काठमाडौं- प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा गठबन्धनमा आबद्ध दलका नेतालाई उम्मेदवार बन्नै मुस्किल छ। निर्वाचनको मिति नजिकिएसँगै सबै आकांक्षीहरू खुले पनि गठबन्धन दललाई नेता व्यवस्थापन चुनौतीपूर्ण छ। यसमा पनि गठबन्धनको प्रमुख हिस्सेदार नेपाली कांग्रेसका आकांक्षी मिलाउन सहज छैन। नेपाली कांग्रेसका केही पदाधिकारीलाई टिकट पाउन सहज छैन। कांग्रेसका सबै १३ पदाधिकारीले टिकट पाउने निश्चित छैन।
गठबन्धनका दलले पाउने सिट संख्या मिलाउन बनाइएको कार्यदलले काममा अपेक्षित उपलब्धि हासिल गरेको छैन। कार्यदलका संयोजक कांग्रेसका कृष्णप्रसाद सिटौलाको अस्वस्थताका कारण कार्यदलको काम प्रभावकारी बन्न नसकेको बताइएपनि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल भने गठबन्धनका शीर्ष दलले नै सिट बाँडफाँटको टुंगो लगाउनुपर्ने पक्षमा छन्। यसो गर्दा मुख्यत: कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवासँग 'बार्गेन' गरेर बढी सिट लिन सकिने उनीहरूको विश्वास छ।
कार्यदलले सिट बाँडफाँटको मापदण्ड बनाउने काम गरिरहेको कार्यदल सदस्य तथा राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरीले जानकारी दिएका छन्। १६५ मात्र निर्वाचन क्षेत्र भएपनि कांग्रेस, माओवादी केन्द्र, नेकपा एस र जसपाले २२७ सिट भएजसरी दाबी गर्दा कार्यदललाई सिट बाँडफाँट गर्न असहज भएको उनको भनाइ छ। चार दलको दाबी उदेकलाग्दो भएको बताएका गिरीले उनीहरू लचक नभएसम्म बाँडफाँट नटुंगिने उल्लेख गरे।
दलहरुलाई चुनावी चटारो सुरु भएसँगै मतको लेखाजोखासमेत सुरु भइसक्दा कांग्रेसका पदाधिकारीलाई टिकट हात पार्न सकस छ। कांग्रेस उपसभापति धनराज गुरुङ र महामन्त्री विश्वप्रकाश शर्मा आफ्नो क्षेत्रबाट टिकट पाउनेमा विश्वस्त छैनन्। माओवादी र नेकपा एसले २०७४ मा जितको स्थानमा सम्बन्धित दलकै पहिलो हक लाग्ने व्यवस्था गर्नुपर्ने दाबी गरिरहेकाले उनीहरूलाई टिकट पाउन चुनौती थपिएको हो। ८ मध्ये सबै सहमहामन्त्री पनि टिकट हात पर्नेमा विश्वस्त छैनन्।
देउवालाई अंकगणितको साथ

प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापित शेरबहादुर देउवा २०४८ साल देखि डडेल्धुराबाट निरन्तर निर्वाचित हुँदै आएका छन्। संसदीय निर्वाचनमा ६ पटक प्रतिस्पर्धामा उत्रिएका देउवाको भागमा पराजय परेको छैन। समकालीन राजनीतिमा देउवा र कांग्रेस नेता विजयकुमार गच्छदार मात्रै यस्ता नेता हुन्, जसले ६ पटक विजयको माला पहिरिएका छन्। सातौं पटक चुनावी मैदानमा उत्रने तयारीमा रहेका देउवा सातौं पटकको जित पनि आत्मसात गर्ने लक्ष्यमा देखिन्छन्।
