विशाल बस्नेत/ महोत्तरी -
एमाले महोत्तरीको अधिवेशन अनुमानित मिति तय भएसँगै नेतृत्व लिने भन्ने बहस सुरू भएको छ । बिरगन्जमा केही दिनअघि बसेको प्रदेश सचिवालय भेलाले १५ भदौअघि नै जिल्लाको अधिवेशन टुंग्याउने निर्णय गरेसँगै नेतृत्वसम्बन्धी बहस चलेको हो ।
नेतृत्व जिल्लाको उत्तरी क्षेत्रले लिने कि दक्षिणी क्षेत्रले लिने भन्ने विषयमा मत विभाजन भएको छ । अहिले निर्धारित समयमा अधिवेशन गराउन नसकेको भन्दै जिल्ला इन्चार्जको जिम्मेवारी पाएका टेकबहादुर बलाम्पाकीलाई इन्चार्जबाट हटाइएको छ भने कालीचरण साहलाई अधिवेशनसम्मको लागि इन्चार्ज तोकिएको छ ।
नेतृत्व कै विषयमा सहमत हुन नसक्दा देशका ७६ जिल्लामा महाधिवेशन भइसक्दा पनि महोत्तरीमा हुन सकेको थिएन । अब भने निर्धारित मितिमै अधिवेशन गराइछाड्ने नेताहरूको प्रतिबद्धता छ ।
यसअघि पोलिटब्यूरो सदस्य समेत रहेका रामदयाल मण्डल पक्षधर र केन्द्रीय सदस्यद्वय सरोज यादव, टेकबहादुर बलाम्पाकीको आफ्नै अडानले पटक-पटक अधिवेशन बिथोलिएको आरोप छ ।
७६ वटै जिल्लामा अधिवेशन समपन्न भैइसक्दा पनि महोत्तरीमा मात्र नहुनुलाई केन्द्रले समेत निकै महत्वका साथ चासो देखाएको छ । यसैले पनि जिल्लाका नेताहरू अधिवेशनको लागि निकै लचिलो देखिएका छन् । तर, आफू अनुकुल बनाउन भने नेताहरूको दौडधुप बाक्लिएको छ ।
बुधबार बर्दिबासमा भएको वर्गीय संगठन जनजाति माहासंघ प्रदेशस्तरीय भेलाले समेत महोत्तरीको अधिवेशनको सम्बन्धमा चासो देखाएको छ । लामो समयदेखि जिल्लामा नेतृत्व दक्षिणी क्षेत्रबाट भएको र अब उत्तरी क्षेत्रले पाउनुपर्ने अडान कै कारण अधिवेशनको गर्मागर्मी बढेको छ ।
प्रदेशसभा सदस्य तथा नेकपा एमालेकी नेतृ सारदादेवी थापाले नेतृत्व उत्तरी क्षेत्रले पाउनुपर्ने पारम्भिक माग रहेको बताइन् । तर, पोलिटब्यूरो सदस्य रामदयाल मण्डल भने यस्ता टिक्काटिपण्णी र अडान अनावश्यक भएको बताउँछन् ।
ञउत्तरी क्षेत्रले पाउने कि दक्षिणी क्षेत्रले नेतृत्व पाउने भन्ने विषय प्रतिनिधि र हलले टुंग्याउने बिषय हो कसैले भनेर हुँदैन, उनले भने । अधिबेशनको मिति निर्धारण गर्न २२ साउनमा आयोजक कमिटीको बैठक बस्दैछ । बर्दिबासमा तय गरिएको उक्त बैठकले अधिवेशनको विषयमा पूर्ण छलफल गर्ने नेकपा एमाले मधेश प्रदेशले जनाएको छ ।