जनकपुर - निहारिका प्रकरणमा डीएनए परिक्षण गर्न उच्च अदालत जनकपुरले आदेश दिएको छ। उच्च अदालतका न्यायाधीश भोजराज अधिकारी र रेखा थापा पाण्डेको संयुक्त इजलासले निहारिका राजपुतको मुद्दामा शिवराज श्रेष्ठ र निहारिकाको बच्चाको डीएनए जाँच गर्ने आदेश दिएको हो।
उच्च अदालत जनकपुरको ४ नम्बर इजलासमा भएको बहसमा नेहारिकाको तर्फबाट उच्च सरकारी वकिल कार्यालय जनकपुरका न्यायाधिवक्ता यदुनाथ शर्मा, मिरा ढुंगाना, निशा रेग्मी, शान्ति काफले र रिंकु कुमारी यादवले बहस गरेका थिए भने प्रतिवादी शिवराज श्रेष्ठको तर्फबाट वरिष्ठ अधिवक्ता श्याम कुमार मिश्रले बहस गरेका थिए।
‘कुमारी आमा’को नामले चर्चामा आएकी निहारिकाले आफ्नो छोरा र आरोपित शिवराज श्रेष्ठको डीएनए जाँचको माग गर्दै बारम्बार अनसन बस्दै आएकी थिईन् ।
प्रहरीले यसअघि नै शिवराजलाई पक्राउ गरि अभद्र व्यवहारको कसुरमा मुद्धा चलाई थुनामा राखेको छ। यसअघि जिल्ला अदालत धनुषाबाट सफाई पाएका शिवराजलाई निहारिकाले अदालतले गम्भीर त्रुटी गरेको र आफूले न्याय नपाएको भन्दै डीएनए परीक्षणको माग गर्दै आएकी थिईन् ।




