्मृति कोष, पार्क, प्रतिष्ठान भवन) र यस्ता कार्यक्रममा विनियोजित स्रोतलाई प्रदेशको प्राथमिकताका क्षेत्रमा खर्चिने व्यवस्था मिलाउन मुख्यमन्त्रीज्यूले सम्बन्धित मन्त्रालयलाई निर्देशन दिइसक्नुभएको छ ।’
गण्डकी प्रदेशको बजेटका विषयमा चौतर्फी आलोचना भइरहेका बेला मुख्यमन्त्री पोखरेलकै दल कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले नेताका नाममा खोलिने ट्रस्टले भ्रष्टाचार बढ्दै गएको उल्लेख गर्दै यस्ता प्रकृतिका बजेटमा रोक लगाउनुपर्ने बताएका थिए । कांग्रेस प्रदेश कार्यालयले पनि विज्ञप्ति सार्वजनिक गर्दै विरोध जनाएको थियो । अर्थमन्त्री बरालले पनि बजेटमाथि छलफल गर्न संसद् खुलाउने सहमति हुँदा अन्य मन्त्रीबाट आएका योजना राख्न बाध्य भएको प्रतिक्रिया दिएका थिए ।




