- मिश्रा देवी कार्की
भन्न लाई त आजको युगलाई प्रविधिको विकास भएको युग र यो समयलाई एक्काइसौं शताब्दी भनीन्छ । जुन शताब्दीमा रोबर्टले आफै गाडी हॉक्छ, विश्वका विभिन्न देशहरूमा एउटा देशले एक सुइज दबाइ दिंदा अर्को देश ध्वस्त हुन्छ ।
मानिसहरु मंगल ग्रहमा मानव बस्ति बसाउने कुरा गर्दछन् तर मेरो देशमा अझै चेलीहरु बेचिएर कोठीहरूमा पुग्दछन। आफ्नै छोरीहरूलाई त्यस्ता ठाउँमा पुर्याउन तँ छाड म छाड गर्छन्। संसार अघि बडेको हुन सक्छ तर यो मुलुकमा अझै दुइ छाक खानकै लागी जीवन जन्मे जस्तो छ । परिवर्तन कहिले र कसरी होला ? दुई छाक मीठो खाने र एक धरो राम्रो लगाउने चाहानाले ब्यक्ति लाई बेचबिखन गरेर बिदेशी कोठीहरुमा कैद हुन बाध्य बनाइएको छ।



केही दिन अघि चेलीबेटी बेचबिखन बीरुद्धको दीन भनेर टी.भी मा समाचार हेर्दै थिएँ। टेलिभिजनमा सुन्दा सबैको एउटै कुरो थीयो “ नेपालबाट अझै चेली हरु बेचिदैं छन्।”
मान्छे बेच्ने भन्दा जघण्य अपराध के हुन सक्ला ? यो यतार्थ सुन्दा पत्याउन पनि गाह्रो छ तर यो मुलुकमा अझै यो काम भै रहेको छ र त्यो पनि नेपाली बाटै नेपाली चेलीलाई विभिन्न प्रलोभन देखाई बेचि दिने काम भै रहेको छ ।
भारतको कमाठीपुरम र जे.पी रोड हरु बारे अध्यन गरे। लाखौ संख्यामा बेचिएका चेलीहरु त्यहाँ छन् र त्यस्मा पनि अधिकांश चेलीहरु नेपाली अनुहारका छन्। पहाडी भुमीमा जन्मिएका स्वच्छ र निर्मल कलकल परेका झरना जस्ता पबित्र चेलीहरु ४५ डीग्रीको गर्मीमा फलामका बार लगाएका कोठा भित्र कैदी जस्तो जीवन बिताइरहेका र आफ्नो शरीर बेच्न बाध्य भएका छन् । जुन शरीर बेचे बापत तिनीहरूले केबल एचआइभी जस्ता रोग मात्र पाइ रहेका छन् । आफुलाई कष्टकर जीवनसँग पिडाहरू खेपिरहेका छन्। पैसा होइन रुँदा रुँदा आँखामा आँसु समेत रित्तीएका ती चेलीहरुको ऑखाले हरेक दिन कोही कसैको सहयोग खोजी रहेका छन्। जस्ले उनीहरूलाई त्यो नर्क बाट बाहीर ल्याई दिओस।
आज चेली बेचबीखन पहिले झैं भारतमा मात्र सीमीत छैन, खाडी मुलुक देखि युरोपमा समेत यसको जालो बनी सकेको छ । कती त अफ्रिका तिर पनि पुर्याइएका छन् ।
जब- जब म यो जघण्य अपराध अझै नेपालमा बॉचेको देख्छु , विछिपत भएको आवाज सुन्छु, तब – तब लाग्छ मेरो देश अझै एक्काइसौं होइन पहिलाको सातौं, आठौं शताब्दीमा छ जस्तो लाग्छ। जुन समय मानिसले मानिसलाई लुट्न सक्थे । संपत्ति लुटे झैं लुटेर आफ्नो नियन्त्रणमा राख्न सक्थे। जीवन भर दास बनाउन सक्थे। अहिले पनि तरीका फरक तर व्यवहार उस्तै उस्तै छ। एक जना चेलीलाई तीन हजार देखि छ हजार डलर लिएर त्यस्तो अवस्थामा पुर्याउन आँट गर्छन्।
मैले चेलीबेटी बेचबिखन रोक्ने अभियानमा सशक्त रुपमा पहिला प्रहरीले कार्यक्रम गरेको र ठाउँ ठाउँमा पुगेर जन चेतना अभिवृद्धि गरेको भनेर पूर्व प्रहरीहरूको लेखमा पढेको थिएँ। प्रहरी र माइती नेपाल मिलेर कलेजका विद्यार्थीहरूलाई लिएर पनि Awareness कार्यक्रम गरेको तस्विरहरू पनि बेला बेलामा पूर्व प्रहरीहरूको समूहमा हेरें। पूर्व प्रहरीहरूमा पनि विभिन्न क्षेत्रमा आफुलाई अब्बल बनाउन सक्षम धेरै जना महिला प्रहरी अधिकृतहरू हुनुहुन्छ। हिजो अनुसन्धानका क्रममा राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रमा पुगेर थुप्रै अनुभव बटुल्नु भएको छ। त्यो अनुभवलाई अहिले पूर्व प्रहरी संगठनसंग जोडिएर पनि गर्न सकिन्छ। अहिले हामी जोडिएका पनि छौं। मलाई लाग्छ, चेली बेचबीखनको दर्दनाक सत्यकथा बुझ्ने सबै भन्दा नजीकको ब्यक्ती वा समूह पनि पूर्व प्रहरीहरू नै हुन सक्छन् । जस्ले बिगत चार दशक पहिला देखि यस्को इतिहास बुझेका र देखेका छन् ।
टेलिभिजनबाट त्यस्तो कष्टकर जीवन बिताउदै गरेका चेलीहरूको आवाज सुनेर मलाइ लागी रहेछकी पूर्व प्रहरी संगठनले यो बिषयमा गम्भीर भएर सबै चेलीहरूले त्यो नरकीय जीवन बिताउन नपरोस भन्ने सोच राखी यो बिषयमा आफ्नो कार्ययोजनामा राख्नु पर्दछ र यस्ता पासबीक अपराध रोक्न केही ठोस पहल गर्नु पर्दछ ।यो काममा सबै सचेत पूर्व प्रहरी लागी पर्न जरुरी छ ।
लेखक कार्की शहिद प्रहरी परिवारकी सदस्यी हुन् ।