यसपालि डडेल्धुराको राजनीतिक परिदृश्य केही फेरिएको छ। निकट मानिएकाहरुले उनको साथ छाडेका छन्। देउवाको राजनीतिक जीवनमा लामो समय साथ दिएका नेता कर्ण मल्ललगायत नेपाली कांग्रेस बीपीमा प्रवेश गरेका छन्। कर्णले देउवाविरुद्ध एमालेसँग चुनावी तालमेल गरेर उम्मेदवारी दिने घोषणा यसअघि नै गरिसकेका छन्। मल्ल समूहले स्थानीय तहको निर्वाचनमा एमालेसँग चुनावी तालमेल गरिसकेको छ।
स्थानीय तहमा कांग्रेसले प्राप्त गरेको मत र गठबन्धनबाट थपिने मतको विश्लेषण गर्दा देउवालाई आफ्नै पार्टीमा भएको विद्रोहको असर भने न्यून देखिन्छ। स्थानीय तहको चुनावमा वडाध्यक्षहरुले प्राप्त गरेको मत हेर्ने हो भने डडेल्धुरामा कांग्रेसले २१ हजार ७३५ मत प्राप्त गरेको छ। यस्तै माओवादीले १२ हजार ८७८ मत प्राप्त गर्दा एमालेले १० हजार ४४९ र नेकपा एसले ५ हजार ०४१ मत प्राप्त गरेको छ। राप्रपाले ७१४ र जसपा १५६ मत प्राप्त गर्दा एमालेसँग गठबन्धन गरेर चुनाव लडेको बीपी कांग्रेसबाट उम्मेदवार बनेका वडाध्यक्षका उमेदवारले करुवा चुनाव चिह्नमा ३ हजार ५४२ मत पाएका छन्।
डडेल्धुराका स्थानीय तहमा रहेका ५२ वडामध्ये ४ वटा एमाले र २ वटा वडा बीपी कांग्रेसले जितेको छ। जसमा प्रधानमन्त्री देउवाको आफ्नै वडा गन्यापधुरा–१ मा पनि कांग्रेस बीपीले जित निकालेको छ। ५२ वडामध्ये माओवादीले १३ वटा वडामा जित निकालेको छ। माओवादीले २ वटा स्थानीय तहमा प्रमुख जितेको छ। बाँकी सबै स्थानीय तहका प्रमुख/उपप्रमुखसहित वडामा कांग्रेसले जित हात पारेको छ।
२०७४ मा देउवाले वाम गठबन्धनका उम्मेदवार खगराज भट्टलाई ६ हजार ९२९ मतान्तरले पराजित गरेका थिए। देउवाले २८ हजार ४४ मत ल्याउँदा भट्टले २१ हजार ११५ मत प्राप्त गरेका थिए। देउवाले यो पटक गठबन्धनका कारण मतान्तर फराकिलो बनाउने सम्भावना बढेको छ। यसअघि देउवाका निकटतम प्रतिस्पर्धी बनेका माओवादीका भट्टले पनि देउवालाई साथ दिने बताइसकेका छन्।
कांग्रेस, माओवादी, नेकपा एस र जसपाले स्थानीय तहमा पाएको मतलाई आधार मान्दा गठबन्धनको मत ३९ हजार ८१० हुन्छ। एमालेको मत १० हजार ४४९ हो। स्थानीय तहमा अहिले राजनीतिक दलहरूले प्राप्त गरेको मतभार विश्लेषण गर्दा प्रधानमन्त्री देउवालाई जित निकाल्न सहज देखिन्छ।
बदला लिने प्रयासमा खड्का

कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले २०७४ मा सम्पन्न निर्वाचनमा पराजय भोगे। सुर्खेत-१ बाट २०४८, ०५१, २०५६ मा जितेर ह्याट्रिक गरेका खड्काको विजययात्रा २०६४ सालको संविधानसभा निर्वाचनमा ब्रेक लाग्यो। उनी नेकपा एमालेकी कमला शर्मासँग पराजित भए। २०७० सालको संविधानसभा निर्वाचनमा खड्काले कमब्याक गरे।
२०७४ मा खड्का तत्कालीन वाम गठबन्धन (नेकपा एमाले)का उम्मेदवार ध्रुवकुमार शाहीसँग खड्का पराजित भए। ३६ हजार ७५९ मत ल्याएर शाही विजयी हुँदा खड्काले ३३ हजार ३७७ मत प्राप्त गरेका थिए। पाँच वर्ष अघि ३ हजार ३८२ मतले पराजित भएका खड्का यसपटक आफ्नो शाख फर्काउने ध्याउन्नमा छन्।
