काठमाडौं – निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि मतदाताको अन्तिम नामावली प्रकाशन गरेको छ । आयोगका अनुसार निर्वाचनमा कुल एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता छन् ।
साउन १९ गतेभित्र मतदाता नामावलीमा दर्ता गराएकाको विवरण आयोगले प्रकाशित गरेको हो । कुल मतदातामध्ये ८८ लाख ४७ हजार ५७९ महिला र ९१ लाख ४० हजार ८०६ पुरुष छन् । यस्तै अन्य मतदाताको संख्या १८५ मात्रै छ ।



सवैभन्दा बढी मतदाता प्रदेश १ को मोरङ र कम मतदाता गण्डकी प्रदेशको मनाङमा छन् । निर्वाचन आयोगका अनुसार मोरङमा ७ लाख ३५ हजार ५२५ र मनाङमा सवैभन्दा कम ६ हजार ७७९ मतदाता छन् ।
मोरङपछि झापामा ६ लाख ६३ हजार ३११ र काठमाडौंमा ६ लाख ५२ हजार १२६ मतदाता छन् । कम मतदाता हुनेमा मनाङपछि मुस्ताङमा १० हजार ९५७ र डोल्पा २२ हजार ७७४ जना छन् ।
आयोगले निर्वाचनका लागि देशभर १० हजार ८९१ मतदानस्थल र २२ हजार २२६ मतदान केन्द्र तोकेको छ । आयोगले शुक्रबार जारी गरेको विवरणअनुसार गत स्थानीय निर्वाचनको तुलनामा २ लाख ५४ हजार ८४७ मतदाता बढेका छन् ।




