
जनकपुरधाम- अहिले स्थानीय तह (पालिका)मा नव निर्वाचित जनप्रतिनिधिहरुमा भएका कर्मचारी हटाउने र आफ्ना कार्यकर्ताहरु भर्ती गर्ने होडबाजी नै चलेको छ ।
कुनै पार्टीको टिकट पाएर निर्वाचन लडेपनि निर्वाचित भईसकेपछि स्थानीय सरकारको सबैप्रतिको हेराई समान हुनुपर्छ। राम्रो काम गर्ने वा असल र क्षमतावानलाई पुरस्कृत र राम्रो नगर्नेलाई कानुन अनुसार दण्डित गर्ने प्रणालीको विकास गरिनु पर्दछ । करारमा आएका सबै खराब र निजामतीबाट आएका सबै एकदम असल भन्ने पनि होईन ।
स्थानीय तह मै छानिएका निजामतिबाट आएकाभन्दा राम्रा पनि छन् । जसले नियुक्ति गरे पनि वा जसको पालामा नियुक्ति भए पनि कर्मचारीको काम गर्ने क्षमता, शैली र आचरण महत्वपूणर् कुरा हो । बरू यसको चाहिँ मापन हुनुपर्छ।
राज्यको एक वर्ष, दुई वर्ष, तीन, चार वर्ष र पाँच वर्ष कै आर्थिक र प्राविधिक लगानी उ माथि भईसकेको छ । हिजो केन्द्रिकृत प्रणाली (लोकसेवा) ले बिभेद गर्यो भनियो । तर बिकेन्द्रीकृत प्रणालीमा आईसकेपछि एउटा कार्यकालले नियुक्ति गर्ने र अर्को कार्यकालले हटाउने अनि नयाँ नियुक्ति गर्ने प्रणालीको बिकास भयो भने यसले एकातिर असल काम गर्ने क्षमतावान ब्यक्तिहरूको मानसिकतामा गंभीर नकारात्मक असर पार्न सक्दछ भने अर्कोतिर स्थानीय सरकारको निष्पक्षतामाथि पनि गंभीर प्रश्न खडा हुन जान्छ । त्यसैले स्थानीय सरकारहरूले लहडको भरमा बिकृतिपूणर् परम्परा नबसालौ, यस्ता गलत अभ्यासको अनुसरण पनि नगरौं।
पालिकामा कर्मचारी हटाउने, घटाउने वा थप नै गर्ने पनि हो भने अध्ययन टोली, मूल्यांकन समिति, छनौट समिति, पदपूर्ति समिति वा कार्यदल बनाएर उचित मापदण्ड निर्माण गरि त्यस्ता टोली वा समितिको सुझावका आधारमा पुरस्कृत र दण्डित गर्ने बिधिको शुरूवात गरौं । सरकार नीति, ऐन, नियम, कानुन, कार्यबीधीले चल्ने हो नि, होईन र ?
केन्द्रीकृत प्रणाली ठीक, बिकेन्द्रीकृत प्रणाली वा स्थानीयकरण बेठीक भन्ने परिपाटी अन्त्य गर्न असल अभ्यासको थालनी पनि गरौं । सरकारको प्रतिनिधि भईसकेपछि पक्षपाती र विभेदपूणर् नीतिको हिमायती हुनु भएन । कि कसो?
अत्यावश्यक कार्यसम्पादनका लागी प्रक्रिया पुर्याएर विगतमा नियुक्ती गरिएका कर्मचारी अभाव हुदा सेवाग्राही मर्कामा पर्ने र कर्मचारी हटाउदा कतिपय काम ठप्प हुने स्थिती आउन सक्छ।
अहिले देशै भर अधिकांश पालिकाहरुले एकले अर्काको देखासिखी गरेर करारका कर्मचारीहरुको साउन १ गते देखि म्याद थप नहुने भनि सुचना प्रकाशित गर्ने क्रम जारी रहेको छ।- देवराज पोखरेल