सुर्खेत-१ मा कांग्रेसबाट खड्का निर्विकल्प उम्मेदवार हुन्। एमालेले उनीविरुद्ध शाहीलाई नै दोहोर्याउँछ वा नयाँ उम्मेदवार खडा गर्छ? निश्चित छैन। स्थानीय तहको निर्वाचनमा सुर्खेत-१ मा पर्ने वडामा दलले प्राप्त गरेको मतलाई हेर्ने हो भने अंकगणित खड्काको पक्षमा देखिन्छ।
सुर्खेत-१ मा सिम्ता गाउँपालिका, गुर्भाकोट नगरपालिका, भेरीगंगा नगरपालिका, चिङगाड गाउँपालिका, लेकबेँशी नगरपालिका, वीरेन्द्रनगर नगरपालिका-१५ र वीरेन्द्रनगर-१६ को भूगोल समेटिएको छ।
स्थानीय तहको वडाको मतलाई आधार मान्ने हो भने सुर्खेत-१ मा कांग्रेस पहिलो शक्ति देखिन्छ। गत निर्वाचनमा कांग्रेसले ३६ हजार ९२८ मत प्राप्त गरेको थियो। वडाध्यक्षले पाएको मत हेर्दा एमाले दोस्रो स्थानमा छ। उसले ३४ हजार ८४३ मत प्राप्त गरेको छ। माओवादीले ५ हजार ७५ मत, राप्रपाले ६६४ मत प्राप्त गर्दा नेकपा एसले ६३४ मत प्राप्त गरेको थियो। यसरी हेर्दा कांग्रेससँगै माओवादी र नेकपा एसको मत जोड्दा खड्काको पक्षमा ४२ हजार ६३७ मत देखिन्छ। जुन एमालेको मत भन्दा ७ हजार ७९४ बढी हो।
प्रत्यक्ष उम्मेदवार बन्ने धनराजको प्रयास

उपसभापति धनराज गुरुङका लागि संसदीय निर्वाचन पहिलो अनुभव हुनेछ। गुरुङ यसअघि संविधानसभामा समानुपातिक तर्फबाट सभासद भनेका थिए। संसदीय निर्वाचन लडेको अनुभव उनीसँग छैन।
स्याङ्जा-१ बाट गुरुङ पहिलो पटक संसदीय निर्वाचनको मैदानमा उत्रने सम्भावना छ। गुरुङसँगै जिल्ला उपसभापित राजु थापा पनि आकांक्षी देखिएका छन्। जिल्लाको राजनीतिमा प्रभावशाली मानिएका थापालाई साथै लिएर हिँड्नुपर्ने चुनौती गुरुङका सामु छ।
थापालाई २०७४ को निर्वाचनमा कांग्रेसले मैदानमा उतारेको थियो। तर उनी तत्कालीन वाम गठबन्धन (एमाले)का उम्मेदवार नारायणप्रसाद मरासिनीसँग पराजित भएका थिए। ३९ हजार २२६ मत ल्याएर मसासिनी विजयी हुँदा थापाले २८ हजार ६६२ मत प्राप्त गरेका थिए।
स्याङ्जा-१ मा फेदीखोला गाउँपालिका, आँधीखोला गाउँपालिका, पुतलीबजार नगरपालिका, अर्जुनचौपारी गाउँपालिका, बिरुवा गाउँपालिका, हरिनास गाउँपालिका र भिरकोट नगरपालिकाका वडानम्बर १,२,३ र ४ र वालिङ नगरपालिकाका वडा नम्बर ३ र ४ समेटिएको छ।
स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले पाएको मतलाई आधार मान्ने हो भने स्याङ्जा-१ मा कांग्रेस पहिलो शक्ति हो। तर एमालेसँगको मतान्तर भने धेरै छैन। कांग्रेसले ३७ हजार ५१० मत ल्याउँदा एमालेले ३६ हजार ८५४ मत प्राप्त गरेको छ। माओवादीले १ हजार ९८४ मत ल्याउँदा राप्रपाले १ हजार २ मत प्राप्त गरेको थियो। स्याङ्जा-१ मा गठबन्धनको पक्षमा ३९ हजार ४९४ मत छ। जुन एमालेको भन्दा २ हजार ६४९ बढी हो। एमाले-राप्रपा तालमेल हुने हो भने मतान्तर १ हजार ६४७ मात्रै हुन्छ।
ह्याट्रिक गर्ने गगनको दाउ

