
महोत्तरी - श्रीमती र सासुलाई ज्युदै जलाएर हत्याको प्रयास गरी फरार रहेका श्रीमानलाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा महोत्तरीको औरही नगरपालिका ८ भोइल टिमकिया घर भई हाल भंगहा नगरपालिका ९ कंचन वन ससुवा टोल स्थित ससुराली घर मै बस्दै आएका ४० वर्षीय शंकर सदालाई पक्राउ गरिएको महोत्तरी प्रहरीका प्रवक्ता डीएसपी प्रकाश बिष्टले जानकारी दिए ।

शंकरले साउन २१ गते राती श्रीमती ३५ वर्षीया प्रमिला देवी र सासु ६५ वर्षीया रेशमा देवीको शरीरमा मट्टितेल छर्केर आगो लगाई फरार भएका थिए ।उनलाई नेपाल-भारतको सिमावर्ती क्षेत्रमा पर्ने महोत्तरीको सम्सी गाउँपालिका ६ स्थित सम्सी-कन्हवा स्थित नेपाल क्षेत्रबाटै पक्राउ गरिएको डीएसपी बिष्टले बताए ।
शंकरले राति पौने १२ बजे घरमा सुतिरहेका प्रमिला र रेशमादेवीको शरीरमा आगो लगाएका थिए ।
श्रीमती प्रमिलाको परपुरुषसँग अवैध सम्बन्ध रहेको र त्यसमा सासुले पनि सघाउने गरेको आशंकामा शंकरले पटक-पटक झगडा गर्ने गरेका थिए ।
सोही बिषयमा साउन २१ मा झगडा हुँदा शंकरले दुवैको शरीरमा मट्टितेल खन्याएर आगो लगाएको पाइएको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
श्रीमति र सासु जलाउने शंकरलाई छैन पछुतो
आफ्नै श्रीमति र सासुलाई जलाएर फरार भएका शंकर सदालाई जलाएकोमा पछुतो नभएको पक्राउ पछि प्रहरीलाई बयान दिएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीले आज आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकारहरु समक्ष उपस्थित भएका सदाले आफुले श्रीमति जलाएर कुनै गल्ती नगरेको बताए । श्रीमतिको विभिन्न व्यक्तिहरुसंग अनैतिक सम्बन्ध रहेको आरोप लगाउँदै आफुले केहि सिप नलागेर जलाएको बताए ।
जिवन मरणको दोसाधमा छिन् प्रमिला
आगोले जलेर काठमाडौं स्थित किर्तिपुर अस्पतालको बर्न वार्डको बेड नं. ४०९ मा जिवन मरणको दोसाधमा रहेकि ३५ वर्षिया प्रमिलाको जिवन रक्षा गर्न चिकित्सक देखि घटना बारे थाहा हुने सवैले प्रयास र प्रार्थना गरिरहेको अवस्थामा श्रीमानको अमानविय जवाफले सवैलाई चकित पारेको छ ।

आगोले प्रमिलाको शरीरको ७० प्रतिशत भाग जलेको चिकित्सकले बताएका छन् । त्यसैगरी ६५ वर्षीया रेशमा सदाको शरीर पनि १० प्रतिशत जलेको चिकित्सकको भनाई छ ।
आमा रेशमाको अवस्था खतरामुक्त रहेपनि प्रमिलाको स्वास्थ्य अवस्था भने गम्भिर छ ।

यता घटनाको विस्तृत विवरण बुझ्न घटना स्थल मै पुगेको शिरीषन्युजकर्मीलाई स्थानिय तथा परिवारले पिडितको कुनै गलत व्यवहार र चालचलन नरहेको बताएका छन । संगै एक वर्ष देखि ससुराली बस्दै आएका शंकर, उनकी सासु र श्रीमति गत विहिवार नै बाबाधाम बाट फर्केको र घटना कै दिन समेत श्रीमतिसंगै घास काट्न गएको प्रमिलाका भतिजो ललित सदाले बताए।
फुफाज्युँले किन त्यस्तो घटना घटाए भन्ने आफुहरुलाई जानकारी नरहेको बताउदै ललितले उनलाई कडा भन्दा कडा सजायको माग गरे ।
शंकर एक वर्ष पूर्व वैदेशिक रोजगारीबाट फर्केपछि विदेशबाट पठाएको पैसा श्रीमतिले हिनामिना गरेको भन्दै पटक पटक श्रीमतिसंग झगडा गर्दै आएका थिए । प्रमिलाले विदेशबाट पठाएको पैसा समेत सकाएर गाउमा अन्य ठाउहरुबाट ऋण समेत लिएको र अनैतिक सम्बन्ध पनि राखिराखेको आरोप लगाउदै शंकरले बाध्य भएर आगो लगाएको बताएकोमा प्रमिलाले अस्पतालमै संचारकर्मीहरुलाई दिएको बयानमा आफु पूणर् रुपमा निर्दोष रहेको बताएकि छिन् ।
शंकरले श्रीमति र सासुलाई आगो लगाई घरको ढोका वाहिरबाट बन्द गरेर फरार भएका थिए । आगोमा जल्दै छटपटाउँदै आमा छाेरीले चिच्याउँदै रुदै गरेको हल्ला सुनेर छिमेकीहरुले ढोका खाेलेर उनीहरुलाई जलिरहेको अवस्थामा उद्धार गरेका थिए ।
आगो लागेर घाईते भएकि प्रमिला तथा उनकी आमाको उपचार जनकपुर स्थित प्रादेशिक अस्पतालमा सम्भव नहुने भएपछि काठमाडौं थप उपचारको लागि लगिएको हो ।