जनकपुरधाम - धनुषा सहित तराई–मधेशका जिल्लामा पानी नपर्दा किसान चिन्तित बनेका छन् । सिँचाइको अभावमा किसानले लगाएको धानबाली सुक्न थालेको छ । भर्खरै रोपिएको धान खेतमा धाँजा फाटेको छ ।
खडेरीको मार मै जेनतेन रोपाइँ गरेका किसानको खेतमा धानका बोट हुर्कन पाएको छैन । पर्याप्त वर्षा नभएपछि भदौ पहिलो सातासम्म पनि केही ठाउँमा रोपाइँ गर्न नपाउँदा ब्याड सुकिसकेको छ । रोपाइँ गरेका खेतमा पनि धाँजा फाटेर धानका बोट पहेँलिन थालेका छन् । बोट हलक्क बढ्नुपर्ने बेला सुक्न थालेपछि किसानहरू आकाशतिर हेर्दै दिन काटिरहेका छन्।
वर्षा हुन नसक्दा किसानले पम्पसेटमा महँगो डिजेल खर्चेर पानी लगाइरहेका छन् । प्रतिलिटर १७३ रुपियाँ ५० पैसाको डिजेल खर्चेर धानमा पानी लगाउनुपरेको धनुषाका क्षीरेश्वरनाथ नगरपालिका –४, हरैयाका किसान दिपो यादवले गुनासो गरे ।
यो वर्ष पर्याप्त वर्षा नहुँदा धान रोप्न र रोपिसकेपछि सिँचाइ गर्न पम्पसेट चलाउनुपरेको यादवले बताए । “असार र साउन पानी नपरेरै बित्यो, भदौ लागेपछि पनि उही अवस्था छ, बाहिर हेर्दा चैतमासजस्तो खण्डहर देखिन्छ,” यादवले भने, “हामी किसानलाई न वर्षाले साथ दियो न सरकारले, पम्पसेट चलाएर जसोतसो पानी लगाएपछि पनि खेतमा हाल्ने रसायनिक मल छैन् ।”
धनुषामा अहिले क्षीरेश्वरनाथ, बटेश्वर, मिथिला, धनुषाधाम, लक्ष्मिनिया, सबैल, शहिदनगर लगायत पालिकाका किसानले पम्पसेट चलाएर धान बालीमा सिँचाई गरिरहेका छन् ।
पूर्व–पश्चिम राजमार्गदेखि उत्तरतर्फका अधिकांश किसानले लगाएको धानबाली भने सुकेर गइरहेको छ । पानीको सतह निकै तल रहेकाले उत्तरी भेगमा पम्पसेट चल्दैन । उत्तरी भेगमा केही किसानको खेतमा कुलोको पानी लागे पनि खोलामा पानी सुकेपछि पानी लगाउन किसानबीच हानाथाप छ ।
कृषि ज्ञान केन्द्र धनुषाका प्रमुख शङ्करप्रसाद साहले जिल्लाको उत्तरी क्षेत्र मिथिला नगरपालिका–११ तुलसी रातु नदीबाट कुलो मार्फत त्यहाँका किसानले धान समय मै रोपी सिध्याएको बताए । सिँचाईको प्रयाप्त सुविधा नभएपनि बाह्रौँ महिना पानी बगिरहने रातु नदीबाट कुलो मार्फत चुरे, बाहुनमारा, बिस्मवरमा धान रोपिएको उहाँले जानकारी दिए।
कृषि ज्ञान केन्द्र धनुषाका प्रमुख साहले तत्काल वर्षा नभए धान खेतीमा ठूलो क्षति पुग्ने र उत्पादनमै ह्रास आउन सक्ने बताए ।
मधेस प्रदेशका ८ जिल्लामा केही समयदेखि वर्षा हुन नसक्दा धान खेतहरुमा चिरा पर्नुका साथै बोटहरु पहेंलिँदै गएको किसानहरु बताउँछन्।
यसरी लामो समयदेखि मधेस तराई क्षेत्रमा वर्षा नहुँदा लहलहाउँदो धान अहिले सुक्न थालेको हो। वर्षातका बेला बाढी पसेको मौकामा रोपाइँ गरेका कृषक लामो समय पानी नपरेर धान सुक्न थालेपछि चिन्तित बनेका छन्। बाढीको बेला भल छोपेर रोपेको धान खेत चिरा–चिरा परेको स्थानीय किसानहरु बताउँछन्।
धनुषाको बटेश्वर गाउँपालिका–५, शान्तिपुरका किसान महेश यादवले पानी नपर्दा एक बिघामा लगाएको धान सुक्न थालेको बताए । उनले भने, ‘लामो समयदेखि पानी नपर्दा मोटरबाट पानी लगाउने गरेका छौं, सिँचाइको व्यवस्था नहुँदा कल (ट्युबेल) बाट खेतमा पानी लगाउँदै आएका छौं, तर त्यसले कतिन्जेल धान्नु?’