महामन्त्री गगनकुमार थापा काठमाडौं-४ मा तेस्रो पटक निर्वाचन लड्दैछन्। २०६४ सालमा समानुपातिक तर्फबाट संविधानसभा सदस्य बनेका थापा ०७० र ०७४ सालमा काठमाडौं-४ बाट निर्वाचित भएका थिए। ०७४ सालमा देशभर वाम गठबन्धनले चुनाव जित्दा कांग्रेसबाट विजयी २३ जनामध्येका एक गगन पनि हुन्।अघिल्लो निर्वाचनमा थापाले तत्कालीन बाम गठबन्धन (एमाले)का उम्मेदवार राजन भट्टराईलाई पराजित गरेका थिए। २१ हजार ५५८ मत ल्याएर थापा विजयी हुँदा एमालेका भट्टराईले १८ हजार १४० मत प्राप्त गरेका थिए। थापा र भट्टराईले पाएको मतको अन्तर थियो- ३ हजार ४१८।
यसपटक पनि थापा र भट्टराईबीच प्रतिस्पर्धा हुने सम्भावना प्रबल छ। यस्तै केही स्वतन्त्र उम्मेदवारहरुले पनि काठमाडौं-४ मा उम्मेदवारी दिने घोषणा गरिसकेका छन्। स्थानीय तहको निर्वाचनको परिणामलाई हेर्दा गगनका लागि यसपटकको प्रतिस्पर्धा सहज भने देखिँदैन। यो क्षेत्रमा कांग्रेसको भन्दा एमालेको मत बढी छ। काठमाडौं-४ मा सत्ता गठबन्धनमा रहेका अन्य दलको न्यून मत छ। उक्त निर्वाचन क्षेत्रमा पहिलो बनेको एमाले र राप्रपा गठबन्धन हुँदा त्यसको फाइदा एमालेकै उम्मेदवारले उठाउने सम्भावना उत्तिकै छ।
काठमाडौं-४ मा काठमाडौं महानगरपालिका १, ७, ८, ३० र बुढानीलकण्ठ नगरपालिका १,२,८,९,१०,११,१२ र १३ नम्बर वडा पर्छन्। स्थानीय तहको निर्वाचनमा वडाध्यक्षहरुले प्राप्त गरेको मतका आधारमा पहिलो शक्ति एमाले देखिएको छ। एमालेले यो क्षेत्रका वडाहरूमा १६ हजार ५०७ मत प्राप्त गर्दा कांग्रेसले १५ हजार ७६३ मत प्राप्त गरेको छ। कांग्रेस एमालेबीचको मतान्तर ७४४ छ। नेकपा एसले २ हजार ४१४ मत प्राप्त गर्दा राप्रपाले २ हजार २९३, माओवादीले ८४४ र जसपाले ३१७ मत प्राप्त गरेका छन्।
सत्ता गठबन्धनका दलको मत यो क्षेत्रमा १९ हजार ३३८ हो। एमाले र राप्रपाले पाएको मत १८ हजार ८८० छ। दुई गठबन्धनका बीचमा प्रतिस्पर्धामा हुँदा मतान्तर ५३८ मतको हुनेछ। यद्यपि यहाँ स्वतन्त्र उम्मेदवारले ल्याउने मतले समेत नतिजालाई फरक पार्न सक्ने देखिन्छ। गणितीय हिसाबले गगनका लागि यसपटकको चुनाव सहज देखिँदैन। सोही कारण काठमाडौं-४ मा कांग्रेस कार्यकर्ताले गगनलाई भावी प्रधानमन्त्रीका रुपमा प्रचार गरेर मत बटुल्ने प्रयास गरिरहेका छन्।
तेस्रो प्रयासमा सफल होलान् विश्वप्रकाश?

महामन्त्री विश्वप्रकाश शर्माले संसदीय निर्वाचनमा दुई पटक पराजय व्यहोरिसकेका छन्। २०७० सालमा एमालेका रविन कोइराला र २०७४ मा वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका राम कार्कीसँग शर्माले पराजय भोगेका थिए। झापा-१ मा शर्माको तेस्रो पटक उम्मेदवार बन्ने प्रयासमा छन्।
अघिल्लो निर्वाचनमा शर्मा कार्कीसँग २ हजार ८६३ मतले पराजित भएका थिए। कार्कीले ३६ हजार १७३ मत प्राप्त गर्दा शर्माले ३३ हजार ३१० मत प्राप्त गरेका थिए। मेचीनगर नगरपालिका, भद्रपुर नगरपालिकाका ९ र १० नम्बर वडा, बुद्धशान्ति गाउँपालिकाका ४, ५, ६ र ७ नम्बर वडा समेटिएको छ।
