जनकपुरधाम- जनता समाजवादी पार्टी नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले लोकतन्त्र र संघीयताको रक्षाको लागि गठबन्धन अपरिहार्य रहेको बताएका छन् ।
आज जनकपुरधाममा आयोजित पिछडा वर्ग महासंघको तेस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष यादवले मधेशको शक्तिलाई कमजोर आंकलन नगर्न काँग्रेस कम्युनिष्टलाई चेतावनी दिदै अध्यक्ष यादवले मधेशको शक्तिले सम्मान जनक स्थान पाए मात्र गठबन्धन बलियो हुने धारणा व्यक्त गरे ।

उनले संघीयता र गणतन्त्र संकटमा परेको बेला जसपाकै नेतृत्वमा गठबन्धन निर्माण गर्ने कार्य भएको स्मरण गराउँदै आफुहरु गठबन्धनको पक्षमै रहेको भएपनि संघीयता र गणतन्त्रको लागि ऐतिहासिक भूमिका निर्वाह गरेको जसपाको सिट बाँडफाँडमा सम्मानजनक तालमेल हुनु पर्ने उल्लेख गरे।
उनले अहिले गठबन्धन अपरिहार्य रहे पनि मधेशी, दलित, आदिवासी जनजातिको प्रतिनिधित्वमा ह्रास आउने गरि गठबन्धनको नाउमा आँखा चिम्लेर कुनै आत्मघाती कदम चाल्न तयार नरहेको स्पष्ट पारे ।
उनले समाजिक विकृतिको रुपमा रहेका पिछडावर्गहरु माथिको अन्याय अन्तको लागि संवैधानिक रुपमै पहल गर्नुपर्ने उल्लेख गर्दै दलित र पिछडा वर्गको उन्नति विना देश समृद्धिको कल्पना कोरा सपना मात्र हुने दावी गरे ।

कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले समाजको ठूलो हिस्सा रहेको पिछडा वर्गको उत्थानका लागि प्रदेश सरकार तत्पर रहेको उल्लेख गर्दै उनिहरुको समाजिक उत्थानको लागि प्रदेश सरकारले बजेट विनियोजन समेत गरेको बताए ।
मुख्यमन्त्री राउतले पिछडा वर्गको सूचिकरण लगायतका कामको लागि छुट्टै समिति बनाउनु आवश्यक रहेको उल्लेख गर्दै ऐन बनाउन नसकिए पनि अध्यादेश बाटै समिति बनाउने प्रक्रियामा रहेको बताए ।
पिछडा वर्ग महासंघका अध्यक्ष भरत महतोको अध्यक्षतामा भएको उक्त उद्घाटन सत्रमा प्रदेश सभा सदस्य राम अशिष यादव, जसपा नेता बलराम महतो लगायतले सम्बोधन गरेका थिए ।