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–४ का जगदीश यादवले समयमा पानी नपरेर किसानले खेतमा लगाएको धानबाली सखाप हुने अवस्थामा पुगेको गुनासो गरे । सो वडाका वडाध्यक्ष समेत रहेका यादवले सबै किसानका खेतामा सिँचाइ सुविधा पुर्याउने गरी तीनवटै सरकारले काम गर्नुपर्ने बताए।
जिल्ला समन्वय समिति धनुषाका सभापति राजनन्दन मण्डलले सिँचाइ अभावमा धान उत्पादनमा कमी आउने आँकलन गरे। किसान समेत रहेका यादवले पम्पसेटबाट जसोतसो खेतमा पानी लगाउँदै आएको बताए । ‘पम्पसेटबाट लगाएको पानी खेतमा लामो समयसम्म टिक्न सकेको छैन,’ मण्डलले, ’यसले गर्दा धान उत्पादनमा उल्लेख्य मात्रामा कमी आउने देखिएको छ।’
क्षीरेश्वरनाथ नगरपालिकाका युवा नेता घनश्याम यादवले लामो समयदेखि वर्षा नहुँदा किसान उत्पादनलाई लिएर चिन्तित हुन थालेको र यसबारे सरकारले बेलैमा ध्यान पुर्याउनुपर्ने बताए, ‘अहिले धान खेतमा पर्याप्त पानी जम्नुपर्ने बेला हो, तर न त वर्षा हुन सकेको छ, न त सिँचाइकै सुविधा छ,’ यादवले भने, ’सरकारले तराई मधेस क्षेत्रमा सिँचाइ सुविधाका लागि तत्कालीन र दीर्घकालीन योजना नबनाउने हो भने भविष्यमा झन् ठूलो समस्या आउनसक्छ।’
कृषि ज्ञान केन्द्र धनुषाका अनुसार धनुषामा ६४ हजार ६ सय हेक्टरमा धान खेती हुँदै आएको छ। जसमध्ये करिब २५ हजार हेक्टर क्षेत्रमा सिँचाइ हुने गरेको छ भने बाँकी जमिनमा आकाशे पानीको भरमा खेती गर्नुपर्ने स्थिति छ।
कमला सिँचाइ आयोजना, हर्दिनाथ सिँचाइ, बालगंगा सिँचाइलगायतका आयोजनाबाट कूल १२ हजार हेक्टर जमिनमा मात्रै सिँचाइ हुने गरेको केन्द्रले जनाएको छ।
के भन्छन् विज्ञ?
कृषिविज्ञ डा. श्रीभगवान ठाकुरले मधेस तराई मुख्य गरी धानबाली र तरकारीका लागि उपयुक्त भूमि भएकाले केन्द्र, प्रदेश र स्थानीय तीनवटै सरकार मिलेर दीर्घकालीन योजना बनाउनुपर्नेमा जोड दिए। उनले भने, ‘तराईले पूरै देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने सामथ्र्य राख्दछ,’ उहाँले प्रश्न गर्नुभयो, ’तर, सरकारको नजर परेको खोई?’
डा. ठाकुरले तीनै तहका सरकारले कृषिलाई पहिलो प्राथमिकतामा राखे पनि त्यो नीतिमा मात्रै सीमित भएको आरोप लगाए ।
मधेस प्रदेशका कृषि निर्देशनालयका अनुसार यस प्रदेशमा २ का १ सय ३६ स्थानीय तहमा ५ लाख ४७ हजार २ सय २६ हेक्टर जग्गा खेतीयोग्य रहेको तर पछिल्लो केही वर्षयता खेती गर्ने क्रम घट्दै गएको छ। अहिले ५ लाख २६ हजार ६५ हेक्टर जग्गामा मात्रै खेती हुँदै आएको छ।
खेतीयोग्य जग्गा ५ लाख २६ हजार हेक्टर भए पनि प्रदेशको सिञ्चित क्षेत्रफल १ लाख १५ हजार ५ सय १५ हेक्टर मात्रै छ।
प्रदेश सरकारले ‘हात–हातमा जागिर र खेत–खेतमा पानी’ भन्ने नारा तय गरेको छ। नीतिगत रुपमा कृषिलाई पहिलो प्राथमिकतामा राखिए पनि कार्यान्वयन तहमा भने सन्तोष गर्ने ठाउँ देखिँदैन।
कृषि अधिकृत बद्री नारायण झाले जेनतेन गरेर खेतमा धान रोपाइँ भए पनि पानी नपर्दा खेत चिराचिरा परेर धान बाली नै सुक्न थालेको बताए । “पानी नपर्दा किसान निराश छन्, धान खेत हेर्न गयो सबै चिराचिरा परेर सुक्न थालेको देखिन्छ,” झाले भने, “तत्काल वर्षा नभए धान खेतीमा ठूलो क्षति पुग्ने देखिन्छ, उत्पादनमै ह्रास आउन सक्छ ।”