स्थानीय तहको निर्वाचनको परिणामलाई केलाउने हो भने शर्माका लागि चुनावी प्रतिस्पर्धा यसपटक पनि सहज हुने देखिँदैन। यो निर्वाचन क्षेत्रमा निर्वाचित भएका वडाध्यक्षहरुले प्राप्त मतलाई हेर्ने हो भने शर्माको संसद् भवन छिर्ने बाटो सहज देखिँदैन।
स्थानीय निर्वाचनमा एमालेले ३१ हजार २३२ मत प्राप्त गर्दा कांग्रेसले २४ हजार ५९ मत प्राप्त गरेको छ। कांग्रेस र एमालेले पाएको मतको अन्तर ७ हजार १७३ छ। तेस्रो शक्तिका रुपमा देखिएको राप्रपाले ५ हजार ९२२ मत प्राप्त गर्दा माओवादीले ३ हजार ९०५, नेकपा एसले १ हजार २५२ र लोसपाले १६२ मत प्राप्त गरेका छन्।
यो निर्वाचन क्षेत्रमा सत्तारुढ गठबन्धनका दलले २९ हजार २१६ मत पाएका छन्। जुन एमालेको सिंगल मत भन्दा २ हजार १६ कम हो। एमाले र राप्रपाबीच तालमेल हुँदा एमालेका पक्षमा ३७ हजार १५४ मत हुन्छ। जुन सत्ता गठबन्धन भन्दा ७ हजार ९३८ मत बढी हो। झापा-१ बाट अघिल्लो निर्वाचनमा विजयी भएका राम कार्की यो निर्वाचनमा कुन क्षेत्रबाट लड्छन् भन्ने टुंगो पनि लागिसकेको छैन। यद्यपि कांग्रेस महामन्त्री शर्माले आफू झापा-१ बाटै चुनाव लड्ने बताइसकेका छन्।
तेस्रो बनेका मन्सुर पहिलो बन्ने दाउमा

बारा क्षेत्र नम्बर ३ मा कांग्रेस सह-महामन्त्री फरमूल्लाह मन्सुर अघिल्लो निर्वाचनमा तेस्रो बनेका थिए। २०७४ सालको निर्वाचनमा तेस्रो बनेका मन्सुर यसपटक पहिलो बन्ने दाउमा छन्। अघिल्लो निर्वाचनमा यो क्षेत्रमा तत्कालिन संघीय समाजवादी फोरम नेपालका रामबाबुकुमार यादव निर्वाचित भएका थिए। एमालेका अदयानन्द पाण्डेय दोस्रो बनेका थिए। निर्वाचित यादवले २१ हजार ३३६ मत प्राप्त गर्दा एमालेका पाण्डेयले १६ हजार ३६२ मत र मन्सुरले १६ हजार ६८ मत प्राप्त गरेका थिए।
बारा-३ मा जितपुर सिमरा उपमहानगरपालिकाका ११, १२, १३, १४, १५, १६, १७ र १८ नम्बर वडा, कलैया उपमहानगरपालिकाका १ देखि २७ सम्मका वडा, फेटा गाउँपालिकाका ५, ६ र ७ नम्बर वडा समेटिएका छन्।
स्थानीय तहको निर्वाचन परिणाम केलाउँदा यो क्षेत्रमा एमाले बलियो देखिन्छ। वडाध्यक्षहरुले प्राप्त गरेको मतका आधारमा एमाले पहिलो, कांग्रेस दोस्रो र जसपा तेस्रो शक्ति बनेका छन्। एमालेले २३ हजार ६५४ मत ल्याउँदा कांग्रेसले १७ हजार ५५४, जसपाले ११ हजार २७९, माओवादीले ८ हजार २४८, नेकपा एसले ३ हजार ३९५, लोसपाले २ हजार २०६ र राप्रपाले ८३८ मत प्राप्त गरेका थिए।
सत्ता गठबन्धनले चुनावी तालेमेल गर्दा गर्ने निर्णयले पनि मन्सुरको भाग्यको फैसला गर्नेछ। कांग्रेसले यो क्षेत्र आफ्नो भागमा राख्दा मन्सुर निर्विकल्प उम्मेदवार हुन्। यो क्षेत्रमा गठबन्धनको पक्षमा ४० हजार ४७६ मत देखिन्छ। कांग्रेसको भागमा बारा-३ पर्दा मन्सुरलाई चुनाव जित्न सहज देखिन्छ।
उमाकान्तले फेरि जित्ने सम्भावना कति?

