भारतको राजधानी दिल्ली नजिकै नोयडामा बनेका विवादास्पद ट्विन टावर्स आज आइतबार भत्काइएको छ । करीब ३७ सय किलोग्राम बारूदले दुबै टावर ध्वस्त बनाएको हो ।
‘एपेक्स’ र ‘केएन’ नामक टावर ३० तले थिए । दुबै टावरको उचाइँ ३२० फिट थियो ।
टावर गिराउँदा वरपरका घर खाली गराइएको थियो भने सडक पनि बन्द गरिएको थियो । अवैध रुपमा बनेको पुष्टि भएपछि अदालतको आदेशमा दुबै टावर ध्वस्त बनाइएको हो ।
ट्विन टावर रहेको क्षेत्रमा अब पर्यावरण संरक्षण गर्ने उदेश्यले सडक, फुटपाथ, पार्क लगायतका संरचना बनाइने बताइएको छ । भग्नावषेश हटाउन २०० कर्मचारी खटिएका छन् ।
नोएडाको सेक्टर 93A को सुपरटेक टावरलाई सर्वोच्न अदालतको आदेशपछि भत्काइएको हो। उचित मापदण्डको उल्लंघन भएको भन्दै अदालतले टावर भत्काउन निर्देशन दिएको थियो ।
सुरुमा नौ तलाको बनाउने भनेर निर्माण सुरु गरेको टावर पछि १४ तले बनाइएको थियो । यसलाई थपेर २१ तले हुँदै ४० तले बनाएपछि इलाहावाद उच्च अदालतमा मुद्दा परेको थियो । इलाहावाद उच्च अदालतले भवन भत्काउन आदेश दिएपनि सर्वोच्च अदालतमा मुद्दा परेपछि रोकिएको थियो ।
भवन ध्वस्त बनाउनु अघि नोएडा-ग्रेटर नोएडा एक्सप्रेस वे बन्द गरिएको बीबीसी हिन्दीले जनाएको छ । नोएडाका डीसीपी सेन्ट्रल राजेशले दिउँसो साढे २ बजे टावर विष्फोट गराएर भत्काएको जानकारी दिएका छन् ।
टावर ध्वस्त बनाएपछि आधा घण्टासम्म वरपर धुलोले ढाकेको थियो । धुलो हटेपछि मात्र सडक खोलिएको थियो । भवन ध्वस्त बनाउने कार्यको लागि ५ सय ६० जना प्रहरी, रिजर्व फोर्सका १ सय जना र ४ वटा क्विक रेस्पोन्स टिम परिचालन गरिएको थियो ।


