
औरही - धामीले छिमेकीले मोटरसाइकल चोरी गरेको भनेको भरमा चोरीको आरोप लगाउँदै एक गरिब, विपन्न र दलित परिवारका आमाछोरालाई कुटपिट गरी हात बाँधेर गाउँ डुलाउने विरुद्ध प्रहरीले मुद्दा दर्ता गरेको छ ।
असार २७ गते सोमबार पीडित अनिता देवी र सुशील मल्लिकले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा पीडक सीताशरण दास सहित आठजना विरुद्ध उजुरी दर्ता गराएका छन् ।
कुटपिटमा संलग्न मनोजकुमार दास, राजसरोज दास, उपेन्द्र दास, रामभरोस दास, अमितकुमार दास र राजनारायण साह विरुद्ध प्रहरीमा उजुरी दर्ता गरिएको हो।
एसपी कृष्णप्रसाद पंगेनीले जाहेरी परेको जानकारी दिँदै मुद्दाको प्रक्रिया अघि बढिसकेको र आरोपीहरूलाई पक्राउ गर्न निर्देशन समेत दिइ सकिएको बताए ।
आफूहरूमाथि कुटपिट गन विरुद्ध जाहेरी लिएर पुगेका अनिता देवी र उनका छोरा सुशीललाई एसपी पंगेनीले ‘कसैको डर नमान्नुहोला, तपाईंसँग प्रहरी छ’ भनेका थिए । कुटपिटसम्बन्धी समाचार शिरीषन्युज अनलाईन सहित विभिन्न संचार माध्यममा पढेपछि तत्कालै घटनाबारे सम्बन्धित चौकीसँग विस्तृत जानकारी लिएको एसपी पंगेनीले बताए।
पंगेनीले घटनाको भिडियो समेत सार्वजनिक भएकोमा भिडियोले नै पीडितसँग भएको व्यवहारबारे प्रस्ट देखाएको भन्दै आरोपीहरू उम्कन नसक्ने बताए ।
एसपी पंगेनीले घटनाकै वेला प्रहरीले नै उद्धार गरेर ल्याए पनि प्रहरी पुग्दा हात बाँधेको अवस्थामा नरहेको र उनीसँग यस्तो अमानवीय व्यवहार भएको भन्ने भिडियो तथा प्रत्यक्षदर्शीहरूले समेत तत्काल नबताइदिँदा आरोपीहरू तत्काल छुटेको उल्लेख गर्दै प्रारम्भिक अनुसन्धानमा पीडित वास्तव मै पीडित भएको बुझिन आएको र पछि मात्र भिडियो समेत प्राप्त भएकाले दिइएको जाहेरीका आधारमा कारबाही प्रक्रिया अगाडि बढ्ने बताए।
प्रहरीले पीडक विरुद्ध मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १० को दफा १६८ बमोजिम अपमानजनक अमानवीय व्यवहारको मुद्दा दर्ता गरेको छ।
प्रदेश कानुनी सहायता अधिकृत अधिवक्ता मनोजकुमार साहले जाहेरीमा पीडितले भने बमोजिम धामीले आरोपीलाई भनेको भरमा अमानवीय व्यवहार गरेको समेत उल्लेख रहेकोमा प्रहरीले अनुसन्धान गर्दै जाँदा सबै व्यहोरा खुल्ने र पछि यसमा थप मुद्दाका दफाहरू थपिन सक्ने बताए । उनले दफा १६९ समेत आकर्षित भएको बताउँदै १६९ बमोजिम मनासिव क्षतिपूर्तिको समेत माग गरिएको जानकारी दिए ।
मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १० को दफा १६८ को उपदफा १ मा कसैले कसैलाई अपमानजनक वा अमानवीय व्यवहार गर्न वा गराउनु हँुदैन भन्ने उल्लेख छ । दफा १६८ को उपदफा २ मा उपदफा १ बमोजिमको कसुर गर्ने व्यक्तिलाई पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने उल्लेख रहेको अधिवक्ता साहले बताउनुभयो । दफा १६९ अनुसार कसुर गर्ने व्यक्तिबाट पीडित व्यक्तिलाई पुगेको क्षति वा पीडाबापत मनासिव क्षतिपूर्ति भराइदिनुपर्ने उनको भनाइ छ ।