२०७४ सालमा वाम गठबन्धनविरुद्ध कांग्रेसबाट जित्ने २३ सांसदमध्येका एक हुन् सह-महामन्त्री उमाकान्त चौधरी। अघिल्लो निर्वाचनमा चौधरी २४ हजार ४५० मत ल्याएर विजयी उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अच्युतमप्रसाद मैनालीले २२ हजार ३० मत ल्याएका थिए।
चौधरी यसपटक पनि चुनावी मैदानमा उत्रने तयारीमा छन्। उनको निर्वाचन क्षेत्रमा निजगढ नगरपालिका, कोल्हवी नगरपालिकाका १ देखि ११ नम्बर वडा, बारागढी नगरपालिका, आदर्शकोटवाल नगरपालिका र सिम्रौनगढ नगरपालिका पर्छ।
बारा-१ मा समेटिएका वडामा स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले प्राप्त गरेको मतलाई आधार मान्दा यहाँ कांग्रेस नै बलियो देखिन्छ। कांग्रेसका वडाध्यक्षले ३२ हजार ३५६ मत ल्याउँदा एमालेले २४ हजार ८०८ मत प्राप्त गरेको छ। लोसपाले ९ हजार ५०५ मत ल्याउँदा माओवादीले ६ हजार ३४३ मत ल्याएको छ। जसपाले ६ हजार १४३ले मत पाउँदा राप्रपाले १ हजार ९७३ र नेकपा एसले १ हजार ९४० मत प्राप्त गरेको देखिन्छ। यो निर्वाचन क्षेत्रमा गठबन्धनका दलको मत ४६ हजार ७४२ हो। यसरी हेर्दा बारा-१ बाट चौधरीलाई चुनाव जित्न गणितले साथ दिएको देखिन्छ।
एक्ली महिला पदाधिकारीको कस्तो छ अवस्था?

कांग्रेसकी एक्ली महिला पदाधिकारी महालक्ष्मी उपाध्याय 'डिना'को निर्वाचन क्षेत्र हो, मकवानपुर-२। यो क्षेत्रमा अघिल्लो निर्वाचनमा नेकपा एमालेबाट विरोध खतिवडाले उनै डिनालाई पराजित गरेका थिए। खतिवडा अहिले नेकपा एसमा छन्। ४६ हजार ४८१ मत ल्याएर विजयी हुँदा डिनाले ३४ हजार ९० मत प्राप्त गरेकी थिइन्।
यो निर्वाचन क्षेत्रमा भीमफेदी गाउँपालिका, हेटौंडा उपमहानगरपालिकाका १, ३, ११, १९ नम्बर वडा, इन्द्रसरोवर गाउँपालिका, कैलाश गाउँपालिका, मकवानपुरगढी गाउँपालिका ५, ६, ७, ८ नम्बर वडा, मनहरी गाउँपालिका, रक्सिराब गाउँपालिका र थाहा नगरपालिका समेटिएका छन्। यो क्षेत्रमा समेटिएका स्थानीय तहका वडाका अध्यक्षहरुले प्राप्त गरेको मतलाई आधार मान्दा एमाले बलियो देखिन्छ। एमालेले ३६ हजार ८६६ मत प्राप्त गर्दा कांग्रेसले ३४ हजार २४० मत प्राप्त गरेको छ। माओवादीले २२ हजार ६०७ मत ल्याउँदा नेकपा एसले २ हजार ७१९ र राप्रपाले १ हजार ५३६ मत ल्याएको छ।
यो निर्वाचन क्षेत्रमा गठबन्धनको मत ५९ हजार ५६६ मत छ। तर डिनाका लागि यो क्षेत्रमा अघिल्लो पटक निर्वाचित भएका खतिवडा बाधक बन्न सक्नेछन्। मकवानपुर-२ नेकपा एसले दाबी गर्ने सम्भावना छ। अर्कोतर्फ कांग्रेस बागमती प्रदेशका सभापति इन्द्र बानियाँ पनि यही क्षेत्रबाट चुनाव लड्ने तयारीमा छन्। नेकपा एसका खतिवडा र कांग्रेसकै बानियाँलाई मकवानपुर-१ बाटै चुनाव लड्न सहमत गराउनुपर्ने चुनौती उनका अघि देखिन्छ।
मल्हम लगाउने तयारीमा आङदम्बे

अघिल्लो निर्वाचनमा पराजित भीष्मराज आङदेम्बे यसपटक हारको घाउमा मल्हम लगाउने तयारीमा छन्। एक मात्रै निर्वाचन क्षेत्र रहेको पाँचथरमा ०७४ सालको निर्वाचनमा वाम गठबन्धन (एमाले)का तर्फबाट उम्मेदवार बनेका बसन्तकुमार नेम्वाङ निर्वाचित भएका थिए। नेम्वाङ ३८ हजार ६४१ मत ल्याएर विजयी हुँदा आङदेम्बेले २८ हजार २५ मत ल्याएका थिए।
