दिवेशकुमार महतो/ ढल्केवर-
सडक दुर्घटनामा परि धनुषा ढल्केवरका एक जना कपडा व्यापारीको मृत्यु भएको छ।
दुर्घटनामा मिथिला नगरपालिका–६ ढल्केवरका ४५ वर्षिय शिवलाल यादव कपडा व्यापारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ।
ढल्केवर–जनकपुर राजमार्गको मिथिला नगरपालिका–६ स्थित सडकखण्डमा गएराती जनकपुरबाट ढल्केवरतर्फ आउँदै गरेको बिआर ०१ एआर ९७७० नम्बरको भारतीय नम्बरको जीपले सोही दिशाबाट आइरहेको ज ९ प ९४३५ नम्बरको मोटरसाइकल ठक्कर दिंदा दुर्घटना भएको हो।
प्रहरीका अनुसार पछाडिबाट तीव्र गतिमा आइरहेको भारतीय नम्बरको जीपका चालक बसही पुल नजिक आएर सन्तुलन गुमाएपछि जीप पल्टिएर यादव सवार मोटरसाइकलमाथि बजारिन पुगेको थियो ।
सो सवारी दुर्घटनामा गम्भीर घाइते भएका यादवको उपचारको क्रममा शनिबार राति साढे एघार बजे प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा संलग्न जीप र त्यसका चालक बिहार मधुबनी जिल्ला धजवा बस्ने ३६ वर्षिय मन्जयकुमार साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मृतक यादव ढल्केवरस्थित दुर्गामन्दिर नजिक बिसौं वर्षदेखि कपडाको व्यापार गर्दै आएका थिए ।