जनकपुरधाम- जनकपुरधामबाट प्रतिबन्धित लागूऔषध सहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जनकपुरधाम–१ बस्ने २४ वर्षीय प्रकाश साह रहेका छन् ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१ स्थित रघुपति पार्टी प्यालेसको निर्माणाधीन अवस्थामा रहेको भान्सा कोठानजिकै मंगलबार लागुऔषध खरिद बिक्री भइरहेको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले टोलीले उनलाई पक्राउ गरेको धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।
साहको जिन्स पाइन्टको बायाँ साइडको अगाडिको खल्तीबाट कालो प्लास्टिकको झोलामा बेरेर लुकाई–छिपाई राखेको अवस्थामा प्रतिबन्धित लागुऔषध नाइट्रोभेट ३०० ट्याब्लेट र २ थान मोबाइल बरामद भएको उनले बताए ।
सामान सहित साहलाई नियन्त्रणमा लिई लागुऔषध मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।