१० हजार ६१६ मतान्तरले पराजित आङदेम्बे यसपटक कथा बदल्ने दाउमा छन्। स्थानीय तहको निर्वाचनलाई आधार मान्ने हो भने पाँचथरमा एमाले बलियो देखिन्छ। एमालेका वडाध्यक्षका उम्मेदवारले यो क्षेत्रमा ३० हजार ९५८ मत प्राप्त गरेका छन्। कांग्रेसले २५ हजार ६५ मत प्राप्त गर्दा माओवादीले ११ हजार ८०८, जसपाले २ हजार ६४३, नेकपा एसले २ हजार १६१ र राप्रपाले १ हजार ९०९ मत प्राप्त गरेका छन्। पाँचथरमा सत्तारुढ गठबन्धनका पक्षमा ४१ हजार ६७७ मत देखिन्छ। गठबन्धनको मत मजाले ट्रान्सफर भए आङदेम्बेलाई अघिल्लो निर्वाचनको पराजयको बदला लिन सहज देखिन्छ।
यादवको क्षेत्रमा कांग्रेस बलियो

सहमहामन्त्री महेन्द्र यादवको क्षेत्र धनुषा-४ मा नेपाली कांग्रेस बलियो देखिएको छ। स्थानीय तहको निर्वाचनमा वडाध्यक्षहरुले प्राप्त गरेको मत हेर्दा धनुषा-४ मा कांग्रेस बलियो देखिएको हो। धनुषा-४ मा जनकपुर उपमहानगरपालिकाका ९, १३, १४, १९, २१, २२, लक्ष्मीनिया गाउँपालिका, मिथिलाविहारी नगरपालिकाका २, ६, ७, ८, ९, १०, क्षीरेश्वरनाथ नगरपालिका १, २, ३, ४, ५, ६, ७, १०, मिथिला नगरपालिकाका १ देखि ११ नम्बर वडा र बटेश्वर गाउँपालिका समेटिएको छ।
स्थानीय तहको निर्वाचनको परिणाम अनुसार यस क्षेत्रमा कांग्रेसले प्राप्त गरेको मत २५ हजार १९५ हो। एमालेको मत २३ हजार ६३०, जसपाको ८ हजार ३७८, नेकपा एसको ८ हजार १६४, माओवादीको ४ हजार ४३४, लोसपाको २ हजार १८४, जनमत पार्टीको १ हजार ९५० र राप्रपाको मत ५१४ हो। धनुषा-४ मा गठबन्धनको पक्षमा ४६ हजार १७१ मत देखिन्छ। जुन यादवका लागि गणितका हिसाबले अनुकुल हो।
२०७४ सालको निर्वाचनमा भने यादव वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका एमालेका रघुवीर महासेठसँग पराजित भएका थिए। २२ हजार ५३२ मत ल्याएर महासेठ विजयी हुँदा यादवले १९ हजार ९९१ मत प्राप्त गरेका थिए।
पहिलो प्रयासमा राठौर

सहमहामन्त्री केशवसिंह राठौर पहिलो पटक संसदीय निर्वाचनमा प्रतिस्पर्धा गर्ने तयारीमा छन्। उनको निर्वाचन क्षेत्र हो बर्दिया-२। तर यो क्षेत्रमा कांग्रेस केन्द्रीय सदस्य गोपाल दहित पनि आकांक्षी छन्। दहित अघिल्लो निर्वाचनमा माओवादीका सन्तलाल थारुसँग पराजित भएका थिए। वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका थारु ५० हजार ५५५ मत ल्याएर विजयी हुँदा दहितले ३६ हजार ७३५ मत प्राप्त गरेका थिए।
राठौर र दहित दुवै सभापति देउवा निकट हुन्। राठौर चुनावी मैदानमा उत्रनुअघि दहितको उचित व्यवस्थापन गर्नुपर्नेछ। अघिल्लो पटक माओवादीले जितेको क्षेत्र भएको हुँदा यो क्षेत्र पुन: माओवादीले पाउने सम्भावना पनि उत्तिकै छ। त्यसो त राठौर बाँके-३ जाने चर्चासमेत छ। बाँके संस्थापन इतर समूहको पकड भएको जिल्ला हो। त्यसकारण राठौरलाई आउन नदिने प्रयासमा संस्थापन इतर समूह रहेको चर्चा कांग्रेस वृतमा छ।
बर्दिया-२ मा मधुवन नगरपालिका, राजापुर नगरपालिका, बर्दिया नगरपालिकाका १ देखि ३ नम्बर वडा, गेरुवा गाउँपालिका र ठाकुरबाबा नगरपालिका समेटिएका छन्। स्थानीय तहको निर्वाचनमा यो क्षेत्रमा समेटिएका वडामा वडाध्यक्षका उम्मेदवारले पाएको मतका आधारमा कांग्रेस बलियो देखिन्छ। कांग्रेसले ३८ हजार ३५२ मत प्राप्त गरेको छ। माओवादीले ३० हजार ७९८, एमालेको २३ हजार ३२०, राप्रपाको १ हजार ५०२, नेकपा एसले ७२८ र जसपाको २३४ मत प्राप्त गरेको देखिन्छ। यो क्षेत्रमा गठबन्धनको मत ७० हजार ११२ मत देखिन्छ।
बाजुरामा बद्रीको कस्तो छ अवस्था?

