महोत्तरी - महोत्तरीमा औषधि व्यवस्था विभागले अनुगमन थालेपछि औषधि व्यवसायीहरुको भागाभाग भएको छ ।बुधबार बिहान ११ बजेदेखि औषधि व्यवस्था विभाग शाखा कार्यालय वीरगञ्जको टोलिले नियमित अनुगमन थालेपछि दर्ता बिना संचालनमा रहेको औषधि पसल संचालकको भागाभाग भएको हो ।
महोत्तरीको गौशाला नगरपालिकामा वर्षौदेखि आधा भन्दा बढी औषधि पसल दर्ता बिना अवैध रुपले संचालनमा रहेको छ ।त्यस्ता थुप्रै औषधि पसल संचालकले अनुगमनको बेला बन्द गरेर भाग्ने गरेका छन् । आज पनि अनुगमन सुरु भएपछि थुप्रै औषधि व्यवसायी पसल बन्द गरेर फरार भएका हुन् ।
अनुगमनको क्रममा विभागले बिना दर्ता संचालनमा रहेको तीनवटा औषधि पसलमा शिलबन्दी गरेको छ ।
विभागका वीरगञ्ज फार्मेसी शाखा प्रमुख मुकेन्द्र पजियारका अनुसार गौशाला नगरपालिका ५ स्थित रहेको प्राथमिक स्वास्थ केन्द्र अगाडिमा संचालित उमेश सर्जिकल क्लिनिक,दिनेश सर्जिकल क्लिनिक र रिद्धि-सिद्धि सर्जिकल क्लिनिक संचालित औषधि पसल सिल गरिएको हो ।
तीनवटै औषधि पसल दर्ता नगरी अवैध रुपमा संचालनमा रहेकाले सिल गरिएको शाखा प्रमुख पजियारले बताए ।
महोत्तरीमा वर्षौदेखि संचालित अवैध औषधि पसल अनुगमनका बेला बन्द हुने र अन्य दिनमा खुलेआम संचालनमा रहेपनि सम्बन्धित निकाय मुकदर्शक बनेको छ ।




