
धानखेती सुक्ने अवस्थामा पुगेको बेला भदौरे झरी लागेपछि किसानले राहतको महसुस गर्दै
धनुषा- शनिबार राती देखि परेको वर्षाले धेरै किसानलाई राहत दिएको छ । मानो रोपेर मुरी फलाउने समयमा खडेरी परेपछि धान खेती पर्याप्त मात्रामा गर्न नपाएका किसानलाई शनिवार राती देखि भएको वर्षाबाट राहत भएको हो ।
लामो समयसम्म खडेरी परेका अधिकांश ठाउँमा धानखेती सुक्न थालेको थियो तर यो वर्षाले धान खेतीलाई सिचाइँ सुविधा पुगेको मिथिला नगरपालिका-२ नक्टाझिज का किसान सुखन महतोले बताए । ‘धेरै ठाउँमा रोप्न नपाए पनि थोरै ठाउँमा रोपेको धान पनि सुक्न थालेको थियो तर शनिवार राती देखि जारी वर्षाले धानखेतीमा सिचाइँ पुगेको छ’ महतोले भने, ‘अब त बाँचिन्छ कि भन्ने आशा पनि पलायो यस्तै अनुभूति भएको छ ।’
यसवर्ष भदौको दोस्रो साता लागिसक्दा पनि पर्याप्त वर्षात नहुँदा अधिकांश किसान धान बाली राम्रो नहुने चिन्तामा थिए । धानखेती सुक्ने अवस्थामा पुगेको बेला भदौरे झरी लागेपछि किसानले राहतको महसुस गरेका हुन् ।
मल अभावमा धानखेती गरेका किसान पानी पनि नपरेपछि अधिकांश किसान धान उत्पादन घट्ने चिन्तामा थिए । तर अहिलेको वर्षाले धान उत्पादन बढ्ने आशा पलाएको वटेश्वर गाउँपालिका ५ शान्तिपुरका किसान जोगीन्द्र यादवले बताए ।
यादवले भने, ‘साउन सकिदा पनि पानी परेन्, भदौ पनि लाग्यो अझै पानी परेन्, खेतमा धान सुक्न थालेको थियो, अब त यसवर्ष धान खेतीको उत्पादन पनि खान नपाइने भइयो भन्ने चिन्ता थियो तर शनिवार राती देखि पानी परेपछि धेरै राहतको महशुस गरेका छौँ ।’
सुखन र जोगिन्द्र जस्तै धेरै किसानलाई यस वर्षातले राहत भएको छ । आकाशे पानीको भरमा खेती गर्दै आएका क्षीरेश्वरनाथ नगरपालिका ४ रमदैयाका जगदीश यादवले अहिले पानी परेपछि सुकेको खेतले शितलता पाएको बताए ।
‘पानी लामो समयसम्म नपर्दा खेत चिराचिरा पर्न थालेको थियो’ उनले भने, ‘पानी परेपछि थोरै भएपनि राहत महशुस गरेको छु ।’ यसवर्ष समयमै वर्षात नहुँदा करिब दुई विघा खेतमा धान रोप्न नपाएको उनले बताए ।
रमदैया कै अर्का किसान दिपो यादवले भने, ‘सिचाइँको सुविधा छैन्, खेतमा धान रोप्नलाई आकाशबाट पर्याप्त पानी परेन, डिपबोरिङको पानीले सबै खेतमा नपुगेपछि करिब एक विघा जग्गा खाली नै छ ।’ उहाँले अहिलेको पानीले पहिले रोपेको धानलाई राम्रो बनाएपनि नयाँ रोप्न नमिल्ने बताए ।
सिचाइँ सुविधा नहुँदा वर्षेनी आकाशकै भर पर्नुपर्ने अवस्था रहेको क्षीरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरका सुखारी साहले बताए । ‘आकाशबाट परेको पानीले खेती गरिरहेका हामीलाई शनिवार राती देखि परेको पानीले धेरै राहत दिएको छ’ उनले भने, ‘भदौको दोस्रो हप्ता लाग्दा पनि पानी नपर्दा हामी चिन्तामा थियौँ, तर ढिलै भएपनि पानी परेको छ ।’ अहिले भएको वर्षातले अधिकांश किसानलाई शितलता महशुस दिएको छ ।
गएराति देखि परेको झरीका कारणले सुक्न थालेको धानबालीलाई थोरै भएपनि बचाऊँ गरेको जनकपुरधाम वडा नंं ८ का किसान रामचन्द्र उपाध्यायले बताए ।
करिब डेढ बिघामा धानको रोपाई गरेर दुई पटक दुधमति नदिबाट दमकल लगाएर सिँचाई गरेपनि खेत निक्कै सुख्खा भएका कारणले सुक्ने गरेको बताए । गए राति र आज दिउँसोसम्म भएको झरीका कारणले सुक्न थालेको धानको प्राण रक्षा गर्न मद्दत पुगेको अर्का किसान रघुवीर रायले जानकारी दिए।
लामो समयसम्म मधेश प्रदेशका जिल्लाहरूमा पानी नपरेका कारणले किसानहरू निक्कै चिन्तित बनेका थिए । दुःख गरेर रोपिएको धान खेतमा चिरा परेर धान सुक्न थालेका थिए । गएराति देखिको वर्षाले खेतमा पानी नजमेपनि किसानलाई ठूलो राहत मिलेको छ । यसले सुक्न थालेको धानलाई रक्षा गर्ने भएको छ ।
मधेश प्रदेशका अधिकांश जिल्लाहरूमा लामो समयसम्म वर्षा नभएका कारणले किसानहरू निक्कै चिन्तित बनेका थिए । सिँचाइको वैकल्पिक माध्यमले खेतमा पानी पठाए पनि टिक्न कठिन भएका वेलामा गएराति देखिको झरीले किसानहरू खुशी भएका छन् ।
मधेश प्रदेशका ८ जिल्ला किसानहरूले भदौको पहिलो सातासम्ममा ९५ प्रतिशत क्षेत्रफलमा धान रोपाई गरिसकेको मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकारी मनिस कुमार पालले जानकारी दिए । कुनै पनि वर्ष शत प्रतिशतमा रोपाई नहुने गरेको सूचना अधिकारी पालले जनाए ।
मधेश प्रदेशका जिल्लाहरूमा कूल कृषि योग्य भूमि मध्ये ४ लाख ५ हजार ४ सय ५० हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको मन्त्रालयले उपलब्ध गरेको तथ्याङ्कमा उल्लेख रहेको छ ।
मधेश प्रदेशको प्रमुख खाद्यान्न बालीको रुपमा धान नै रहेको खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना क्लष्टर इकाई धनुषाका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत सुकेश्वर झाले जानकारी दिए।