धनुषा- भारतको जयनगर देखि जनकपुरधाम-कुर्थासम्म सञ्चालन भइरहेको राष्ट्रिय गौरवको आयोजनामध्येको रेल सेवाले आफ्नो थप सेवा विस्तार गर्न लागेको छ।
यहि साउन ३० गते देखि जयनगर देखि बिजलपुरासम्म थप सेवा विस्तार गर्ने भएको छ।
नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरन्जन झाले जयनगर-जनकपुर कुर्थासम्म सञ्चालन भइरहेको रेल सेवा अब बिजलपुरासम्म थप सेवा विस्तारको तयारीमा लागेको जानकारी दिनुभयो ।
महाप्रबन्धक झाले भन्नुभयो, ‘कुर्थादेखि १७.५ किलोमिटर रेल सञ्चालनको लागि लिक (पटरी) हल्ट, स्टेशन लगायतका भौतिक पूर्वाधार संरचना तयार भइसकेको छ, १५ अगस्तका दिन सेवा प्रारम्भ गर्नेबारे नेपाल-भारतका उच्चपदस्थ पदाधिकारीबीच कुराकानी हुँदैछ।’ यद्यपी थप सेवा उद्घाटनको मिति भने टुङ्गो नलागेको उहाँले बताउनुभयो ।
उहाँले यसअघि कुर्थादेखि बिजलपुरासम्म रेलको भौतिक पूर्वाधारका संरचना नेपाल सरकारको रेल्वे कम्पनीलाई हस्तान्तरण गरिनुपर्ने भएकोले त्यो प्रक्रिया पनि अगाडि बढिसकेको बताउनुभयो ।
महाप्रबन्धक झाले भारतीय इर्कन कम्पनीले करिब तीन करोड नेपाली रुपियाँ लागतमा बिजलपुरा खण्डको रेल मार्गको भौतिक पूर्वाधार संरचना निर्माण गरेको जानकारी दिनुभयो । यस मार्गमा रेल सेवा सुरु भएपछि बिजलपुरादेखि बर्दिवाससम्म १८ किलो मिटर रेलको भौतिक पूर्वाधार संरचनाको काम सुरु हुने उहाँले जानकारी दिनुभयो ।
नेपाल सरकारले बिजलपुरादेखि बर्दिवाससम्म रेलको लिकसहित भौतिक पूर्वाधार संरचनाको लागि जग्गा हस्तान्तरण गरेपछि तुरुन्त काम सुरु हुन्छ, महाप्रबन्धक झाले भन्नुभयो, यस खण्डमा जग्गाको मुआब्जाको विषयमा पनि टुङ्गो लागिसकेकोले अब तुरुन्त निर्माण काम सुरु हुन्छ ।
सन् २०१० मा भारत सरकारको आर्थिक सहयोगमा रेल सञ्जाल विस्तार गर्न भारत सरकारसँग सम्झौता भएको थियो । भौतिक पूर्वाधार तथा रेल्वे लिक निर्माणको ठेक्का पाएका भारतीय इर्कन इन्टरनेसनल कम्पनीले सन् २०११ माघ महिनादेखि निर्माण थालिएको थियो । जयनगरदेखि बर्दिवाससम्म ७० किलोमिटर छ ।
गत चैत १९ गते भारतको दिल्लीस्थित हैदराबाद हाउसबाट प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरूपमा जयनगर-जनकपुर कुर्था रेल सेवाको भर्चुअल माध्यमबाट हरियो झण्डा देखाएर उद्घाटन गर्नुभएको थियो । त्यस दिनदेखि जयनगर-जनकपुर कुर्थासम्म ३४.९ किलोमिटर नियमित रेल सेवा सञ्चालन हुँदै आएको छ । अब बिजलपुरासम्म रेल सेवा सुरु भएपछि यसको सेवा ५२.४ किलोमिटर हुनेछ । बिजलपुरादेखि बर्दिवाससम्म १८ किलोमिटर रेल सञ्चालनको भौतिक पूर्वाधार र लिक निर्माणको काम बाँकी छ ।
यस रेल विस्तार परियोजनाको प्रथम चरणमा जयनगर-जनकपुर कुर्था ३५ किलोमिटर, दोस्रो चरणमा धनुषाको कुर्थादेखि महोत्तरीको विजलपुरा भंगहासम्म १७.५ किलोमिटर र तेस्रो चरणमा महोत्तरीको बिजलपुरा भंगहादेखि बर्दिवाससम्म १८ किलोमिटर खण्डमा रेल्वे सेवा सञ्चालन हुने सरकारको योजना अन्तर्गत सो कार्य भएको हो ।
बिजलपुरासम्म रेल सेवा विस्तारको लागि महाप्रबन्धको नेतृत्वमा सशस्त्र प्रहरी प्रमुखहरुसहित टोलीले निरीक्षण गरेको थाहा पाएपछि त्यस भेगका लोहारपट्टी, बलवा, भङ्गाहा, पिपरा क्षेत्रका स्थानीयहरुमा खुशीयाली छाएको छ।
रेल सेवाले आफ्ना सेवा विस्तार गरेर विजलपुरा सम्म पुर्याउने भएपछि त्यस त्यसक्षेत्रका जनतामा खुशीयाली छाएको छ। उक्त क्षेत्रका कृषि उपजहरु सोझै जनकपुरधामको साथै भारतीय बजार सम्म पुर्याउन सकिने आश जागेको किसानहरु बताउँछन् ।
विसं १९९४ जुद्धशम्शेरका पालामा सुरुभएको न्यारोगेजको बिजलपुरा-जनकपुर-जयनगर ५२ किमी रेलमार्ग विसं २०५८ मा बाढीले बिग्हीपुल (लोहारपट्टी, महोत्तरी) भत्काएपछि जनकपुर-जयनगर ३५ किलोमिटरमा सीमित भएको थियो र पछि उक्त सेवा पनि बन्द भएको थियो ।
भारत सरकारको सात अर्ब २० करोडको आर्थिक सहयोगमा ब्रोडगेज रेलवे विस्तारको सन् २०१९ भित्रै रेल सञ्जाल विस्तारको निर्माण काम सम्पन्न गरिने प्रारम्भिक लक्ष्य लिएको थियो । तर, राजनीतिक उतारचढाव, भेलबाढी र जग्गा मुआब्जा निर्धारणमा भएको ढिलाइले समयमा काम सम्पन्न गर्न नसकिएको रेल विभागले जनाएको छ ।
नेपालमा पहिलो रेल सेवा विसं १९८४ मा चन्द्रशम्शेरको पालामा रक्सौल-अमलेखगञ्ज सुरु भएको थियो ।
अहिले जयनगर-जनकपुरसम्म सञ्चालन भइरहेको नेपाली रेल, २०७७ असोज २ गते भारतीय रेल्वे कम्पनी कोंकणले कर्पोरेशनसँग ८४ करोड ६५ लाख रुपियाँमा दुई सेट ‘डेमो ट्रेन’ (डिजेल इलेक्ट्रिक मल्टिपल युनिट) खरिद गरी ल्याइएको हो । यस रेलमा १ हजा ३सय जनासम्म यात्रु बसेर तथा उभिएर यात्रा गर्न सक्ने क्षमता रहेको छ भने यात्रुबाहक रेल भएकाले यात्रुको झोला र सामान्य सामान मात्रै राख्न सकिनेछ । अब यहीँ रेल जयनगरदेखि बिजलपुरासम्म संचालन हुने भएको छ।