अघिल्लो पटक राष्ट्रियसभा सदस्य बनेका सहमहामन्त्री बद्री पाण्डे यसपटक बाजुराबाट प्रतिनिधिसभा निर्वाचन लड्ने तयारीमा छन्। एक मात्रै निर्वाचन क्षेत्र रहेको बाजुरामा पूर्व जिल्ला सभापति कविराज पण्डित पनि आकांक्षी छन्। पण्डित देउवा निकट मानिन्छन्। २०७४ सालको निर्वाचनमा एमालेका लालबहादुर थापासँग पण्डित पराजित भएका थिए। २८ हजार ६५ मत ल्याएर थापा विजयी हुँदा पण्डितले २३ हजार १८१ मत प्राप्त गरेका थिए।
स्थानीय तहको निर्वाचनमा वडाध्यक्षहरुले प्राप्त गरेको मतलाई आधार मान्दा बाजुरामा एमाले बलियो देखिन्छ। एमालेले २७ हजार ८४४ मत प्राप्त गर्दा कांग्रेसले २४ हजार ३०४ मत प्राप्त गरेको छ। माओवादीले ४ हजार २२९ मत ल्याउँदा नेकपा एसले १ हजार ६८९ मत र राप्रपाले १७२ मत प्राप्त गरेका छन्। बाजुरामा गठबन्धनको मत ३० हजार २२२ छ। जुन एमालेले प्राप्त गरेको मत भन्दा २ हजार २७८ बढी हो।
प्रदेशसभामा पराजित परियारको सम्भावना कति?

२०७४ सालको निर्वाचनमा प्रदेशसभामा पराजित भएका सहमहामन्त्री जीवन परियार यसपटक प्रतिनिधिसभामा लड्ने तयारीमा छन्। उनको निर्वाचन क्षेत्र कास्की-१ हो। अघिल्लो निर्वाचनमा उनी कास्की-१ (क)बाट प्रदेशसभा सदस्यमा पराजित भएका थिए। वाम गठबन्धनबाट माओवादीका उम्मेदवार दीपक कोइरालासँग परियार पराजित भए। कोइरालाले १८ हजार ७२७ मत ल्याउँदा परियारले १५ हजार ८१ मत ल्याएका थिए।
प्रतिनिधिसभामा भने यो क्षेत्रमा वाम गठबन्धनका तर्फबाट एमालेका खगराज अधिकारी विजयी भएका थिए। अधिकारी ३९ हजार २४२ मत ल्याएर विजयी भएका थिए। कांग्रेस उम्मेदवार यज्ञबहादुर थापाले २५ हजार ८२६ मत प्राप्त गरेका थिए। पूर्वमन्त्रीसमेत रहेका थापा पुन: यही क्षेत्रबाट चुनाव लड्ने तयारीमा छन्।सहमहामन्त्री परियार र नेता थापा संस्थापन इतर समूहमै क्रियाशील छन्। त्यसकारण परियारलाई उम्मेदवार बन्न थापालाई सहमत गराउनुपर्ने चुनौती छ। यस्तै कास्कीका पूर्व सभापति कृष्ण केसी पनि यही क्षेत्रबाट आकांक्षी छन्।
कास्की-१ मा मादी गाउँपालिका, रुपा गाउँपालिका, पोखरा महानगरपालिकाका १०, १२, १३, १४, २६, २७, २८, २९, ३०, ३१ र ३२ नम्बर वडा समावेश छन्। स्थानीय तहको निर्वाचनमा वडाध्यक्षहरुले प्राप्त गरेको मतलाई आधार मान्दा कास्की-१ मा कांग्रेस बलियो देखिन्छ। कांग्रेसले ३३ हजार ८३७ मत प्राप्त गर्दा एमालेले ३० हजार १९६, माओवादीले ३ हजार २७८ र राप्रपाले १ हजार ८१८ मत प्राप्त गरेका छन्। यो क्षेत्रमा गठबन्धनको मत ३७ हजार ११५ हो।-नेपाल समयबाट