यस्तो थियो घटना
गत साता औरही नगरपालिका-६ बैरीया टोलका सिता शरण दास (तत्मा) को मोटरसाइकल घरबाटै चोरी भएकोमा दासले प्रहरीमा मोटरसाइकल चोरी भएको निवेदन दिएका थिए ।
सोही अनुरूप प्रहरीले उनको मोटरसाइकल खोज्दै थियो । असार २४ गते अचानक सिताशरण दास सहित एक हुल मानिस लिएर सोही ठाउँका राजेन्द्र मल्लिक (डोम) को घरमा पुगे ।
घरमा कोही नभएको देखेपछि घरभन्दा करिब ५० मिटर अगाडि एक सार्वजनिक दलानमा बाँसको काम गर्दै गरेकी राजेन्द्रकी पत्नी ४० वर्षीया अनिता देवी, साइली बुहारी २० वर्षीया निर्मला देवी र कान्छो छोरा १७ वर्षीय सुशील मल्लिकलाई भेटेपछि उक्त हुलले उनीहरूलाई कुटपिट गर्नुको साथै घिसार्दै र मोटो डोरीले हात बाँधेर सिताशरणको घरमा ल्याएर बन्धक बनाएर राख्यो ।
प्रत्यक्षदर्शीका अनुसार आफ्नो चोरी भएको मोटरसाइकल कहाँ राखेको भनेर बन्धक बनाइएका आमा र छोरालाई यातना दिँदै सोधिखोजी गरेको थियो ।
पीडित आमा र छोराले आफूहरूलाई मोटरसाइकलबारे केही थाहा नभएको भन्दै स्थानीयसँग बचाइदिन गुहार मागे पनि कसैले सहयोग नगरेको पीडित अनितादेवी मल्लिकले बताईन् ।
पीडित परिवारका राजेन्द्र मल्लिकले जातीय सभामा भाग लिन गएका बेला आफ्नो परिवारलाई सिताशरणले बन्धक बनाएर राखेको खबर पाएपछि सभाबाटै जातिका अगुवाहरूसहित इलाका प्रहरी कार्यालय रामगोपालपुर पुगेर प्रहरीलाई साथै लगेर पत्नी, छोरा र बुहारीलाई उद्धार गर्न सफल भएको बताए ।
घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय रामगोपालपुरका सई आदित्य सिंहले मोटरसाइकल चोरी विषयमा शङ्काकै भरमा कुटपिट गरेको बुझ्नमा आएपछि तत्काल प्रहरी टोली गएर उद्धार गरेको बताए।
छोरासँगै बन्धकमा परेकी आमा अनिताले भनिन्,-‘सिताशरणले ठूलो अन्याय गर्दै आफ्नो समाजमा रहेको मान प्रतिष्ठा समेत बरवाद गरे । हामीहरूले कसैको कुनै सामान चोरी नगरेको भएपनि आरोपितले मैले धामीलाई मोटरसाइकल चोरीबारे सोधेकोमा धामीले तिमीहरूको नाम बताएकोले तत्कालै मेरो मोटरसाइकल फिर्ता गर भन्दै कुटपिट गरे । बाँधेर जबरजस्ती चोरी स्वीकार गर्न दबाब दिए । हामी माथि ठूलो अन्याय भयो ।’
पीडित अनिताले कुटपिटबाट घाइते भएर गौशालास्थित अस्पताल गएर उपचार गराएको बताइन् ।
यस घटना सम्बन्धमा मानव अधिकार रक्षक सञ्जाल महोत्तरीको टोलीले असार २५ गते घटनास्थलमा पुगेर पीडित परिवारसँग जानकारी लिएको छ भने मानव अधिकार आयोग मधेस प्रदेश कार्यालयले प्रहरी तथा पीडितसँग घटनाबारे जानकारी लिएको छ ।
यो पनि पढ्नुहोस् ।