जनकपुरधाम । मधेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । पुनर्गठित मन्त्रिषरिषद्मा जनमत पार्टीका तर्फबाट वसन्त कुमार कुशवाहा र सञ्जय यादवले मन्त्रीको बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।
प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले बिहीबार साँझ दुवै नवनियुक्त मन्त्रीलाई शपथ गराएकी हुन् ।




कुशवाहालाई उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको जिम्मेवारी दिइएको छ । यादवले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

मुख्यमन्त्री सतीशकुमार सिंहले मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन्। नेपालको संविधानको धारा १६८ (९) बमोजिम गठित यो नयाँ मन्त्रीमण्डल अब १२ सदस्यीय भएको छ।
पुनर्गठित मन्त्रिपरिषद्को मुख्यमन्त्री सतीश्कुमार सिंह, गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखी, भौतिक पूर्वाधारमन्त्री सरोज यादव, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री जनार्दन सिंह क्षेत्री, शिक्षा तथा संस्कृतिमन्त्री रानी तिवारी, स्वास्थ्य तथा जनसंख्यामन्त्री शत्रुधन सिंह, अर्थमन्त्री सुनिल यादव, खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोद जयसवाल, ऊार्जा, सिँचाई तथा खानेपानीमन्त्री शेष नारायण यादव, श्रम तथा यातायातमन्त्री कौशल किशोर राय, उद्योग, वाणिज्य तथा पर्यटनन्त्री वसन्त कुमार कुशवाहा र वन तथा वातावरणमन्त्री सञ्जय कुमार यादव रहेका छन् ।

कुशवाहाले यसअघि पनि प्रदेश सरकारमा कृषिमन्त्रीको रूपमा कार्यानुभव हासिल गरिसकेका छन् । यादव पहिले राज्यमन्त्री थिए ।
जनमत पार्टीका प्रवक्ता डा शरदसिंह यादवका अनुसार यो पुनर्गठन नियमित कार्यप्रणालीअन्तर्गत भएको हो । ‘हामी सबैको पालो आउँछ भन्ने सोचले अघि बढेका छौं । नयाँ मन्त्रीहरूलाई सफल कार्यकालको शुभकामना छ,’ उनले भने ।
यसअघि पनि उक्त दुवै मन्त्रालय जनमत पार्टीकै भागा थिए । पार्टीले उद्योग तथा पर्यटनमन्त्री सकिल मियाँ अन्सारी र वन तथा वातावरणमन्त्री त्रिभुवन साहलाई फिर्ता बोलाएर नयाँ व्यक्तिलाई मन्त्री बनाएको पार्टीका प्रवक्ता शरदसिंह यादवले जानकारी दिए ।

फिर्ता बोलाइएका मन्त्रीहरू विरुद्ध पार्टीभित्रै व्यापक असन्तुष्टि थियो । जसका कारण पार्टी उनीहरूलाई फिर्ता बोलाउने निर्णयमा पुगेको हो ।




